दोलखामा स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय समीक्षा सम्पन्न
महेन्द्र श्रेष्ठ
दोलखा, १९ असोज ।
दोलखामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरिएका स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय वार्षिक समीक्षा सम्पन्न भएको छ। दुई दिनसम्म चलेको समीक्षामा जिल्लाका नौवटै स्थानीय तहबाट स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
जिल्ला जनस्वास्थ्य कार्यालय दोलखाको आयोजनामा भएको समीक्षामा स्थानीय तहमा वर्षभरि सञ्चालन भएका स्वास्थ्य कार्यक्रमको प्रगति, उपलब्धि तथा सेवा प्रवाहको अवस्थाबारे सम्बन्धित स्वास्थ्य शाखाहरूले जानकारी प्रस्तुत गरेका थिए।
कार्यक्रममा स्वास्थ्य क्षेत्रमा हासिल भएका उपलब्धिसँगै कार्यक्रम सञ्चालनका क्रममा देखिएका समस्या, चुनौती र आगामी दिनमा गर्नुपर्ने सुधारका विषयमा सहभागीबीच छलफल गरिएको थियो। नागरिकलाई प्रदान गरिँदै आएको स्वास्थ्य सेवाको गुणस्तर र पहुँचलाई थप प्रभावकारी बनाउने उपायबारे समेत विचार आदानप्रदान भएको थियो।
जिल्ला जनस्वास्थ्य कार्यालय दोलखाका प्रमुख दिलेन्द्र बुढामगरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
समीक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रेखा कँडेल, प्रहरी नायव उपरीक्षक मनोज लामा, नौवटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधि, जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारी, पशुपति चौलागाईं अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. अच्युत पौडेललगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्थानीय तहअनुसार स्वास्थ्य सेवाको अवस्था, कार्यक्रम कार्यान्वयनको प्रगति र आगामी कार्यदिशाबारे प्रस्तुतीकरण गरिएको थियो। सहभागीहरूले स्वास्थ्य क्षेत्रका अनुभव तथा अभ्यास आदानप्रदान गर्दै आगामी दिनमा समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।
यसैबीच, दोलखा–धुलिखेल अस्पतालका वरिष्ठ चिकित्सक डा. विराट आचार्यले अस्पतालमा पछिल्लो समय सञ्चालन भइरहेका स्वास्थ्य सेवा तथा विभिन्न गतिविधिबारे जानकारी गराउनुभएको थियो। उहाँले अस्पतालबाट प्रदान हुँदै आएका उपचार सेवा, सेवा विस्तार तथा अन्य स्वास्थ्यसम्बन्धी गतिविधिका बारेमा सहभागीहरूलाई जानकारी दिनुभएको थियो।
समीक्षाबाट प्राप्त सुझाव र निष्कर्षलाई आगामी दिनमा जिल्लाको स्वास्थ्य कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बनाउन उपयोग गरिने अपेक्षा गरिएको छ।

