द्वन्द्व प्रभावित कोटाबाट राकेश श्रेष्ठको उम्मेदवारी, गगन थापा नेतृत्वसँगै नयाँ यात्राको खोजी।
महेन्द्र श्रेष्ठ / दोलखा
दोलखा, २२ असोज । नेपाली कांग्रेसका युवा नेता राकेश श्रेष्ठले द्वन्द्व प्रभावित तथा जनआन्दोलन घाइते कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। गगन थापा नेतृत्वमा कांग्रेसको नयाँ राजनीतिक यात्रासँगै श्रेष्ठले पनि केन्द्रीय तहमा आफ्नो भूमिका खोजेका हुन्।
दोलखाको भीमेश्वर नगरपालिका–२ का स्थायी बासिन्दा श्रेष्ठ लामो समयदेखि नेपाली कांग्रेसको संगठन निर्माण, सामाजिक सेवा र जनसम्पर्कमा सक्रिय रहँदै आएका छन्। विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका श्रेष्ठले तत्कालीन द्वन्द्वको कठिन समयमा समेत गाउँ–बस्तीमा पुगेर पार्टीको संगठन र विचार विस्तारमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसका स्थानीय नेता–कार्यकर्ताहरू बताउँछन्।
राजधानी केन्द्रित राजनीतिक अभ्यासभन्दा जिल्लामै रहेर संगठन निर्माण र जनतासँगको प्रत्यक्ष सम्बन्धलाई प्राथमिकता दिँदै आएको उनको राजनीतिक यात्राको अर्को विशेषता हो। निर्वाचनमा अनुकूल–प्रतिकूल परिणाम आए पनि श्रेष्ठले सामाजिक तथा राजनीतिक सक्रियतालाई निरन्तरता दिँदै आएको उपलब्ध विवरणमा उल्लेख छ।
दोलखा कांग्रेसमा संगठन विस्तार तथा कार्यकर्तासँगको समन्वयमा सक्रिय श्रेष्ठले जिल्लाका विभिन्न तहका नेता–कार्यकर्ता तथा नागरिकसँग निरन्तर सम्पर्कमा रहेर काम गर्दै आएका छन्। पछिल्लो समय उनी नेपाली कांग्रेस दोलखाका प्रवक्ताका रूपमा समेत सक्रिय छन्।
श्रेष्ठले आगामी महाधिवेशनमा द्वन्द्व प्रभावित तथा जनआन्दोलन घाइते कोटा रोज्नुको पछाडि आफ्नो राजनीतिक यात्राको संघर्षपूर्ण पृष्ठभूमि रहेको बताएका छन्। पार्टीलाई थप एकताबद्ध, सुदृढ र जनमैत्री बनाउने उद्देश्यसहित आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको उनको भनाइ छ।
कांग्रेसको पछिल्लो राजनीतिक परिवर्तनसँगै सभापति गगन थापाको नेतृत्वमा पार्टीलाई नयाँ पुस्ता, नयाँ सोच र संगठनात्मक सुधारतर्फ अघि बढाउने बहस चलिरहेको छ। यही परिवेशमा श्रेष्ठको उम्मेदवारीलाई दोलखाबाट केन्द्रीय तहमा युवा प्रतिनिधित्व स्थापित गर्ने प्रयासका रूपमा हेरिएको छ।
पदलाई मात्र राजनीतिक उपलब्धिको आधार नबनाई संगठन, कार्यकर्ता र आम नागरिकसँगको सम्बन्धलाई आफ्नो राजनीतिक यात्राको आधार बनाउँदै आएका श्रेष्ठले अब केन्द्रीय जिम्मेवारीमार्फत जिल्लाको आवाजलाई राष्ट्रिय तहसम्म पुर्याउने लक्ष्य राखेका छन्।
द्वन्द्वको कठिन परिस्थितिदेखि संगठन निर्माण, सामाजिक सक्रियता र जनसम्पर्क हुँदै केन्द्रीय सदस्यको उम्मेदवारीसम्म आइपुगेको श्रेष्ठको यात्रा उनका लागि केवल एउटा राजनीतिक प्रतिस्पर्धा नभई लामो समयदेखि निरन्तरता दिँदै आएको संगठनात्मक यात्राको अर्को चरण बनेको छ।
