चरिकोटस्थित एमाले पार्टी कार्यालयमा चियापान, दलहरूबीच सद्भाव र एकताको सन्देश।
महेन्द्र श्रेष्ठ / दोलखा। नेपालीहरूको महान् चाड विजयादशमी, शुभ दीपावली तथा छठ पर्व २०८३ को अवसरमा नेकपा एमाले जिल्ला कमिटी दोलखाले चरिकोटस्थित पार्टी कार्यालयमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि, सामाजिक व्यक्तित्व तथा पार्टीका नेता–कार्यकर्ताहरूको सहभागितामा सम्पन्न कार्यक्रममा चाडपर्वको खुसी साटासाट गर्नुका साथै आपसी सद्भाव, एकता र सहकार्यको भावना अभिव्यक्त गरिएको थियो।
कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा दोलखा जिल्ला इन्चार्ज पार्वत गुरुङ, बागमती प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री भरतबहादुर केसी, एमाले केन्द्रीय सदस्य डबल पाण्डे, जिल्ला उपाध्यक्ष राजेन्द्र मानन्धर, भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेत, मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकरलगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी, दोलखाका संघीय सांसद जगदीश खरेललगायत विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरू पनि कार्यक्रममा सहभागी भएका थिए।
नेकपा एमाले दोलखाका जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठले उपस्थित अतिथिहरूलाई स्वागत गर्दै विजयादशमी, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त गर्नुभएको थियो।

चियापान तथा शुभकामना आदानप्रदानका क्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूबीच आपसी भेटघाट र संवाद भएको थियो। फरक राजनीतिक विचार र दृष्टिकोण भए पनि चाडपर्वले सबैलाई एकै ठाउँमा जोड्ने तथा आपसी सम्बन्धलाई सुमधुर बनाउने सन्देश कार्यक्रमले दिएको छ।
जिल्लाको विकास, समृद्धि र नागरिकका साझा आवश्यकता पूरा गर्न राजनीतिक दलहरूबीच संवाद, सहकार्य र पारस्परिक सम्मान आवश्यक रहेको सन्दर्भमा कार्यक्रमलाई सद्भाव अभिवृद्धि गर्ने अवसरका रूपमा लिइएको छ।
चाडपर्वको अवसरमा एमाले जिल्ला कमिटीले आयोजना गरेको यस कार्यक्रमले राजनीतिक दलहरूबीच आपसी सम्बन्ध विस्तार गर्न, सामाजिक एकता बलियो बनाउन र लोकतान्त्रिक संस्कारलाई थप सुदृढ बनाउन सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा एमालेका विभिन्न तहका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो।
