अस्पतालमा शल्यक्रिया (ओटी) सेवा समेत सञ्चालनधुलिखेल अस्पताल–दोलखा अस्पताल : आधुनिक स्वास्थ्य सेवासहित जिल्लावासीको भरोसाको केन्द्र।
महेन्द्र श्रेष्ठ
दोलखा।
दोलखा जिल्लाका नागरिकलाई सहज, सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ सञ्चालित धुलिखेल अस्पताल–दोलखा अस्पतालले पछिल्ला वर्षहरूमा स्वास्थ्य सेवाको दायरा उल्लेखनीय रूपमा विस्तार गर्दै जिल्लाभित्रै आधुनिक उपचार सेवा प्रदान गरिरहेको छ। विशेषज्ञ चिकित्सक, दक्ष स्वास्थ्यकर्मी तथा आधुनिक स्वास्थ्य उपकरणसहित अस्पतालले आधारभूतदेखि जटिल प्रकृतिका स्वास्थ्य सेवा सञ्चालन गर्दै जिल्लावासीको विश्वास जित्न सफल भएको छ।
पहाडी तथा दुर्गम भौगोलिक अवस्थाका कारण उपचारका लागि काठमाडौं वा अन्य सहर पुग्नुपर्ने बाध्यता खेप्दै आएका स्थानीयका लागि धुलिखेल अस्पताल–दोलखा अस्पताल अहिले भरपर्दो स्वास्थ्य केन्द्रका रूपमा स्थापित हुँदै गएको छ। अस्पतालले २४ सै घण्टा आकस्मिक तथा अत्यावश्यक सेवा उपलब्ध गराउँदै बिरामीलाई समयमै उपचार दिने व्यवस्था मिलाएको छ।
अस्पतालका अनुसार बहिरङ्ग (ओपीडी) सेवा दैनिक बिहान ९:३० बजेदेखि अपराह्न ४:०० बजेसम्म सञ्चालन हुने गरेको छ। ओपीडीमार्फत विभिन्न रोगका विशेषज्ञ चिकित्सकबाट नियमित स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवा प्रदान गरिन्छ। अस्पतालले दैनिक ठूलो संख्यामा बिरामीलाई सेवा दिँदै आएको जनाएको छ।
त्यसैगरी २४ सै घण्टा प्रसूति सेवा सञ्चालनमा रहेको अस्पतालमा सुरक्षित सुत्केरी सेवा, गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षण (एन्टिनेटल चेकअप), नवजात शिशुको प्रारम्भिक उपचार तथा आवश्यक परामर्श प्रदान गरिन्छ। ग्रामीण क्षेत्रका गर्भवती महिलाका लागि यो सेवा निकै प्रभावकारी बनेको अस्पतालले जनाएको छ।
आकस्मिक अवस्थाका बिरामीका लागि २४ सै घण्टा इमर्जेन्सी सेवा सञ्चालनमा छ। दुर्घटना, हृदयघात, उच्च रक्तचाप, सर्पदंश, श्वासप्रश्वासमा समस्या तथा अन्य जटिल स्वास्थ्य अवस्थाका बिरामीलाई तत्काल उपचार उपलब्ध गराइन्छ। गम्भीर बिरामीको उपचारका लागि आवश्यक उपकरण र दक्ष स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने व्यवस्था गरिएको छ।
अस्पतालमा शल्यक्रिया (ओटी) सेवा समेत सञ्चालनमा रहेको छ। सामान्यदेखि आवश्यक जटिल शल्यक्रिया सेवा जिल्लाभित्रै उपलब्ध हुन थालेपछि उपचारका लागि बाहिर जानुपर्ने अवस्था केही हदसम्म कम भएकोमा रहेको छ। सामान्यदेखि आवश्यक जटिल शल्यक्रिया सेवा जिल्लाभित्रै उपलब्ध हुन थालेपछि उपचारका लागि बाहिर जानुपर्ने अवस्था केही हदसम्म कम भएको छ। यसले बिरामीको समय, खर्च तथा मानसिक तनावसमेत घटाएको स्थानीयको अनुभव छ।
यसैगरी अन्तरङ्ग (भर्ना) सेवा मार्फत बिरामीलाई चिकित्सकको निगरानीमा राखेर उपचार गरिन्छ। आवश्यकताअनुसार निरन्तर स्वास्थ्य परीक्षण, औषधोपचार तथा नर्सिङ सेवा उपलब्ध गराइने अस्पतालले जनाएको छ।
रोगको सही पहिचानका लागि आवश्यक एक्स–रे, अल्ट्रासाउन्ड (भिडियो एक्स–रे) तथा प्रयोगशाला सेवा पनि २४ सै घण्टा सञ्चालनमा छन्। आधुनिक उपकरणमार्फत परीक्षण सेवा उपलब्ध हुँदा बिरामीले समयमै रोगको पहिचान गरी उपचार सुरु गर्न सहज भएको छ।
अस्पतालमा फार्मेसी सेवा पनि चौबीसै घण्टा सञ्चालनमा रहेको छ। चिकित्सकले सिफारिस गरेका आवश्यक औषधि अस्पताल परिसरमै उपलब्ध हुने भएकाले बिरामीलाई थप सुविधा पुगेको छ।
त्यसैगरी दन्त सेवा, फिजियोथेरापी सेवा, परिवार नियोजन सेवा, एन्डोस्कोपी सेवा तथा एम्बुलेन्स सेवा पनि नियमित रूपमा सञ्चालनमा छन्। दीर्घरोगी, हड्डी तथा नसासम्बन्धी समस्या भएका बिरामीका लागि फिजियोथेरापी सेवा प्रभावकारी बन्दै गएको अस्पतालले जनाएको छ।
गम्भीर अवस्थाका बिरामीको उपचारका लागि आईसीयू (Intensive Care Unit) सेवा तथा नवजात शिशुको सघन उपचारका लागि एनआईसीयू (Neonatal Intensive Care Unit) सेवा सञ्चालनमा रहेको छ। यी सेवाले जटिल अवस्थाका बिरामीलाई जिल्लाभित्रै विशेषज्ञ उपचारको पहुँच उपलब्ध गराएको छ।
अस्पतालले उपचार सेवासँगै स्वास्थ्य सचेतना, सुरक्षित मातृत्व, परिवार नियोजन, पोषण, सरसफाइ तथा रोगको समयमै पहिचानसम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई पनि प्राथमिकता दिँदै आएको जनाएको छ। यसबाट समुदायमा स्वास्थ्यप्रति सकारात्मक सोच विकास गर्न सहयोग पुगेको विश्वास गरिएको छ।
दोलखा मात्र नभई आसपासका जिल्लाका नागरिकले समेत यस अस्पतालबाट सेवा लिइरहेका छन्। अस्पतालले आगामी दिनमा थप विशेषज्ञ सेवा विस्तार, आधुनिक स्वास्थ्य उपकरणको व्यवस्थापन तथा दक्ष जनशक्ति वृद्धि गर्दै स्वास्थ्य सेवाको गुणस्तर अझ प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।
गुणस्तरीय, भरपर्दो र मानवकेन्द्रित स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धतासहित धुलिखेल अस्पताल–दोलखा अस्पताल जिल्लावासीको स्वास्थ्य सुरक्षाको महत्वपूर्ण आधार बनेको छ। समयमै उपचार, आधुनिक प्रविधि र सेवामुखी कार्यशैलीका कारण अस्पतालप्रति सेवाग्राहीको विश्वास दिनप्रतिदिन बढ्दै गएको छ।
