दोलखाको नेवारी भाषामा विद्यावारिधि गर्नुभएकी प्रा. डा. क्यारोल जिनेटी सम्मानित।
महेन्द्र श्रेष्ठ
शंख ध्वनि अनलाइन
दोलखा । दोलखाको मौलिक नेवारी भाषामा विद्यावारिधि (पीएचडी) गर्नुभएकी प्रा. डा. क्यारोल जिनेटीलाई सम्मान गरिएको छ।
दोलखा भाषाको अध्ययन तथा अनुसन्धानमा महत्वपूर्ण योगदान पुर्याउनुभएकी जिनेटीलाई भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धर र भीमेश्वर नगरपालिका–२ का वडाध्यक्ष स्टालिन श्रेष्ठले खादा ओढाएर सम्मान गर्नुभएको हो।

दोलखाको नेवारी भाषामा विद्यावारिधि गर्नुभएकी जिनेटीले यस भाषाको अध्ययन, अध्यापन र अनुसन्धानलाई विभिन्न विश्वविद्यालयसम्म पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। उहाँको शैक्षिक योगदानले दोलखाको मौलिक भाषा, साहित्य र संस्कृतिलाई अन्तर्राष्ट्रिय शैक्षिक तथा अनुसन्धानको क्षेत्रमा चिनाउन सहयोग पुगेको मानिन्छ।

स्थानीय भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा उहाँले पुर्याउनुभएको योगदानको कदर गर्दै सम्मान गरिएको हो। दोलखाको मौलिक भाषामा विद्यावारिधि गरी त्यसको अध्ययन र अनुसन्धानलाई विस्तार गर्न योगदान पुर्याउने व्यक्तित्वको सम्मानले स्थानीय भाषा संरक्षणमा थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।
