कोजाग्रत पूर्णिमासँगै बडादसैँ समापन हुँदै, आज महालक्ष्मीको विशेष पूजा
महेन्द्र श्रेष्ठ
शंख ध्वनि अनलाइन
दाेलखा/ नेपालीहरूको प्रमुख पर्व बडादसैँ आज कोजाग्रत पूर्णिमासँगै समापन हुँदैछ। आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दुर्गा पक्षको अन्तिम दिन आज साँझ धन, ऐश्वर्य र समृद्धिकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने धार्मिक परम्परा छ।
कोजाग्रत पूर्णिमाका अवसरमा घरघरमा महालक्ष्मीको पूजा गरी सुख, शान्ति र समृद्धिको कामना गरिन्छ। धार्मिक मान्यताअनुसार यस रात जाग्राम बसेका भक्तजनका घरमा महालक्ष्मीको कृपा प्राप्त हुने र धनधान्यले सम्पन्न हुने विश्वास छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज शास्त्रीय विधिअनुसार गरिने बलिपूर्तिको प्रक्रिया पनि पूरा हुन्छ। यससँगै विजयादशमीदेखि सुरु भएको मान्यजनबाट टीका, जमरा ग्रहण गर्ने र आशीर्वाद लिने क्रम औपचारिक रूपमा टुङ्गिन्छ।
दसैँमा देवी दुर्गाको प्रसादका रूपमा लगाइने जमरा आज नदी, तलाउ, पोखरीलगायत पवित्र जलाशयमा विसर्जन गर्ने चलन छ। नेपाली समाजमा दसैँलाई धार्मिक आस्था, पारिवारिक मिलन र आपसी सद्भावको पर्वका रूपमा मनाइँदै आएको छ।
महालक्ष्मीको पूजा गरी रातभर जाग्राम बस्ने परम्पराका कारण यस पूर्णिमालाई ‘कोजाग्रत’ भनिएको हो। संस्कृतमा ‘को जागर्ति’ को अर्थ ‘को जागा छ?’ भन्ने हुन्छ। धार्मिक विश्वासअनुसार यस रात पृथ्वीको भ्रमण गर्ने महालक्ष्मीले जाग्राम बसेका भक्तजनलाई धन र ऐश्वर्य प्रदान गर्छिन् भन्ने मान्यता छ।
माता दुर्गाका विभिन्न स्वरूपमध्ये महालक्ष्मीको आराधना गर्दै दुर्गा पक्षलाई बिदाइ गरिने भएकाले पनि यस दिनको विशेष धार्मिक महत्त्व रहेको छ। नवरात्र तथा विजयादशमीका मुख्य धार्मिक विधि सम्पन्न भइसके पनि कोजाग्रत पूर्णिमासम्म दुर्गा पक्षको अवधि मानिन्छ।
कोजाग्रत पूर्णिमालाई ‘कौमुदी पूर्णिमा’ पनि भनिन्छ। परम्पराअनुसार यस रात कतिपय स्थानमा मनोरञ्जनका रूपमा जुवा खेल्ने चलनसमेत रहेको छ।
आज महालक्ष्मीका साथै ऐरावत हात्तीमा सवार देवराज इन्द्रको पनि पूजा गर्ने धार्मिक विधान छ। यसपछि भोलि सोमबारदेखि कार्तिक स्नान, तुलसीको विशेष पूजा आराधना तथा साँझ आकाशदीपदान गर्ने परम्परा सुरु हुने पात्रोमा उल्लेख छ।
यसरी महालक्ष्मीको पूजा, जाग्राम र धार्मिक विधिसँगै बडादसैँको समापन हुँदैछ भने नेपाली समाजमा दसैँले छोडेका पारिवारिक भेटघाट, आत्मीयता र सद्भावका सम्झनाहरू भने निरन्तर रहनेछन्।
