दोलखा— ऐतिहासिक तथा धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण भीमेश्वर मन्दिर परिसरको संरक्षण, व्यवस्थापन र दीर्घकालीन समग्र विकासका लागि गुरुयोजना निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको छ। प्रदेश सरकारको महत्वाकांक्षी “शिव सर्किट परियोजना” अन्तर्गत सञ्चालन हुन लागेको बहुवर्षीय कार्यक्रमको सन्दर्भमा बिहीबार सम्पन्न सरोकारवालाहरूको बैठकले यस दिशामा महत्वपूर्ण निर्णयहरू गरेको हो।
भीमेश्वर गुठी व्यवस्थापन समितिको आयोजनामा सम्पन्न उक्त बैठकमा मन्दिर परिसरको वर्तमान अवस्था, यसको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व, र दीर्घकालीन विकासका सम्भावनाबारे विस्तृत छलफल गरिएको थियो।
सहभागीहरूले मन्दिर क्षेत्रको व्यवस्थित संरक्षणसँगै आधुनिक आवश्यकताअनुसार पूर्वाधार विकास, सौन्दर्यीकरण तथा पर्यटकमैत्री वातावरण निर्माण अपरिहार्य भएकोमा जोड दिएका थिए।
बैठकमा भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धर, वडा अध्यक्ष स्टालिन श्रेष्ठ, भीमेश्वर गुठीका पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत बहादुर श्रेष्ठ, सचिव राजेन्द्र नारायण श्रेष्ठलगायत पदाधिकारी, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, इन्जिनियर तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले गुरुयोजना निर्माणलाई प्राथमिकतामा राख्दै एकीकृत ढंगले अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरेका थिए।
छलफलका क्रममा मन्दिर परिसरको समग्र गुरुयोजना निर्माणका लागि क्लिन डेभलपमेन्ट कन्सल्टेन्ट प्रा.लि., काठमाडौं लाई प्राविधिक संस्थाका रूपमा समावेश गरी प्रारम्भिक कार्य अघि बढाउने प्रस्ताव पेश गरिएको थियो। प्रस्तावमाथि विस्तृत छलफल गर्दै प्राविधिक अध्ययन, डिजाइन, लागत अनुमान तथा चरणबद्ध कार्यान्वयन योजना तयार पार्ने प्रक्रिया शीघ्र अघि बढाउने निर्णय गरिएको बैठकले जनाएको छ।
बैठकमा विशेषगरी मन्दिर परिसरको मौलिकता संरक्षण गर्दै संरचनागत सुधार, धार्मिक आस्था र परम्पराको जगेर्ना, भौतिक पूर्वाधारको स्तरोन्नति, सरसफाइ व्यवस्थापन, हरियाली प्रवर्द्धन, पार्किङ, पथमार्ग व्यवस्थापन तथा पर्यटकलाई सहज सेवा प्रदान गर्ने विषयहरूलाई गुरुयोजनाको मुख्य आधार बनाइनुपर्नेमा जोड दिइएको थियो। साथै, मन्दिर क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा विकास गर्न दीर्घकालीन सोच आवश्यक रहेको धारणा राखिएको थियो।
त्यसैगरी, योजना निर्माण तथा कार्यान्वयनका क्रममा संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय कायम गर्ने, गुठी व्यवस्थापन समिति र प्राविधिक टोलीबीच नियमित सहकार्य गर्ने तथा आवश्यक स्वीकृति सम्बन्धित निकायबाट समयमै प्राप्त गर्ने विषयमा समेत सहमति जुटाइएको छ।
बैठकमा पेश गरिएका विभिन्न प्रस्तावहरू छलफलपछि अनुमोदन गरिएको र कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ। साथै, योजनालाई व्यवहारिक, दिगो र परिणाममुखी बनाउन सबै पक्षबीच सहकार्य र प्रतिबद्धता आवश्यक रहेको निष्कर्ष निकालिएको छ।
गुरुयोजना निर्माण भएसँगै भीमेश्वर मन्दिर क्षेत्रको व्यवस्थित, योजनाबद्ध र दिगो विकास हुने विश्वास गरिएको छ। यसले धार्मिक आस्था झन् मजबुत बनाउनुका साथै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको सरोकारवालाहरूले बताएका छन्।


