जन्मदिनलाई सेवामै रूपान्तरण: देउरानी–जेठानी सिर्जना जोशी चाकुबजी र कुमारी जोशी चाकुबजीद्वारा ज्येष्ठ नागरिकलाई भोजन तथा वस्त्र वितरण
महेन्द्र श्रेष्ठ
दोलखा, साउन १५
श्रावण १५ अर्थात् खिर खाने विशेष पर्वको अवसरमा दोलखा भीमेश्वर नगरपालिका–२ निवासी देउरानी सिर्जना जोशी चाकुबजी र जेठानी कुमारी जोशी चाकुबजीले आफ्नो जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै अनुकरणीय उदाहरण प्रस्तुत गर्नुभएको छ।
उहाँहरूले चरणावती ज्येष्ठ नागरिक सेवा केन्द्र धाममा आश्रित ज्येष्ठ नागरिकहरूलाई बिहानको भोजन गराउनुका साथै लत्ताकपडा वितरण गरी जन्मदिनलाई मानव सेवाको अवसरका रूपमा मनाउनुभएको हो। व्यक्तिगत खुसीलाई समाजप्रतिको उत्तरदायित्वसँग जोड्दै गरिएको यस कार्यले करुणा, सहकार्य, सम्मान र सेवाभावको सकारात्मक सन्देश प्रवाह गरेको छ।
कार्यक्रमका क्रममा सेवा केन्द्रमा आश्रित ज्येष्ठ नागरिकहरूले सिर्जना जोशी चाकुबजी र कुमारी जोशी चाकुबजीलाई दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि तथा निरन्तर सेवाभावका लागि हार्दिक आशीर्वाद प्रदान गर्नुभएको थियो। स्थानीयवासी तथा सामाजिक अभियन्ताहरूले पनि जन्मदिनलाई सेवामूलक कार्यमार्फत मनाउने संस्कार अनुकरणीय रहेको उल्लेख गर्दै उहाँहरूको पहलको उच्च प्रशंसा गरेका छन्।
विशेषगरी कुमारी जोशी चाकुबजी दोलखाको शिक्षा तथा सामाजिक क्षेत्रमा परिचित व्यक्तित्व हुनुहुन्छ। उहाँ श्री राजकुलेश्वर आधारभूत विद्यालयकी पूर्व प्रधानाध्यापक हुनुहुन्थ्यो। शिक्षण सेवासँगै विभिन्न सामाजिक तथा सामुदायिक संस्थामा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएकी उहाँ हाल जापानलाई कर्मथलो बनाएर त्यहाँ पनि सामाजिक सेवामा सक्रिय रहँदै आउनुभएको छ। विदेशमा रहे पनि मातृभूमिप्रतिको माया, सामाजिक उत्तरदायित्व र सेवाभावलाई निरन्तरता दिँदै उहाँले दोलखासँगको सम्बन्धलाई जीवन्त राख्नुभएको छ।
त्यसैगरी सिर्जना जोशी चाकुबजी पनि सामाजिक सेवाप्रति समर्पित व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। देउरानी–जेठानीको संयुक्त पहलमा सम्पन्न यस सेवामूलक कार्यक्रमले जन्मदिनलाई केवल व्यक्तिगत उत्सवमा सीमित नराखी समाजका ज्येष्ठ नागरिकसँग खुसी, सम्मान र आत्मीयता बाँड्ने संस्कारलाई थप प्रेरणा दिएको छ।
मानव सेवा नै सबैभन्दा ठूलो धर्म भन्ने भावनालाई आत्मसात् गर्दै गरिएको यस्तो कार्यले समाजमा सहयोग, सम्मान, करुणा र मानवीय संस्कारलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।
यस शुभ अवसरमा सिर्जना जोशी चाकुबजी र कुमारी जोशी चाकुबजीप्रति जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै उहाँहरूको जीवन सधैं सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र सेवाभावले भरिपूर्ण रहोस् भन्ने शुभेच्छा व्यक्त गरिएको छ।

