रक्तदान कार्यक्रम हुँदै, रसुवा बाढीपीडित तथा घाइतेका लागि रगत संकलन गरिने।
दोलखा । रसुवामा आएको बाढीबाट प्रभावित तथा घाइते भएकाहरूलाई आवश्यक रगतको अभाव हुन नदिन दोलखामा रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ।
“रक्तदान गरौँ, जीवन बचाऔँ !” भन्ने नारासहित नेपाल राष्ट्रिय शिक्षक संगठन, भीमेश्वर नगर समिति दोलखाको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको समन्वयमा रक्तदान कार्यक्रम हुन लागेको हो।
आयोजकका अनुसार भदौ २१ गते आइतबार बिहान १० बजे सातदोबाटो, चरिकोट, दोलखामा रक्तदान कार्यक्रम सञ्चालन हुनेछ।
कार्यक्रममा संकलित रगत रसुवा बाढीबाट प्रभावित तथा घाइतेहरूको उपचारमा सहयोग पुर्याउने उद्देश्य राखिएको छ। मानवीय सेवाको यस अभियानमा सहभागी भई रक्तदान गर्न सबै स्वस्थ नागरिकलाई आयोजकले आग्रह गरेको छ।
