दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको पाँचौँ वार्षिक साधारणसभा भदौ १८ गते।
दोलखा / दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघले आफ्नो पाँचौँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ। जिल्लाको होटल तथा पर्यटन क्षेत्रको विकास, प्रवर्द्धन तथा व्यवसायीहरूको हकहितका विषयमा छलफल गर्ने उद्देश्यले साधारणसभा आयोजना गर्न लागिएको हो।
संघका अनुसार २०८३ साल भदौ १८ गते बिहान १० बजे चरिकोटस्थित दरबार पार्टी प्यालेसमा पाँचौँ वार्षिक साधारणसभा आयोजना हुनेछ।
दोलखाको होटल तथा पर्यटन क्षेत्रलाई थप व्यवस्थित, व्यावसायिक र प्रभावकारी बनाउँदै जिल्लाको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने विषयलाई साधारणसभाले प्राथमिकतामा राख्ने बताइएको छ। साथै होटल तथा पर्यटन व्यवसायीहरूले भोग्दै आएका समस्या, चुनौती तथा आगामी दिनमा व्यवसायलाई थप सुदृढ बनाउने उपायबारे समेत छलफल हुने जनाइएको छ।
दोलखा प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पर्यटनको प्रचुर सम्भावना बोकेको जिल्ला भएकाले होटल तथा पर्यटन व्यवसायलाई जिल्लाको आर्थिक समृद्धिसँग जोडेर अघि बढाउनुपर्नेमा संघले जोड दिँदै आएको छ। साधारणसभामार्फत पर्यटन तथा होटल व्यवसायको आगामी दिशा र कार्ययोजनाबारे समेत छलफल हुने अपेक्षा गरिएको छ।
संघका अध्यक्ष कुमार श्रेष्ठले साधारणसभामा जिल्लाका होटल तथा पर्यटन व्यवसायी, सरोकारवाला तथा शुभेच्छुकहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्नुभएको छ। अध्यक्ष श्रेष्ठले सबैको सहभागिताले कार्यक्रमको गरिमा बढाउनुका साथै दोलखाको पर्यटन तथा होटल व्यवसायको आगामी यात्राका लागि थप ऊर्जा र प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ।
‘होटल र पर्यटन, समृद्धिको मूल आधार’ भन्ने भावनाका साथ आयोजना हुन लागेको साधारणसभा दोलखाको पर्यटन विकास र व्यवसायीहरूको साझा हितका विषयमा महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
