लायन्स क्लब अफ दोलखाद्वारा दोलखा–धुलिखेल अस्पताललाई सीएलआईए एनालाइजर हस्तान्तरण।
महेन्द्र श्रेष्ठ
दोलखा / सामाजिक सेवा, स्वास्थ्य तथा मानवीय सहयोगका क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएको लायन्स क्लब अफ दोलखाले दोलखा–धुलिखेल अस्पताललाई अत्याधुनिक स्वास्थ्य परीक्षण उपकरण ‘सीएलआईए एनालाइजर (CLIA Analyzer)’ हस्तान्तरण गरेको छ। अस्पतालको प्रयोगशाला सेवाको क्षमता विस्तार गर्दै जिल्लामै गुणस्तरीय, सहज र भरपर्दो स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउने उद्देश्यले उक्त उपकरण हस्तान्तरण गरिएको हो।
अस्पतालमा आयोजित विशेष कार्यक्रममा लायन्स क्लब अफ दोलखाले उक्त उपकरण अस्पताल प्रशासनलाई हस्तान्तरण गरेको हो। सीएलआईए एनालाइजरको उपलब्धताले अस्पतालमा हुने विभिन्न प्रकारका प्रयोगशाला परीक्षणलाई थप व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसबाट जिल्लाका सर्वसाधारणले स्वास्थ्य परीक्षणका लागि बाहिरी जिल्ला तथा राजधानी जानुपर्ने बाध्यता केही हदसम्म कम हुने विश्वास गरिएको छ।
कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरी नारायण मानन्धर प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा नगरपालिकाकी उपप्रमुख कमला बस्नेत, सम्बन्धित वडा अध्यक्ष स्टालिन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी कार्यक्रममा लायन्स क्लब अफ दोलखाका प्रधान सल्लाहकार गोपाल प्रधान, सल्लाहकार शान्तकृष्ण श्रेष्ठ, पूर्वअध्यक्ष महेन्द्र श्रेष्ठ, दोलखा–धुलिखेल अस्पतालका वरिष्ठ चिकित्सक डा. विराट आचार्य, अस्पतालका डा. बापीझ्याला, अनलाइनका सम्पादक उपेन्द्र प्रधान लगायत स्वास्थ्यकर्मी, लायन्सकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै लायन्स क्लब अफ दोलखाका अध्यक्ष दिपेन्द्र शाक्यले स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा क्लबले गर्दै आएको सहयोगलाई निरन्तरता दिँदै अस्पताललाई आवश्यक पर्ने महत्वपूर्ण स्वास्थ्य उपकरण सहयोग गरिएको बताउनुभयो। उहाँले जिल्लावासीको स्वास्थ्य सेवामा प्रत्यक्ष लाभ पुग्ने क्षेत्रमा लायन्स क्लबले आगामी दिनमा पनि सहयोगलाई प्राथमिकतामा राख्ने बताउनुभयो।
अध्यक्ष शाक्यले स्वास्थ्य सेवा सर्वसाधारणको पहुँचमा पुर्याउन स्थानीय तह, अस्पताल, स्वास्थ्यकर्मी, सामाजिक संघसंस्था तथा सहयोगी निकायबीचको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य क्षेत्रमा गरिने सहयोगले आम नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उहाँको भनाइ थियो।
त्यस्तै लायन्स क्लब अफ दोलखाका सल्लाहकार शान्तकृष्ण श्रेष्ठले अस्पताललाई हस्तान्तरण गरिएको सीएलआईए एनालाइजरले दोलखावासीको स्वास्थ्य परीक्षणमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा आधुनिक प्रविधि र उपकरणको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै उहाँले जिल्लामै भरपर्दो स्वास्थ्य परीक्षणको वातावरण निर्माण गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा सहभागी वक्ताहरूले जिल्लामा स्वास्थ्य सेवाको स्तर सुधार गर्न आधुनिक उपकरणको उपलब्धता महत्वपूर्ण हुने धारणा राखेका थिए। अस्पतालमै अत्याधुनिक स्वास्थ्य परीक्षण उपकरण उपलब्ध भएपछि बिरामीले परीक्षणका लागि लामो दूरी तय गर्नुपर्ने बाध्यता कम हुनुका साथै समय र खर्चसमेत बचत हुने उनीहरूको भनाइ थियो।
लायन्स क्लब अफ दोलखाले स्थापना कालदेखि नै सामाजिक सेवा, स्वास्थ्य, शिक्षा तथा मानवीय सहयोगका विभिन्न क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। विपद् तथा आपत्कालीन अवस्थामा सहयोग पुर्याउनेदेखि स्वास्थ्य संस्थालाई आवश्यक सामग्री तथा उपकरण उपलब्ध गराउने कार्यमा समेत क्लबले निरन्तर योगदान दिँदै आएको छ।
दोलखा–धुलिखेल अस्पताललाई सीएलआईए एनालाइजर हस्तान्तरणसँगै अस्पतालको प्रयोगशाला सेवा थप सुदृढ हुने र जिल्लाका सर्वसाधारणले आधुनिक, सहज तथा भरपर्दो स्वास्थ्य परीक्षण सेवा आफ्नै जिल्लामा प्राप्त गर्ने वातावरण बन्ने अपेक्षा गरिएको छ।



