भैरव–कुमारी जात्रा भव्य रूपमा सम्पन्न।
महेन्द्र श्रेष्ठ
दोलखा, भदौ १८ । प्राचीन सांस्कृतिक नगरी दोलखामा परापूर्वकालदेखि मनाउँदै आइएको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको भैरव–कुमारी (बालकुमारी) जात्रा यस वर्ष पनि भव्य रूपमा सम्पन्न भएको छ।
गाईजात्राको भोलिपल्ट अर्थात् भदौ १४ गतेदेखि सुरु भएको जात्रा पाँच दिनसम्म दोलखा बजारका विभिन्न टोल, मठ–मन्दिर तथा डबलीमा रातको समयमा प्रदर्शन गरिएको थियो। विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गर्दै बिहीबार राति जात्रा विधिवत् रूपमा समापन गरिएको हो।
जात्राका क्रममा भैरव, कुमारी तथा विभिन्न गणसहितका पात्रहरू परम्परागत भेषभूषा र आकर्षक मुकुन्डोमा सजिएर बाजागाजाको तालमा नाच्दै दोलखा बजारका ऐतिहासिक तथा धार्मिक स्थलहरूको परिक्रमा गरेका थिए। प्राचीन युद्धकला, धार्मिक आस्था र स्थानीय संस्कृतिको जीवन्त झल्को दिने यस जात्रा हेर्न दोलखावासीसँगै विभिन्न स्थानबाट आएका दर्शनार्थी तथा पर्यटकहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो।
प्राचीन इतिहास र किंवदन्तीसँग जोडिएको जात्रा
भैरव–कुमारी जात्रा दोलखाको मौलिक संस्कृति र प्राचीन सभ्यताको महत्वपूर्ण धरोहरका रूपमा लिइन्छ। स्थानीय किंवदन्तीअनुसार तान्त्रिक विद्याबाट नियन्त्रणमा लिइएकी बालकुमारीलाई वर्षमा पाँच दिन भैरवको अगुवाइमा बाहिर निकालेर नगर परिक्रमा गराउने परम्पराबाट यो जात्रा सुरु भएको मानिन्छ।
धार्मिक विश्वास, तान्त्रिक परम्परा, प्राचीन युद्धकला र नेवारी सांस्कृतिक जीवनसँग गहिरो रूपमा जोडिएको यस जात्राले दोलखाको ऐतिहासिक पहिचानलाई पुस्तौँदेखि जीवन्त राख्दै आएको छ। जात्रामा प्रयोग हुने मुकुन्डो, पोसाक, बाजागाजा, नृत्य तथा विभिन्न पात्रहरूको प्रस्तुतिले दोलखाको प्राचीन सांस्कृतिक वैभवलाई उजागर गर्ने गर्दछ।
स्थानीय जनविश्वासअनुसार भैरव–कुमारी जात्राको दर्शन तथा पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने विश्वाससमेत रहँदै आएको छ। यही आस्था र परम्पराका कारण जात्राका अवसरमा स्थानीयवासी तथा बाहिरी क्षेत्रबाट आउने श्रद्धालुहरूको उत्साहजनक सहभागिता रहने गरेको छ।
सबैको सहयोगले जात्रा भव्य
दोलखा नगरपालिका–२ का वडा अध्यक्ष स्टालीन श्रेष्ठले यस वर्षको भैरव–कुमारी जात्रा भव्य रूपमा सम्पन्न हुनुमा दोलखावासी, गुठियार, युवा, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको महत्वपूर्ण सहयोग रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, “यसपालिको भैरव–कुमारी जात्रामा दोलखाका आमाबासी, गुठियार, युवा, समाजसेवीलगायत सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुभएको छ। कार्यालय प्रमुखलगायत विभिन्न क्षेत्रका व्यक्तिहरू पनि जात्रामा सहभागी हुन आउनुभएको देख्दा मलाई निकै खुसी लागेको छ।”
वडा अध्यक्ष श्रेष्ठले भैरव–कुमारी जात्रा केवल एउटा धार्मिक पर्व मात्र नभई दोलखाको इतिहास, संस्कृति र पहिचानसँग जोडिएको अमूल्य सम्पदा भएकाले यसको संरक्षण र पुस्तान्तरणमा सबै पक्षको निरन्तर सहकार्य आवश्यक रहेको बताउनुभयो।
जात्रामा स्थानीय गुठियार, युवा, समाजसेवी, व्यवसायी, जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिताले पनि सांस्कृतिक एकताको सन्देश दिएको स्थानीयको भनाइ छ।
सांस्कृतिक पर्यटनको महत्वपूर्ण आधार
भैरव–कुमारी जात्रा दोलखाको धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण आधारसमेत बन्न सक्ने देखिन्छ। ऐतिहासिक दोलखा बजार, भीमेश्वर मन्दिर, प्राचीन बस्ती, मठ–मन्दिर, डबली र मौलिक जात्रापर्वसँग जोडिएको यहाँको सांस्कृतिक सम्पदालाई व्यवस्थित रूपमा संरक्षण तथा प्रचार–प्रसार गर्न सके देश–विदेशका पर्यटक आकर्षित गर्न सकिने स्थानीयको विश्वास छ।
जात्राको समापनसँगै यस वर्षको दोलखाका महत्वपूर्ण सांस्कृतिक पर्वहरूको श्रृंखला पूरा भएको छ। स्थानीयवासीले पुस्तौँदेखि चलिआएका यस्ता मौलिक जात्रा, पर्व, नाच तथा सांस्कृतिक परम्पराको संरक्षण, अभिलेखीकरण र पुस्तान्तरण गर्दै दोलखालाई सांस्कृतिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्।





