रसुवाको पीडामा बागमती सरकारको साथ : अभिभावक गुमाएका बालबालिकाको शिक्षा र भविष्यको जिम्मेवारी लिने प्रतिबद्धता
महेन्द्र श्रेष्ठ
दोलखा । रसुवामा आएको विनाशकारी बाढीपहिरोबाट अभिभावक गुमाएका बालबालिकाको शिक्षा र भविष्य अन्धकार हुन नदिने बागमती प्रदेश सरकारले प्रतिबद्धता जनाएको छ। विपद्को पीडामा रहेका बालबालिकालाई सरकारको संरक्षण र अभिभावकीय साथ आवश्यक रहेको भन्दै प्रदेश सरकारले उनीहरूको शिक्षा, सपना र भविष्य निर्माणको जिम्मेवारी लिने जनाएको हो।
बाढीपहिरोबाट प्रभावित परिवारको पीडामा सरकार साथमा रहेको उल्लेख गर्दै प्रदेश सरकारले तत्कालीन राहतसँगै दीर्घकालीन पुनःस्थापना र संरक्षणलाई प्राथमिकतामा राख्ने जनाएको छ।
विशेषगरी विपद्का कारण आमाबुबा गुमाएका बालबालिकाको शिक्षामा कुनै अवरोध आउन नदिने र उनीहरूको भविष्य सुनिश्चित गर्न आवश्यक सहयोग गर्ने प्रदेश सरकारको प्रतिबद्धता छ।
“दुःखको घडीमा सरकार मात्र होइन, परिवार बनेर साथ दिनेछौँ,” भन्ने भावनासहित प्रदेश सरकारले पीडित बालबालिकाको शिक्षा, सपना र भविष्यलाई विशेष प्राथमिकतामा राख्ने जनाएको छ।
रसुवामा आएको बाढीपहिरोले ठूलो जनधनको क्षति पुर्याएपछि प्रभावित परिवारलाई तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापना, संरक्षण तथा जीविकोपार्जनका कार्यक्रम आवश्यक देखिएका छन्। त्यससँगै अभिभावक गुमाएका बालबालिकाको शिक्षा र भविष्य सुरक्षित गर्नु राज्यको महत्वपूर्ण दायित्व बनेको छ।
प्रदेश सरकारको यो प्रतिबद्धताले विपद्का कारण अभिभावक गुमाएका बालबालिकामा आशा र भरोसा जगाउने अपेक्षा गरिएको छ। विपद्को घाउमा मल्हम लगाउँदै उनीहरूलाई शिक्षा र अवसरबाट वञ्चित हुन नदिने प्रदेश सरकारको पहलले पीडित परिवारलाई समेत राहतको अनुभूति गराउने विश्वास गरिएको छ।
समाचार स्रोत : मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेश, हेटौँडा।
