प्रेस युनियन दोलखाको १०औँ अधिवेशन उद्घाटन सत्र सम्पन्न।
महेन्द्र श्रेष्ठ
दोलखा/२० भदौ । नेपाल प्रेस युनियन दोलखा शाखाको १०औँ जिल्ला अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ। पत्रकारको पेशागत हकहित, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको व्यावसायिक मर्यादा थप मजबुत बनाउने उद्देश्यसहित अधिवेशन आयोजना गरिएको हो।
नेपाल प्रेस युनियन दोलखाका अध्यक्ष सुजन काफ्लेको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रममा नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य मित्र भण्डारी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रमेश खतिवडा, नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष प्रभु जिरेल, प्रदेश सचिव श्याम खत्रीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। वक्ताहरूले पत्रकारिता क्षेत्रका चुनौती, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारको पेशागत सुरक्षाका विषयमा धारणा राखेका थिए।
अधिवेशनका अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने सञ्चारकर्मी तथा विभिन्न व्यक्तित्वलाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गर्ने व्यवस्था समेत गरिएको थियो। यसले पत्रकारिता क्षेत्रमा सक्रिय सञ्चारकर्मीलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।
अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ। नयाँ नेतृत्वले जिल्लामा पत्रकारको हकहित संरक्षणसँगै व्यावसायिक पत्रकारिताको विकास र प्रेस स्वतन्त्रताको पक्षमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
उद्घाटन सत्रमा पत्रकार, प्रेस युनियनका प्रतिनिधि तथा विभिन्न राजनीतिक, सामाजिक क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।



