जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।
सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै नेपाल रेडक्रस सोसाइटी सिन्धुलीले रसुवाका बाढीपहिरो प्रभावित नागरिकका लागि ४ लाख ५३ हजार २२९ रुपैयाँ राहत सहयोग गरेको छ।
भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपहिरोबाट प्रभावित परिवारको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले सिन्धुली रेडक्रसका विभिन्न समिति, उपसमिति, पालिका तथा उपशाखामार्फत उक्त रकम संकलन गरिएको हो।
संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी बैंक भौचर जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा प्रमुख जिल्ला अधिकारी स्कृम श्रेष्ठलाई हस्तान्तरण गरिएको छ।
रकम ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु मानवीय दायित्व भएको बताउँदै राहत संकलनमा सक्रिय रेडक्रस सिन्धुलीलाई धन्यवाद दिनुभयो।
रेडक्रस सिन्धुलीका सभापति अशोक श्रेष्ठका अनुसार सहयोग रकम जुटाउन जिल्लाका विभिन्न उपशाखा, समूह, कार्यसमितिका पदाधिकारी तथा कर्मचारीहरूले सक्रिय सहभागिता जनाएका थिए।
रसुवा बाढीपहिरो प्रभावितका लागि सिन्धुलीबाट थप सहयोग जुटाउने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

