जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।
दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले दोलखाको चरीकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पसले ७५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेको छ।
दोलखाकै जेठो तथा प्रतिष्ठित शैक्षिक संस्थाका रूपमा रहेको क्याम्पसका प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूको स्वेच्छिक योगदानबाट ७५ हजार २ सय ७७ रुपैयाँ ७३ पैसा संकलन भएको हो। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको क्याम्पसका निमित्त क्याम्पस प्रमुख बालकृष्ण फुयालले जानकारी दिए।
संकलित रकममध्ये क्याम्पसका प्राध्यापक तथा कर्मचारीबाट ५८ हजार ३ सय १२ रुपैयाँ ७३ पैसा, एमबीएस तेस्रो सेमेस्टरका विद्यार्थीबाट ८ हजार ४ सय रुपैयाँ तथा कक्षा ११, १२ र स्नातक तहका विद्यार्थीबाट ८ हजार ५ सय ६५ रुपैयाँ सहयोग प्राप्त भएको फुयालले बताए।
विपद्का कारण नागरिकको जनजीवन प्रभावित भइरहेका बेला क्याम्पस परिवारले आफ्नो शैक्षिक जिम्मेवारीसँगै सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्दै सहयोग गरेको हो।
गौरीशंकर बहुमुखी क्याम्पसले शैक्षिक गतिविधिसँगै सामाजिक सेवा र मानवीय सहयोगका क्षेत्रमा समेत योगदान गर्दै आएको छ। क्याम्पस परिवारको यो सहयोगले विपद्मा परेका नागरिकको राहत तथा उद्धार कार्यमा केही भए पनि टेवा पुग्ने अपेक्षा गरिएको छ।
