१७ माघ, काठमाण्डौं – आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ ।
टस जितेर पहिले ब्याटिङ गर्दै नेपालले दिएको एक सय ७० रनको लक्ष्य बंगलादेशले पाँच विकेटको क्षतिमा २५.२ ओभरमै पूरा गर्यो।
बंगलादेशलाई जित दिलाउने क्रममा अरिफुल इस्लाम र जिसन आलमले अर्धशतकीय इनिङ खेले। अरिफुल इस्लामले ३८ बलमा दुई छक्का र सात चौकाको मद्दतले अविजित ५९ रन बनाए।
त्यसअघि ओपनर जिसनले दुई छक्का र ६ छक्काको मद्दतमा ४३ बलमा ५५ रन बनाएका थिए। बंगलादेशका पाँचै खेलाडीलाई सुवास भण्डारीले आउट गरेका थिए।
सुवासले आठ ओभर बलिङ गर्दै ४४ रन दिएर पाँच विकेट लिए पनि अन्य बलरले विकेट लिन नसक्दा बंगलादेश सहजै खेल जित्न सफल भयो।
ब्याटिङमा चुकेका गुल्सन झा बलिङमा पनि प्रभावहीन देखिए। चार ओभर बलिङ गरेका उनले २९ रन दिए। आकाश चन्दले तीन ओभरमै ४२ रन दिए। आज कप्तान देव खनालले समेत बलिङ गरेका थिए। एक ओभर बलिङ गरेका देवले ११ रन दिए। देवले बंगलादेशविरुद्ध सात बलर लगाएका थिए। तर, सुवासबाहेक अन्य बलरले बंगलादेशी ब्याटरलाई दबाबमा राख्न सकेनन्।
त्यसअघि दक्षिण अफ्रिकाको ब्लुमफोन्टिनस्थित मनगाउङ ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६९ रन बनाएको थियो।
पहिलो पावर प्लेमै तीन विकेट गुमाएको नेपालका लागि प्रतियोगितामा पहिलो म्याच खेलेका विशालविक्रम केसीले एक सय बलमा ६ चौकाको मद्दतमा सर्वाधिक ४८ रन बनाए।
चौथो विकेटका लागि कप्तान देव खनाल र विशालविक्रम केसीले ६२ रनको साझेदारी गर्दै नेपालको इनिङस् उकासेका थिए। तर, देव ३५ रन बनाउँदै आउट भएपछि नेपाल सम्हालिन सकेन।
सुवास भण्डारीले १८, ओपनर अर्जुन कुमालले १४, दुर्गेश गुप्ता ९, अर्का ओपनर विपिन राउतले दुई बनाए। गुल्सन झा, आकाश त्रिपाठी, दीपक बोहोरा र दीपेश कँडेल समान तीन–तीन रन बनाएर आउट भए।
बंगलादेशका लागि रोहनतले चार र शेख जिबोनले तीन विकेट लिए भने इकवाल, मरुफ र जिसानले समान एक विकेट लिए।
नेपाल समूह ‘डी’को तेस्रो तथा बंगलादेश समूह ‘ए’को दोस्रो स्थानमा रहँदै सुपर सिक्समा छानिएका हुन्। नेपालका लागि भने सुपर सिक्सका खेल औपचारिकतामै सीमित बन्न पुगेका छन्।
सुपर सिक्सको यो समूहमा रहेका भारत र पाकिस्तानले मंगलबार आ-आफ्ना खेल जितेसँगै नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ।

