
निर्वाचनका बेलामा हरेक नागरिक भेट्छौं । खास गरी मतदाता भेट्छौं । भोट माग्छौं । त्यस पछि नागरिकसँग भेटघाटको प्रसङ्ग खासै आउँदैन । कुनै कार्यक्रम पर्दा, विवहा वर्तमान, पूजा पाठ हुँदा जान्छौं । नत्र पार्टी कार्यकर्ता भएर वा पार्टी कमिटी भएर नागरिकसँग भेटघाटको सन्दर्भ आउँदैन । यस पटक नेकपा एमालेले नागरिक भेटघाटलाई महत्व दिएको छ । नेकपा एमाले भीमेश्वर नगर कमिटीले गएको दशैंमा शुभकामना आदानप्रदानको सन्दर्भ पारेर हरेक नागरिकमात्र नभैं जनता भेटघाट राखेको थियो । तर भलवाढीको कारण मुलुक दुखद परिस्थीतिमा भएकोले पार्टी केन्द्रले शुभकामना कार्यक्रम रोकेको हुनाले नागरिक भेटघाट गर्न सकिएको थिएन अहिले, पार्टी केन्द्रले ‘अबको ध्यान वडा केन्द्रीत अभियान’ सुरु गरेको छ । यसलाई ‘जरा अभियान’ पनि भन्ने गरिएको छ । जरा भनेको देखिँदैन तर फल पात गतिलो बनाउने पोषण पठाउने त्यहीबाट हो ।
पातमा पोषण दिएर वा मलजल गरेको विरुवा राम्रो हुँदैन भने जस्तै कमिटी राम्रो भएर मात्र पुग्दैन । जरा भनेको नदेखिने भए जस्तै नागरिकहरु देखिंदैनन् । जो कमिटीमा रहन्छन्, पार्टी सदस्य वन्नछन् उनीहरु देखिन्छन् तर नागरिकहरु खास जरा हुन् । त्यहाँ मलजल हुनु पर्दछ भन्ने अभिप्रायकासाथ नागरिक भेटघाटलाई यस पटक प्राथमिकता परेको छ । भीमेश्वर नगर क्षेत्रका ९ वटै वडामा वस्तीगत टोली वनाएर नागरिक भेटघाट गरिएको छ । निर्वाचनका बेलामा नागरिक भेटघाट गर्दा पार्टी कार्यकर्ता बोल्ने गरिन्छ । आफ्नो प्रतिवद्धता सुनाउने गरिन्छ तर यस पटक अहिले नैं चुनाव हुँदैछैन । नागरिकको कुरा सुन्ने काम यस पटक गरियो । नागरिकले सोधेको प्रश्नमा सकेको उत्तर दिइयो तर सवै प्रश्नको उत्तर पार्टी कार्यकर्तासँग नहुन पनि सक्छ । तर नागरिकका कुरा सुन्न हामी आतुर थियौं । नागरिकको दृष्टिकोणमा नेकपा एमाले प्रतिको दृष्टिकोण वा धारणा थाहा पाउनु पर्ने थियो । पार्टी प्रतिको गुनासो अपेक्षाका बारेमा कुराकानी गर्नु थियो । नागरिकको चाहाना अनुसार पार्टी कमिटी चल्नु पर्दछ ।
जनप्रतिनिधिहरुले पनि नागरिकको चाहाना अनुसारको बाटोमा हिड्नु पर्दछ । त्यसैले नागरिक भेटघाट कार्यक्रमलाई महत्वकासाथ हेरिएको छ । ज्ञानको स्रोत नागरिक नागरिकहरुको ज्ञानका स्रोत हुन्, यो मान्यता हो । कुनै विद्यार्थीले विद्यावारिधी गर्न थाल्यो भने सोधपत्रकालागि प्रश्न वनाएर नागरिक वा समुदायलाई सोध्न जानु पर्दछ । उनीहरुको विचारलाई संश्लेषण गरी सोध पत्र तयार गरिन्छ । त्यसैले ज्ञानको मुहान समुदाय हो, नागरिक हो । जनता हो । यहि मान्यताकासाथ नागरिकसँग कुराकानी गरियो । नागरिकसँगको कुरा सुन्दा गजबका उपायहरु आए । प्रश्न सोध्यौं । हामीले सञ्चो विसञ्चोको कुरा ग¥यौं । घरपरिवारको जानकारी लियौं । उहाँहरु सवैको क्षमता, सिप, अनुभवका बारेमा सोध्यौं । नेकपा एमाले प्रतिको गुनासो तथा अपेक्षाकोलागि प्रश्न ग¥यौं । एमालेका असल काम र सुधार गर्नै पर्ने कुरा सोध्यौं । उपाय के हुन्छ भन्ने बारेमा संवाद ग¥यौं । उहाँहरुको धारणा, उपाय र सुझाव टिप्यौं । यी कुराहरुलाई वडा स्तरीय समृद्धिको योजना वनाउने बेलामा समेट्छौं । अनी प्राथमिकताका आधारमा शासकीय संरचना मार्फत सम्वोधनको प्रयास गर्दछौं भन्यो । धेरै कुरा सुन्यौं केही कुरा वोल्यौं पनि । अर्थात पहिला सुन्यौं । धेरै सुन्यौं थोरै वोल्यौं । ज्येष्ठ नागरिक भत्ता, आफ्नो गाउँ आफै बनाऔं अभियान सवैको मनमा गढेको रहेछ । त्यस्तै लोकप्रिय कामको आशा अधिकांश नागरिकसँग रहेको पाइयो । हामीले सोध्यौं । के हुन सक्ला त त्यस्ता काम ? केहीले भन्नु भयो ‘वाँदर नियन्त्रण गर्नु प¥यो’ ।
एकजनाले भन्नु भयो ‘कुनै पनि व्यक्ति कमाउने नभएको परिवारमा कम्तीमा एक सदस्यलाई रोजगारी वा न्यूनतम जिविकाकोलागि राहत दिने अभियान सुरु गर्ने’ । अर्को एकजनाको घरमा कुरा गरिरहँदा छेउकै खोल्सीमा लैजानु भयो र देखाउँदै भन्नु भयो ‘यो बर्षायाममा मेरो घरमा भल छिर्ला कि नछिर्ला ? प्रति प्रश्न गर्नु भयो । हामी जनप्रतिनिधिहरु सहित त्यो घरमा गएका थियौं । अति जरुरी देखियो । अवको प्राथमिकता पार्नै पर्दछ भन्ने कुरामा कसैको दुईमत रहेन । त्यो परिवारमा आशा सहितको खुसी छायो । यस्ता धेरै चित्ताकर्षक कुराहरु आएका छन् । नागरिकहरु उत्साहित छन् ।
निर्वाचन नहुँदा पनि पार्टीका नेता कार्यकर्ता घरदैलोमा पुग्दा छक्क र नौलो मानेका छन् । चियाबाट स्वागत पाएका छौं । उहाँहरुसँग भेट्दा कुरा गर्दा आशा र भरोषा देखिन्छ । विकासमा साझेदार गर्न चाहान्छन् । पार्टी कमिटी र जनप्रतिनिधिहरुको भूमिका सहजिकरणको खोजिरहेका छन् । हरेक वडामा नागरिक भेटघाट पछि वडा स्तरीय समृद्धिको योजना वनाउने छौं । अबको हाम्रो प्राथमिकता त्यसैमा केन्द्रीत हुने छ । ९ वटै वडाको बने पछि नगर स्तरीय समृद्धिको योजना वनाइने छ । भीमेश्वरका सवै राजनीतिक दलसँग पनि सहकार्य गरिने छ । सवै काम एकै पटक गर्न सक्ने कसैसँग पनि सामर्थ हुँदैन । तर समृद्धीको यात्रामा सवै राजनीतिक दल मात्रै नभई सामाजिक संघसंगठन सामुदायिक संस्था एकबाटोमा हिड्नु पर्दछ । गर्दै जाउँ हेर्दै जाउँ हैन योजनाबद्ध विकास नेकपा एमाले भीमेश्वर नगर कमिटीको प्राथमिकता हुने छ । हरेक गतिविधिमा नागरिक वा जनताको संलग्नता र अपनत्व हुने छ । तब मात्र हुने छ, जनमैत्री र दिगो विकास ।
