प्रधान सम्पादक
महेन्द्र श्रेष्ठ
जनकपुरधाम– पौराणिक परम्परा र सांस्कृतिक गौरवको प्रतीक बिबाह पञ्चमीको अवसरमा जनकपुरधाम उपमहानगरपालिकाको औपचारिक निमन्त्रणामा सहभागी हुन गएको भीमेश्वर नगरपालिकाको प्रतिनिधिमण्डल र जनकपुरधाम उपमहानगरपालिकाबीच भगिनी सम्बन्धमार्फत दुवै नगरको भविष्यका सहकार्यका आयामहरूबारे महत्वपूर्ण छलफल सम्पन्न भएको छ।
दुवै स्थानीय तहका प्रतिनिधिहरूबीच भएको भेटघाटमा दोलखा र मिथिलाको सांस्कृतिक, आर्थिक, साहित्यिक तथा पर्यटन विकासलाई कसरी थप प्रभावकारी बनाउने भन्ने विषयमा विस्तृत कुराकानी गरिएको छ। विशेषगरी “भगिनी सम्बन्ध” लाई व्यवहारिक रूपमा कार्यान्वयन गर्दै संयुक्त परियोजना, सांस्कृतिक आदान–प्रदान, पर्यटन प्रवर्द्धन, साहित्यिक अभियान र आर्थिक साझेदारी जस्ता क्षेत्रहरूमा सहकार्यको सम्भावना अध्ययन गरिएको जनाइएको छ।
छलफलका क्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार शाह र भीमेश्वर नगरका प्रतिनिधिहरूले दुवै नगरको ऐतिहासिक, भौगोलिक र सांस्कृतिक सम्पदालाई अन्तर–नगर साझेदारीमार्फत विश्वभर परिचित गराउने साझा दृष्टिकोण प्रस्तुत गरे।
यसै सन्दर्भमा भीमेश्वर नगरपालिका प्रवक्ता तारानाथ चौलागाईंले भने,
“बिबाह पञ्चमीको शुभ अवसरमा जनकपुरधामको निमन्त्रणामा सहभागी हुन पाउनु हाम्रो लागि सम्मानको विषय हो। यस भेटघाटले दोलखा र मिथिला क्षेत्रबीचको ऐतिहासिक नातालाई अझ मजबुत बनाएको छ। भगिनी सम्बन्धमार्फत आर्थिक, साहित्यिक तथा पर्यटन विकासका नयाँ आयाम पहिचान गर्दै अब दुवै नगरबीच व्यवहारिक सहकार्य अघि बढ्नेछ,” उहाले बताए।
प्रतिनिधिहरूका अनुसार, छलफलमा निम्न विषयहरूलाई प्राथमिकता दिइएको थियो–
धार्मिक तथा प्राकृतिक पर्यटन प्रबर्द्धन
दुवै नगरका सांस्कृतिक उत्सव, कला, संगीत र परम्पराको आदान–प्रदान
साहित्यिक कार्यक्रम तथा लेखक–कवि आदान–प्रदान
स्थानीय उत्पादन, व्यावसायिक सीप र लगानी प्रवाहका सम्भावित क्षेत्रहरू
युवा तथा विद्यार्थी स्तरमा अध्ययन–अवलोकन आदान–प्रदान कार्यक्रम
जनकपुर र प्राचिन दाेलखा शहरकाे ऐतिहासिक ,धार्मिक साँस्कृतिक पक्ष बिकासकाे बारेमा समेत दाेहअेराे छलफल गर्ने, मिथिला देखि जनकपुर हुदै दाेलखासम्मकाे उत्तर दक्षिण गन्तब्य तय गर्ने ।भेटघाटलाई दुवै नगरबीच नयाँ सहकार्यका ढोका खोल्ने अवसरको रूपमा हेरिएको छ।
निकट भविष्यमा यी विषयलाई संस्थागत गर्दै औपचारिक कार्यक्रम र संयुक्त परियोजना घोषणा गर्ने तयारी भइरहेको दुवै नगरले जनाएका छन्।
बिबाह पञ्चमीका धार्मिक तथा सांस्कृतिक रौनकबीच सम्पन्न भएको यो छलफलले दोलखा–मिथिला सम्बन्धलाई आगामी वर्षहरूमा नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरिएको छ।


