प्रधान सम्पादक महेन्द्र श्रेष्ठ
भीमेश्वर नगरपालिका–२, दोलखा ।
ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक पहिचान बोकेको भीमेश्वर नगरपालिका–२ ले आज आफ्नो विकास यात्रामा एउटा महत्वपूर्ण अध्याय लेखेको छ। स्थानीय बासिन्दा तथा वडा कमिटीको लामो समयदेखि रहेको अपेक्षा पूरा गर्दै नवनिर्मित वडा कार्यालय भवन एक भव्य तथा सम्मानपूर्ण समारोहका बीच औपचारिक रूपमा उद्घाटन गरिएको छ।
आधुनिक प्रविधि, सेवा सहजता, नागरिकमैत्री वातावरण र संगठनात्मक प्रभावकारितालाई प्राथमिकतामा राखेर निर्माण गरिएको यो भवनले अब वडाले प्रदान गर्ने सबै प्रकारका सेवा–सुविधालाई एकीकृत, छरितो र पारदर्शी बनाउँदै जनतामाझ सिधा प्रभाव पार्ने जनविश्वास लिएको छ।
चुनावी प्रतिबद्धताको प्रत्यक्ष रूपान्तरण : अध्यक्ष स्टालिन श्रेष्ठको नेतृत्वमा सम्भव
२०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) भीमेश्वर नगरपालिका–२ का तर्फबाट विजयी भएका वडा अध्यक्ष स्टालिन श्रेष्ठले चुनावी अभियानका क्रममा वडालाई आधुनिक कार्यालय भवन उपलब्ध गराउने प्रतिज्ञा गरेका थिए।
चुनावपछि लामो समय वडामा संरचनागत अभावका कारण सेवा सञ्चालन गर्दा देखिएका कठिनाइलाई समाप्त गर्दै उनले आफ्नै नेतृत्वमा भवन निर्माण प्रक्रिया प्रारम्भ गरे।
निरन्तर अनुगमन, दिगो समन्वय, उपलब्ध स्रोतसाधनको परिचालन तथा सामुदायिक सहभागिताको बलमा उनले वडाको सबभन्दा ठूलो आवश्यकता मानिएको यो प्रकल्प पूरा गर्न सफल भए। आजको उद्घाटन समारोहले उनका प्रतिबद्धता शब्दमा मात्रै नभई व्यवहारमै परिणत भएको स्पष्ट प्रमाण प्रस्तुत गरेको छ।
प्रमुख अतिथिद्वारा उद्घाटन, समाजसेवी तथा राजनीतिक नेतृत्वबाट प्रशंसा
नवनिर्मित भवनको औपचारिक उद्घाटन कार्यक्रमका प्रमुख अतिथि ईश्वर नारायण मानन्धरले गर्नुभयो।
उद्घाटनपछि उहाँले वडा–२ को स्थायित्व, सुशासन र सेवा प्रवाहलाई मजबुत बनाउने यो भवनले स्थानीय विकासमा नयाँ ऊर्जा प्रवाह गर्ने बताउनुभयो।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी सचिवालय सदस्य तथा समाजसेवी ज्ञानेन्द्र प्रधानले पूर्वमेयर भरत बहादुर केसीले भवन निर्माणका लागि प्रारम्भिक पहल थाले पनि विभिन्न कारणले त्यसबेला पूर्णता प्राप्त गर्न नसकेको उल्लेख गर्दै अहिले भवन पूर्णरूपमा सम्पन्न भएकोमा वडावासीलाई बधाई दिनुभयो।
त्यसैगरी नेपाली कम्युनिस्ट पार्टीका नगर सचिव अजय प्रधान, पूर्व जनप्रतिनिधि देवेन्द्र नारायण प्रधान, राप्रपा नेपालका भिरशंखर साही, प्रसासकीय प्रमुख विष्णु प्रसाद सुवेदी, कार्यपालिका सदस्य मुना श्रेष्ठलगायतले शुभकामना मन्तव्य राख्दै भवन उद्घाटनलाई वडाको विकासमा महत्वपूर्ण मोडको रूपमा व्याख्या गरे।
कार्यक्रमको स्वागत मन्तव्य कार्यपालिका सदस्य मुना श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो।
“सेवा प्रवाहलाई अझ प्रविधिमैत्री बनाइन्छ” : अध्यक्ष श्रेष्ठ
कार्यक्रममा बोल्दै वडा अध्यक्ष स्टालिन श्रेष्ठले भवन निर्माणमा सुरुदेखि अन्तिमसम्म साथ दिने सबै साना–ठूला सहयोगी हातप्रति आभार व्यक्त गरे।
उहाँले वडामा प्रदान हुने सेवा अबदेखि समयमै, सहज, पारदर्शी र प्रविधिमैत्री रूपमा अघि बढाइने बताउँदै नागरिकसँगको सम्बन्ध विश्वास र जिम्मेवारीमा आधारित रहने प्रतिबद्धता जाहेर गर्दा उपस्थित वडावासीले तालीबीच स्वागत गरेका थिए।
सेवाबाट स्थानीयलाई प्रत्यक्ष लाभ
नवनिर्मित भवन सञ्चालनमा आएपछि वडा–२ का स्थानीयले
नागरिकता एवं सिफारिस सेवाहरू,
सामाजिक सुरक्षा भत्ता,
प्रशासनिक काम,
नागरिक उजुरी तथा सुविधा,
अन्य स्थानीय विकाससम्बन्धी सेवा
एकै स्थानबाट, व्यवस्थित प्रक्रिया र सहज वातावरणमा प्राप्त गर्नेछन्।
यो भवन केवल सेवाको केन्द्र मात्र नभई वडाको भविष्यप्रतिको योजना, प्रतिबद्धता र कर्तव्यबोधको प्रतीकका रूपमा चिनिने अपेक्षा गरिएको छ।
वडाको विकास यात्रामा नयाँ उपलब्धि
वडावासीले दशकौँदेखि महसुस गरिरहेको संरचनागत अभाव अन्त्य गर्दै निर्माण गरिएको यो भवन अब भीमेश्वर नगरपालिका–२ को प्रशासनिक कार्यक्षमता, स्थानीय विकास तथा नागरिक सेवामा दीर्घकालीन योगदान दिने टिकाउ, आधुनिक र ऐतिहासिक उपलब्धिका रूपमा सुरक्षित हुनेछ भन्ने विश्वास व्यक्त गरिएको छ।




