दोलखा । पाखलती जीवनविज्ञान प्रयोगशालाको आयोजनामा आज विश्व ध्यान दिवस भव्य तथा अर्थपूर्ण रूपमा मनाइएको छ। मानसिक शान्ति, ध्यान अभ्यास र स्वस्थ जीवनशैलीको महत्वबारे जनचेतना फैलाउने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, व्यवसायी तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका क्रममा भीमेश्वर नगरपालिका वडा नं. २ मा जन्मनु भएका समाजसेवी मनोज चाकुबजी, सोही वडामा जन्म भई हाल काठमाडौंमा बसोबास गर्दै आउनु भएका सुशेन श्रेष्ठ तथा दोलखामा लामो समयदेखि सफल व्यवसाय सञ्चालन गर्दै आउनु भएका विजय कुमार खड्काले संयुक्त रूपमा प्रयोगशालाका लागि साउण्ड बक्स सहयोग गर्नु भएको थियो। उक्त सहयोग भीमेश्वर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष स्टालीन श्रेष्ठले औपचारिक रूपमा हस्तान्तरण गर्नु भएको हो।
त्यसैगरी, प्रयोगशालाको भवन रङ्गरोगन कार्यलाई सहयोग पुर्याउने उद्देश्यले भीमेश्वर नगरपालिका वडा नं. २ तिखतलमा जन्मनु भई हाल अमेरिका बसोबास गर्दै आउनु भएका समाजसेवी बिमल श्रेष्ठले उक्त भवनका लागि रु. १० हजार आर्थिक सहयोग प्रदान गर्नु भएको छ। उहाँको योगदानले संस्थाको भौतिक संरचना सुधारमा महत्वपूर्ण सहयोग पुगेको आयोजकले जनाएको छ।
कार्यक्रममा पाखलती सहयोग समिति सदस्य शंकर मान श्रेष्ठ तथा यस संस्थाका सल्लाहकार अमृत बहादुर श्रेष्ठलाई पाखलती जीवनविज्ञान परिवारको तर्फबाट वडा अध्यक्ष स्टालीन श्रेष्ठको हातबाट दोसल्ला ओढाएर सम्मान गरिएको थियो। संस्थाको विकास र निरन्तर सहयोगमा उहाँहरूले पुर्याएको योगदानको कदरस्वरूप सम्मान गरिएको आयोजकले बताएका छन्।
विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रममा ध्यान अभ्यास, मानसिक स्वास्थ्यको महत्वबारे छलफल तथा संक्षिप्त मन्तव्यहरू प्रस्तुत गरिएको थियो। सहभागीहरूले दैनिक जीवनमा ध्यानको अभ्यासले तनाव न्यूनीकरण, सकारात्मक सोच विकास र समग्र स्वास्थ्य सुधारमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए।
पाखलती जीवनविज्ञान प्रयोगशालाले आगामी दिनमा पनि यस्ता सामाजिक, शैक्षिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै समुदायमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ। स्थानीय तह, समाजसेवी र सहयोगदाताहरूको सहकार्यले संस्था थप उत्साहित भएको आयोजकको भनाइ छ।


