दोलखा — ६८औँ स्थापना दिवस तथा ६३औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर भीमेश्वर नगरपालिका–२ मा सहकारी संस्थाहरूबीच बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम भीमेश्वर नगरपालिका–२ वडा कार्यालयको सहकार्य तथा प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा सम्पन्न भएको हो।
उक्त कार्यक्रममा विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागी सहकारीहरूमा भीमेश्वर साकोसका अध्यक्ष रमेश चाकुबजीसहित कार्यसमिति सदस्यहरू, त्रिपुरा महिला सहकारीका व्यवस्थापक बुद्धि आचार्य तथा कोषाध्यक्ष सिर्जना खड्का,बालकुमारी महिला कृषि सहकारीका अध्यक्ष लिला श्रेष्ठ, सचिव बिनु श्रेष्ठ र व्यवस्थापक बस्नती जोशी, सिंहबन कृषि सहकारीका अध्यक्ष महेन्द्र श्रेष्ठ, कोषाध्यक्ष निर्जला श्रेष्ठ र कृष्णकुमारी श्रेष्ठ तथा मन्धेश्वरी कृषि सहकारीका अध्यक्ष रमेश श्रेष्ठ लगायत कार्यसमिति सदस्य, व्यवस्थापक, सहकारीकर्मी तथा सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहकारी क्षेत्रको वर्तमान अवस्था, चुनौती, अवसर तथा सुधारका उपायहरूबारे विस्तृत छलफल गरिएको थियो। विशेषगरी पछिल्लो समय सहकारी संस्थाहरूमा ऋण लिएर समयमै भुक्तानी नगर्ने तथा भाखा नाघ्ने प्रवृत्ति बढ्दै गएको विषयमा गम्भीर चिन्ता व्यक्त गरिएको थियो। सहभागीहरूले यस्तो अवस्थाले सहकारीको वित्तीय अवस्था मात्र होइन, समग्र विश्वासनीयतामा समेत नकारात्मक असर पार्ने बताएका थिए।
अन्तरक्रियामा ऋण प्रवाहलाई व्यवस्थित, पारदर्शी र जिम्मेवार बनाउनेतर्फ जोड दिँदै ऋणीहरूको नियमित अनुगमन गर्नुपर्ने, सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने तथा आवश्यक परे कडाइका उपाय अवलम्बन गर्नुपर्नेमा सहमति भएको छ। विशेषगरी भाखा नाघेका ऋणीहरूलाई वडास्तरबाट निगरानीमा राख्ने र पटक–पटक अटेर गर्ने ऋणीहरूलाई कालोसूचीमा राख्ने विषयमा समेत गम्भीर छलफल भएको जनाइएको छ।
कार्यक्रमका प्रमुख अतिथि भीमेश्वर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठले सहकारी क्षेत्रलाई अनुशासित र विश्वसनीय बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो। त्यसैगरी जनसेन साकोसका प्रबन्धक दीपक बस्नेतले सहकारी ऋण असुली सम्बन्धी कानुनी प्रक्रिया, नियम तथा प्रभावकारी उपायहरूबारे जानकारी गराउँदै ऋण व्यवस्थापनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा सहभागी सहकारी प्रतिनिधिहरूले आपसी समन्वय र सहकार्यलाई अझ सुदृढ गर्दै एकीकृत ढंगले अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका थिए। सहकारीहरूबीच सूचना आदानप्रदान, अनुभव साटासाट तथा संयुक्त रूपमा समस्या समाधान गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिइएको थियो।
कार्यक्रमले सहकारी संस्थाहरूलाई थप अनुशासित, उत्तरदायी र प्रभावकारी बनाउँदै स्थानीय स्तरमा आर्थिक गतिविधि सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले व्यक्त गरेको छ। साथै, आगामी दिनमा यस्ता अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिँदै सहकारी क्षेत्रको विकास र सुधारमा थप योगदान पुर्याउने प्रतिबद्धता समेत जनाइएको छ।

