वन संरक्षणमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : दोलखामा पत्रकारका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न।
महेन्द्र श्रेष्ठ
दोलखा, जेठ २०
नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखाको आयोजनामा सञ्चारकर्मीहरूका लागि जिल्लास्तरीय वन तथा वातावरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रभु जिरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिभिजन वन कार्यालय दोलखाका प्रमुख अनिल रेक्मी प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा प्रमुख रेक्मीले दोलखा जिल्लाको वन क्षेत्र, जैविक विविधता, वन संरक्षण, कार्यालयका गतिविधि तथा आगामी योजनाबारे पत्रकारहरूलाई विस्तृत जानकारी गराउनुभएको थियो।
उहाँका अनुसार दोलखा जिल्लाको कुल २ लाख १४ हजार ८७० हेक्टर क्षेत्रफलमध्ये ४६ दशमलव ९२ प्रतिशत भूभाग वन क्षेत्रले ओगटेको छ। जिल्लामा ३८६ वटा सामुदायिक वन, १६४ वटा कबुलियती वन, २ वटा धार्मिक वन तथा २६ वटा निजी वन सञ्चालनमा रहेका छन्।
कार्यक्रममा दोलखामा उचाइअनुसार १३ प्रकारका वन प्रणाली पाइने जानकारी दिँदै साल, खोटेसल्ला, बाँझ, गुराँस, गोब्रेसल्ला, भोजपत्र, धुपी लगायतका महत्वपूर्ण वनस्पति रहेको उल्लेख गरिएको थियो।
डिभिजन वन कार्यालयले वन तथा जैविक विविधताको संरक्षण, दिगो वन व्यवस्थापनमार्फत वन पैदावार उत्पादन वृद्धि, वनजन्य उत्पादनको व्यवसायीकरण तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिइयो। साथै जलाधार संरक्षण, जडीबुटीको व्यावसायिक विकास तथा जलवायु परिवर्तन अनुकूलनका कार्यक्रम सञ्चालन भइरहेको कार्यालयले जनाएको छ।
कार्यालयले ६ वटा सब–डिभिजन वन कार्यालयमार्फत सेवा प्रवाह गर्दै आएको तथा चरिकोट र जिरीमा नर्सरी सञ्चालन भइरहेको जानकारी दिइएको थियो। हाल कार्यालयमा स्वीकृत ५१ दरबन्दीमध्ये ३९ जना कर्मचारी कार्यरत रहेको र केही पद रिक्त रहेको बताइएको छ।
चालु आर्थिक वर्ष २०८२/८३ मा प्रथम बागमती स्तरीय पर्या–साहित्य महोत्सव, वन डढेलो व्यवस्थापन सप्ताह, विभिन्न गोष्ठी, बैठक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको जानकारी दिइएको थियो। यस अवधिमा ०.५ हेक्टर क्षेत्रमा सम्बर्द्धनात्मक वृक्षारोपण समेत गरिएको छ।
त्यस्तै अवैध काठ कटानी तथा वन्यजन्तु सम्बन्धी २ वटा मुद्दा दायर गरिएको, ३ वटा घाइते वन्यजन्तुको उद्धार गरिएको तथा १ वटा मृत चितुवाको व्यवस्थापन गरिएको कार्यालयले जनाएको छ।
कार्यक्रममा चालु आर्थिक वर्षमा रु. १ करोड ८७ लाखभन्दा बढी राजस्व संकलन भएको तथा १ लाख ७ हजार मानव–दिन बराबरको रोजगारी सिर्जना गरिएको जानकारी प्रस्तुत गरिएको थियो।
वन ऐन २०७६, वन नियमावली २०७९, राष्ट्रिय वन नीति २०७५ तथा राष्ट्रिय वन एकीकृत रणनीतिक योजना २०८१–२१०० का विषयमा समेत जानकारी दिइएको कार्यक्रममा दिगो वन व्यवस्थापन तथा थिनिङ्गमार्फत काठ उत्पादन भइरहेको र चालु आर्थिक वर्षमा सामुदायिक वनबाट अनुमानित १ लाख ५० हजार ६१९ क्युबिक फिट काठ उत्पादन हुने प्रक्षेपण गरिएको जानकारी दिइयो।
कार्यक्रममा वन कार्यालयका कर्मचारी, सञ्चारकर्मी, मिडियाकर्मी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागी पत्रकारहरूले वन संरक्षण, वातावरणीय सन्तुलन, वन अतिक्रमण नियन्त्रण तथा सार्वजनिक जग्गा संरक्षणका विषयमा जिज्ञासा तथा प्रश्नहरू राखेका थिए।
कार्यक्रममा वन तथा वातावरण संरक्षणमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहने विषयमा जोड दिइएको थियो। कार्यक्रमको सञ्चालन महासंघका सचिव सुजन काप्लेले गर्नुभएको थियो।



