अभयपुर सहर दोलखामा परम्परागत घण्टाकर्ण (घठेमङ्गल) पर्व मनाइँदै
दोलखा / दोलखाको ऐतिहासिक अभयपुर सहरमा आज परम्परागत घण्टाकर्ण (घठेमङ्गल) पर्व मनाइँदैछ। नेवार समुदायको मौलिक संस्कृति, धार्मिक आस्था र परम्परासँग जोडिएको यो पर्व स्थानीयवासीले विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गरी मनाइरहेका छन्।
भीमेश्वर नगरपालिका–२ का वडा अध्यक्ष स्टालिन श्रेष्ठका अनुसार घण्टाकर्ण पर्वलाई नकारात्मकता, अशुभता तथा विभिन्न बाधा–अवरोध हटाई सुख, शान्ति र समृद्धिको कामना गर्ने पर्वका रूपमा लिइन्छ। पर्वका अवसरमा स्थानीयवासीले परम्परागत पूजाआजा गर्नुका साथै विभिन्न सांस्कृतिक गतिविधि सञ्चालन गर्ने गरेका छन्।
“घण्टाकर्ण हाम्रो मौलिक संस्कृति र परम्परासँग जोडिएको महत्वपूर्ण पर्व हो। यस्ता पर्वले समुदायमा आपसी सद्भाव, एकता र सामाजिक सहकार्यको भावना बलियो बनाउँछन्,” वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो।
इतिहासविद् शान्तकृष्ण श्रेष्ठका अनुसार ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न अभयपुर सहरमा घण्टाकर्ण पर्व पुस्तौँदेखि निरन्तर रूपमा मनाउँदै आइएको छ। यस पर्वले स्थानीय मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षणसँगै नयाँ पुस्तामा सांस्कृतिक ज्ञान हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको उहाँको भनाइ छ।
आधुनिकतासँगै कतिपय मौलिक परम्परा र संस्कृतिहरू ओझेलमा पर्दै गइरहेको अवस्थामा घण्टाकर्णजस्ता पर्वको निरन्तरताले स्थानीय संस्कृति र सामाजिक पहिचानलाई जीवन्त राख्न सहयोग पुग्ने स्थानीयको भनाइ छ।
अभयपुर सहरमा मनाइने घण्टाकर्ण पर्वले दोलखाको मौलिक संस्कृति, धार्मिक परम्परा र ऐतिहासिक पहिचानलाई थप उजागर गरेको छ।
