दोलखामा घण्टाकर्ण पर्व सम्पन्न, जोशी परिवारको पालोमा मनाइयो जात्रा
सिर्जन घिमिरे
दोलखा, साउन २७/ ऐतिहासिक दोलखा बजारमा नेवार समुदायको मौलिक संस्कृति, धार्मिक आस्था र परम्परासँग जोडिएको घण्टाकर्ण अर्थात् ‘गाठामा’ पर्व विधिपूर्वक सम्पन्न भएको छ। श्रावण कृष्णपक्ष चतुर्दशीका दिन मनाइने यो पर्व दोलखामा वर्षभरि सञ्चालन हुने विभिन्न जात्रा तथा पर्वको सुरुवाती जात्राका रूपमा लिइन्छ।
यस वर्ष घण्टाकर्ण जात्रा सञ्चालन गर्ने पालो ढोकुलुङा टोलका जोशी परिवारको रहेको थियो। परम्पराअनुसार तलेजु भवानी मन्दिरमा विशेष पूजाआजा गरेपछि घण्टाकर्णको प्रतिमालाई बाजागाजासहित दोलखा बजार परिक्रमा गराइएको थियो। त्यसपछि प्रतिमालाई बजारबाहिर रहेको छेरप्वाले स्थानमा पुर्याएर जलाइएको हो।
घण्टाकर्णको प्रतिमा गाजाको बोटलगायत स्थानीय सामग्री प्रयोग गरी तयार पारिन्छ। नाङ्लोमा राक्षसको अनुहार बनाइ त्यसलाई प्रतिमामा राख्ने परम्परा छ। तलेजु भवानी मन्दिरमा पूजाआजा सम्पन्न गरेपछि प्रतिमाको घाँटीमा खुकुरीले तीनपटक काट्ने विधि पूरा गरिन्छ। त्यसपछि प्रतिमालाई तानेर घिसार्दै बजारबाहिर लगेर जलाउने गरिन्छ।
घण्टाकर्ण पर्वसँगै दोलखामा विश्वकर्माले घर–घरमा फलामको करुवा र औँठी ल्याई मूलढोकामा करुवा ठोकिदिने तथा परिवारका सदस्यलाई औँठी लगाइदिने परम्परा पनि छ। स्थानीय धार्मिक विश्वासअनुसार यसले घरमा नकारात्मक शक्ति प्रवेश गर्न नदिने र अशुभ प्रभाव हटाउने मान्यता रहँदै आएको छ।
घण्टाकर्ण जात्रा सञ्चालनका लागि ऐतिहासिक रूपमा सरकारले गुठीको समेत व्यवस्था गरेको थियो। तत्कालीन समयमा कालिञ्चोक खर्क, गैरी, मेहले, कुरी, टुटान, थामी र देउरालीमा गोठ राखेबापत उठाइएको करबाट जात्रा सञ्चालन गर्ने व्यवस्था गरिएको इतिहासमा उल्लेख छ।
इतिहासअनुसार तत्कालीन राजा राजेन्द्रविक्रम शाहले विसं १८८६ वैशाख १४ गते बिहीबार घण्टाकर्ण गुठीका लागि लालमोहर लगाएका थिए। गुठी सञ्चालनका लागि डोकुलुङ, डोकछेँ, कोरछेँ, बिहारछेँ, गुर्कोट र पिङ्गलका स्थानीय बासिन्दालाई गुठियार नियुक्त गरिएको थियो।
घण्टाकर्ण गुठी सञ्चालनसँगै भीमेश्वर देवस्थानमा दुई बोका, त्रिपुरासुन्दरी मन्दिरमा एक बोका र एक राँगो तथा तलेजु भवानी मन्दिरमा एक बोका बलि चढाउने परम्परा समेत रहेको छ।
दोलखामा घण्टाकर्ण पर्व धार्मिक आस्था र पूजाआजामा मात्र सीमित छैन। यो दोलखाको मौलिक नेवारी संस्कृति, गुठी परम्परा र सामाजिक एकताको महत्वपूर्ण पहिचानका रूपमा स्थापित छ। पुस्तौँदेखि चलिआएको यो परम्परालाई स्थानीय समुदायले विभिन्न चुनौतीका बीच पनि निरन्तरता दिँदै आएका छन्।
पछिल्लो समय गुठीका लागि तोकिएका स्थानबाट आवश्यक आयस्ता तथा सामग्री जुटाउन कठिनाइ हुँदै गएपछि भीमेश्वर नगरपालिका, स्थानीयवासी, विभिन्न संघसंस्था तथा गुठियारको सहयोगमा जात्रा सञ्चालन हुँदै आएको छ।
घण्टाकर्ण पर्व सञ्चालनको पालो प्रत्येक वर्ष सम्बन्धित परिवारमा पर्ने परम्पराअनुसार यस वर्ष ढोकुलुङा टोलका जोशी परिवारको पालो परेको थियो। सोहीअनुसार जोशी परिवारको नेतृत्वमा आवश्यक धार्मिक तथा सांस्कृतिक विधि पूरा गरी यस वर्षको घण्टाकर्ण पर्व सम्पन्न गरिएको हो।
