गरुडदल गणको वार्षिकोत्सवमा हरियाली अभियान, चरिकोट–कालिञ्चोक सडकखण्डमा वृक्षारोपण
चरिकोट, दोलखा /नेपाली सेनाको गरुडदल गणले आफ्नो १४६औँ वार्षिकोत्सवको अवसर पारेर दोलखामा वृक्षारोपण तथा वातावरण संरक्षण अभियान सञ्चालन गरेको छ।
वार्षिकोत्सवको अवसरमा भीमेश्वर नगरपालिका–६ स्थित खोरथली सामुदायिक वन तथा भुतपोखरी क्षेत्रमा वृक्षारोपण गरिएको हो। शुक्रबार बिहान सम्पन्न कार्यक्रममा सुरक्षा निकाय, जिल्ला प्रशासन, न्यायालय तथा वन कार्यालयका प्रमुखसहित स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, जिल्ला अदालत दोलखाका प्रमुख न्यायाधीश मणिराम न्यौपाने, डिभिजन वन कार्यालय दोलखाका प्रमुख अनिल रेग्मी तथा गरुडदल गणका गणपति प्रमुख सेनानी लोकसागर कटुवालको उपस्थिति रहेको थियो।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायब उपरीक्षक मनोजकुमार लामा, सशस्त्र प्रहरी बल नं. १८ गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक सुरेश कोइराला, राष्ट्रिय अनुसन्धान दोलखाका प्रमुख धिरज बानियाँलगायत करिब ८० जनाको सहभागितामा वृक्षारोपण गरिएको गणले जनाएको छ।
वृक्षारोपण अभियानअन्तर्गत चरिकोट–कालिञ्चोक सडकखण्डको भुतपोखरीदेखि देउरालीसम्म सडकको दायाँबायाँ विभिन्न प्रजातिका बिरुवा रोपिएका छन्। कपुर, लप्सी, कल्की, एभोकाडो, अमला, काउलो, असारे, पारिजात, निम तथा अशोकलगायतका बिरुवा रोपिएको हो।
गरुडदल गणले वार्षिकोत्सवलाई केवल औपचारिक कार्यक्रमका रूपमा सीमित नगरी वातावरण संरक्षण र हरियाली प्रवर्द्धनसँग जोड्दै वृक्षारोपण अभियान सञ्चालन गरेको हो। सडकखण्ड आसपास रोपिएका बिरुवा हुर्किएसँगै क्षेत्रको प्राकृतिक सौन्दर्य बढ्नुका साथै वातावरण संरक्षणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।



