भौतिक पूर्वाधार विकास मन्त्रीमा भरत बहादुर केसी।
महेन्द्र श्रेष्ठ
दोलखा — बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीमा दोलखाका भरत बहादुर केसी नियुक्त हुनुभएको छ। लामो समयदेखि जनप्रतिनिधिका रूपमा सक्रिय रहँदै स्थानीय तहदेखि प्रदेश सरकारसम्म विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आउनुभएका केसीलाई भौतिक पूर्वाधारजस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी प्राप्त भएपछि दोलखावासीमा उत्साह देखिएको छ।
केसीको राजनीतिक तथा जनप्रतिनिधिको यात्रा २०५४ सालमा वडा सदस्यबाट सुरु भएको हो। त्यसपछि उहाँले तत्कालीन जिल्ला विकास समिति (जिविस) सदस्यको जिम्मेवारीसमेत सम्हाल्नुभयो। २०७४ सालमा भीमेश्वर नगरपालिकाको नगर प्रमुखमा निर्वाचित हुनुभएका केसीले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएको थियो।
नगर प्रमुखका रूपमा रहँदा उहाँले नगरको समग्र विकाससँगै सडक तथा पूर्वाधार निर्माण, खानेपानी, पर्यटन, शिक्षा, स्वास्थ्यलगायत नागरिकका आधारभूत आवश्यकतासँग जोडिएका विषयलाई प्राथमिकतामा राखेर काम गर्नुभएको थियो।
२०७९ सालमा बागमती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएका केसीले प्रदेश सरकारमा समेत महत्वपूर्ण जिम्मेवारी पाउँदै आउनुभएको छ। २०८२ साल साउन २० गते वन तथा वातावरण मन्त्री नियुक्त हुनुभएका उहाँले ३५१ दिन मन्त्रालयको नेतृत्व गर्दै प्रभावकारी कार्यसम्पादन गर्नुभएको थियो।
वन तथा वातावरण मन्त्रीका रूपमा कार्यरत रहँदा केसीले जनमैत्री वन तथा वातावरण संरक्षणसम्बन्धी विधेयक तयार गरी प्रदेशसभामा पेश गर्ने महत्वपूर्ण कार्य गर्नुभएको थियो। उहाँको नेतृत्वमा कार्यसम्पादनका दृष्टिले वन तथा वातावरण मन्त्रालयलाई प्रदेशकै उत्कृष्ट मन्त्रालय बनाउन सफल भएको दाबीसमेत गरिएको छ।
स्थानीय तहको नेतृत्वदेखि प्रदेशसभा सदस्य हुँदै प्रदेश सरकारका महत्वपूर्ण मन्त्रालय सम्हालिसक्नुभएका केसीसँग विकास निर्माण, नीति निर्माण र प्रशासनिक कार्यसम्पादनको अनुभव रहेको छ। यही अनुभवलाई अब भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत प्रदेशको विकासमा उपयोग गर्ने अपेक्षा गरिएको छ।
विशेषगरी बागमती प्रदेशका ग्रामीण तथा दुर्गम क्षेत्रमा सडक, पुल, खानेपानी, सरकारी भवन तथा अन्य भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने चुनौती उहाँसामु रहेको छ। वर्षौंदेखि अधुरा रहेका आयोजना समयमै सम्पन्न गर्ने, निर्माणको गुणस्तर कायम गर्ने र आवश्यकताका आधारमा योजना छनोट गर्ने विषयलाई मन्त्री केसीले प्राथमिकतामा राख्नुपर्ने देखिन्छ।
दोलखाबाट बागमती प्रदेश सरकारको महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुग्नुभएका भरत बहादुर केसीको अनुभव र कार्यक्षमताबाट प्रदेशको भौतिक पूर्वाधार विकासले थप गति लिने अपेक्षा गरिएको छ। मन्त्री केसीलाई सफल कार्यकालको हार्दिक शुभकामना।

