आमाबुबाको स्मृतिमा भीम माविमा विनोद मास्केद्वारा अक्षयकोष स्थापना।
महेन्द्र श्रेष्ठ
दोलखा । आफ्ना स्वर्गीय बुबा ईश्वरबहादुर मास्के र आमा अमृतकुमारी मास्केको स्मृतिमा भीम माध्यमिक विद्यालयमा पुस्तकालयका आजीवन सदस्य विनोद मास्केले अक्षयकोष स्थापना गर्नुभएको छ।
शिक्षा क्षेत्रमा योगदान पुर्याउने तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अध्ययनमा प्रोत्साहन गर्ने उद्देश्यले मास्केले आमाबुबाको नाममा अक्षयकोष स्थापना गर्नुभएको हो।
अक्षयकोषबाट प्राप्त हुने ब्याज रकमबाट विद्यालयका जेहेन्दार तथा असहाय विद्यार्थीलाई पुरस्कार तथा सहयोग प्रदान गरिने मास्केले बताउनुभएको छ। यसबाट आर्थिक अभावका कारण अध्ययनमा समस्या भोगिरहेका विद्यार्थीलाई प्रोत्साहन मिल्नुका साथै उत्कृष्ट विद्यार्थीलाई थप हौसला पुग्ने अपेक्षा गरिएको छ।
आफ्ना आमाबुबाको सम्झनालाई सामाजिक तथा शैक्षिक सेवासँग जोड्दै अक्षयकोष स्थापना गर्ने मास्केको कार्यलाई विद्यालय तथा पुस्तकालय परिवारले प्रशंसनीय र अनुकरणीय कार्यका रूपमा लिएको छ।
विद्यालय तथा पुस्तकालय परिवारले अक्षयकोष स्थापना गरी विद्यार्थीको शैक्षिक विकासमा सहयोग पुर्याउनुभएकोमा मास्केप्रति हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गरेको छ।
स्वर्गीय ईश्वरबहादुर मास्के र अमृतकुमारी मास्केको नाममा स्थापना गरिएको उक्त अक्षयकोषले उहाँहरूको स्मृतिलाई दीर्घकालसम्म जीवित राख्नुका साथै विद्यार्थीको भविष्य निर्माणमा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
