दोलखामा मासुको अस्वाभाविक मूल्यवृद्धिले होटल व्यवसायी मारमा।
सम्बन्धित निकायको ध्यानाकर्षण गराउन होटल व्यवसायीको माग
दोलखा । दोलखामा मासुको मूल्य अस्वाभाविक रूपमा वृद्धि भएपछि होटल तथा रेस्टुरेन्ट व्यवसायीहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। पछिल्लो समय मासुको मूल्य निरन्तर बढ्दै जाँदा होटल व्यवसाय सञ्चालनमा थप आर्थिक भार परेको व्यवसायीहरूको गुनासो छ।
मासुको मूल्यवृद्धिका कारण होटल तथा रेस्टुरेन्टमा परिकारको लागत बढेको र त्यसको प्रत्यक्ष असर व्यवसायको आम्दानीमा परेको होटल व्यवसायीहरू बताउँछन्। मूल्यवृद्धि नियन्त्रण तथा बजारमा मासुको मूल्यमा एकरूपता कायम गर्न सम्बन्धित निकायले प्रभावकारी अनुगमन गर्नुपर्ने उनीहरूको माग छ।
होटल व्यवसायी अध्यक्ष कुमार श्रेष्ठले मासुको मूल्य अस्वाभाविक रूपमा बढ्दा होटल व्यवसायीहरूलाई प्रत्यक्ष असर परेको भन्दै सम्बन्धित निकायको तत्काल ध्यान जानुपर्ने बताउनुभएको छ। उहाँले बजारमा मासुको मूल्य निर्धारण, आपूर्ति तथा बिक्री वितरणबारे आवश्यक अनुगमन गरी व्यवसायी र उपभोक्ता दुवैलाई सहज हुने वातावरण बनाउन आग्रह गर्नुभएको छ।
अध्यक्ष श्रेष्ठले भन्नुभयो, “मासुको मूल्य अस्वाभाविक रूपमा बढ्दा होटल व्यवसायीलाई मात्रै होइन, उपभोक्तालाई समेत प्रत्यक्ष असर परेको छ। त्यसैले सम्बन्धित निकायले तत्काल बजार अनुगमन गरी मूल्यवृद्धिको कारण पहिचान गर्नुपर्छ।”
होटल व्यवसायीहरूले मासुको मूल्यवृद्धिबारे सम्बन्धित निकायले गम्भीरतापूर्वक चासो दिई आवश्यक कदम चाल्नुपर्ने माग गरेका छन्।
