नेपाली जनताको प्रिय पार्टी नेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौं पूर्ण बैठक २०८१ साल पुस १३ र १४ गते सदरमुकाम चरिकोटमा सम्पन्न भयो । नेकपा एमाले जिल्ला कमिटी दोलखाका अध्यक्ष क. नरबहादुर श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा प्रमुख अतिथि केन्द्रीय पोलिटब्युरो सदस्य एवं दोलखा जिल्ला इन्चार्ज क. पार्वत गुरूङले सम्बोधन गर्नु भएको थियो । केन्द्रीय सल्लाहकार क. डबल पाण्डे र बागमती प्रदेश कमिटी सदस्यहरूको आतिथ्यता रहेको बैठकमा सहभागीहरूले आ-आफ्नो धारणा राख्नु भएको थियो । बैठकले पार्टी निर्माणका सवाल तथा विविध समसामयिक विषयमा निर्णय तथा प्रस्तावहरू पारित गरेको छ । बैठकबाट पारित सार्वजनिक महत्त्वका प्रस्तावहरू तपसिल बमोजिमका छन् ।
१. सम्माननीय प्रधानमन्त्री, नेकपा एमालेका श्रदेय अध्यक्ष केपी शर्मा ओलीको हालै सम्पन्न ऐतिहासिक छिमेकी मित्र राष्ट्र चीन भ्रमणको क्रममा ऐतिहासिक बीआरआई (BRI) सम्झौता भै नेपालमा विकासका दृष्टिले नयाँ युग शुभारम्भ भएकोमा यो बैठक खुसी व्यक्त गर्दछ । साथै, यो सम्झौताको हार्दिक समर्थन गर्दै यथासिघ्र सञ्चालन गर्न जोडदार माग गर्दछ ।
२. दोलखा जिल्लाको विगु गाउँपालिकास्थित लामावगर नाकाबाट छिमेकी राष्ट्र चीन र भारत जोड्ने उत्तर-दक्षिण लोकमार्ग निर्माण गरी नेपाल, भारत र चीनको त्रिदेशीय व्यवसायिक सम्बन्ध विस्तार गर्दा राष्ट्र एवं दोलखा जिल्लाको समृद्घिमा योगदान पुग्ने भएकोले अविलम्व कार्यान्वयन गर्न यो बैठक सरकारसँग जोडदार माग गर्दछ ।
३. दोलखा जिल्लालाई ‘हाइड्रो हव’ को रूपमा विकास गर्दै ‘हाइड्रो टुरिजम’को परिकल्पना मार्फत दोलखा र जनताको समृद्धिमा योगदान पुग्न सक्ने गरी लगानीमैत्री वातावरण वनाउने आजको आवश्यकता हो । उक्त उद्देश्य विपरीत कतिपय परियोजनाहरूले जनगुनासोलाई वेवास्ता गर्दै भ्रष्टाचार¸ अनियमितता र विकृतिको दलदलमा डुबिरहेका छन् । ती हाइड्रोपावरहरूले सार्वजनिक सुनुवाइ समेत नगरी जनतालाई गुमराहमा राखेर प्राकृतिक स्रोतको व्यापक दुरुपयोग गरिरहेकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । दोलखाको सबै हाइड्रोपावर आयोजनाहरूलाई दोलखाली जनताको हितमा सञ्चालन गराउनका लागि अभियान शुरू गर्ने घोषणा गर्दै यो बैठकले प्रस्ताव पारित गरेकोछ ।
४. राष्ट्रकै समुन्नतिमा विशेष योगदान दिन सक्ने बहुआयामिक परियोजनाको रुपमा रहेको र सम्भाव्यता अध्ययन समेत भई सकेको तामाकोसी तेस्रो जलविधुत् आयोजना हालसम्म सञ्चालन नगरी ‘लाइसेन्स होल्ड’ गरेर राख्नुलाई बैठकले गम्भीरतापूर्वक लिएको छ । दोलखाबासीको समृद्धिको भविष्यसँग गाँसिएको उक्त आयोजना पुर्ण क्षमतामा नै सञ्चालन गर्न र नसके सो कम्पनिको लाइसेन्स रद्ध गरि विकल्प खोज्न नेपाल सरकारसँग यो बैठक अपिल गर्दछ ।
५. भीमेश्वर नगरपालिका वडा नं. ९ स्थित खरिढुङ्गा एशियाकै ठुलो मानिएको म्याग्नेसाइट उद्योग तथा खरी खानी रुग्ण अवस्थामा रहेकोले उक्त खानीको परिचालन र सदुपयोग गरी मुलुकको राष्ट्रिय आम्दानी बढाउनका लागि खानी पुनः सञ्चालन गर्न यो बैठक माग गर्दछ ।
६. दोलखाको उत्तरी क्षेत्र विगु गाउँपालिकास्थित आलम्पुमा रहेको स्लेट ढुङ्गा खानी त्यहाँका स्थानीय थामी समुदायले परम्परागतरुपमा जीविकाको साधन बनाइरहेका छन् । सो को व्यवसायिक र आधुनिक रुपमा स्थानीय समुदायको सिपलाई प्रवर्द्धन गर्दै उद्योगको अवधारणामा सञ्चालन गर्न माग गर्दछ । गौरीशंकर संरक्षण क्षेत्रले प्राकृतिक संरक्षणको नाममा आदिवासीहरुको परम्परागत उद्योगलाई बाधा अड्चन नगर्न पनि बैठक सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउँदछ ।
७. दोलखाको सदरमुकाम चरिकोट र जिरीमा विमानस्थल नहुँदा सहज प्राप्त गर्न सकिने मानवीय सेवा सुविधा बाट विमुख हुनुपरेको अवस्था छ । यो विषयलाई ध्यानमा राखेर माउन्टेन फ्लाइट तथा हवाई कनेक्टीभिटी समेतका लागि चरिकोट र जिरीमा विमानस्थल अत्यावश्यक भएको हुँदा तत्काल निर्माण गर्नुपर्ने, साथै दोलखालाई पर्यटकीय जिल्लाको रुपमा घोषणा गरी सो को लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्नका लागि सरकार समक्ष जोडदार माग गर्दछ ।
८. नेपालको पहिलो मास्टरप्लान बनिसकेको प्रस्तावित फिल्मसिटी खरिढुङ्गाको डाङडुङे डाँडामा निर्माण गर्ने कार्य ढिलाई भएकोले दोलखा जिल्लाबासी चिन्तित छौँ । तसर्थ यसको सुसञ्चालनमा विशेष ध्यान दिन माग गर्दछ ।
९. पर्यटकीय प्रचुर संभावाना रहेको जिरी नगरपालिकामा जिरी ताल, विमानस्थल, कृषि फर्म जस्ता आवश्यक पूर्वाधार निर्माण गरी जिरी एकीकृत विकासका अबधारणालाई विशेष ध्यान दिन माग गर्दछ ।
१०. दोलखाको जिरी नगरपालिका र रामेछापको गोकुलगङ्गा गाउँपालिकास्थित खिम्तीखोलामा ठोसे-शिवालय हाइड्याम हाइड्रोपावर निर्माण एवं सञ्चालन गर्न यो बैठक ध्यानाकर्षण गराउँदछ ।
११. दोलखा भीमेश्वर, कालिञ्चोक मन्दिर, शैलुङ्ग, विगु तथा लप्ची गुम्वा, पवित्र गौरीशंकर र च्छोरोल्पा हिमताल समेतलार्ई एकै कोरीडोरमा समेटी धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा विकासका गर्न माग गर्दछ ।
१२. दोलखा जिल्लाको मेलुङ गाउँपालिका वडा नं. ४ स्थित साविक भेडपु गाविसको सम्पूर्ण जग्गा जमिनहरू आफ्नो स्वामित्वमा भएर पनि जग्गाको जग्गाधनी पूर्जा हालसम्म पनि प्राप्त गर्न नसकेको अवस्था छ । जनपक्षीय गुठी ऐनको अभावमा भेडपुका करिब १९ सय घरपरिवारले आफ्नो जग्गाहरू नामसारी, किनबेच, वित्तीय कारोबार लगायत कुनै पनि प्रकारको भोगचलन गर्नबाट वञ्चित छन् । जग्गा धनीपुर्जा नभएका कारण त्यहाँका जनता भूमिहीन सुकुम्बासी सरह पीडित छन् । उक्त स्थानका नम्बरी जग्गा समेत नापी नभएको हुँदा जनता ठुलो मारमा छन् । हालसम्म नापी हुन नसकेको जग्गाहरु तत्काल नापी गराउनुका साथै गुठीबाट जनताको नाममा भूमि हस्तान्तरण गरी पुर्जा वितरण अविलम्ब गराउन यो वैठक माग गर्दछ ।
१३. राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनालाई धरासायी बनाउन विभिन्न षड्यन्त्रहरू भैरहेको, अझै विभिन्न कारणले दोहन र भ्रष्टाचारले जनताको सेयर लगानी व्यर्थ भैरहेकोमा बैठकको गम्भीर ध्यानाकर्षण भएको छ । साथै, दुगर्ड हाइड्रोपावरले तिब्बत नाका खोल्ने सरकारी योजनालाई चुनौती दिदै बाटो खोल्ने नाममा माथिल्लो तामाकोसीको ड्यामसाइडलाई ठूलो हानी नोक्सानी पुर्याइरहेको प्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । राष्ट्रिय गौरवको आयोजना डुबाउने योजना विरूद्ध कार्वाही गर्न यो बैठक जोडदार माग गर्दछ । यसैगरी जनताको माग र आवश्यकतालाई वेवास्त गर्दै विगु गाउँपालिकामा सञ्चालित हाइड्रोपावरहरूले पर्यावरणलाई क्षेती पुग्नेगरी सञ्चालन गरिरहेको जनगुनासो आएकोले यो बैठक सम्बन्धित हाइड्रोपावरहरूलाई जनताको कुनै पनि विषयमा हानी नपुग्ने गरी निर्माण कार्य अघि बढाउन सचेत गराइन्छ ।
१४. गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले हालसम्मको कार्यमूल्यांकन र समीक्षा गर्दै अघि वढ्न आवाह्नन गर्दछ । उक्त आयोजनाले जनताको दैनिक जीविकोपार्जनमा असर पर्ने गरी कार्य गरिरहेको र जनताको समस्याहरूको सुनुवाइ नगरी नागरिकहरु विस्थापित हुने अवस्थामा पु-याइरहेको तर्फ यो बैठक ध्यानाकर्षण गराउन चाहन्छ ।
15. तामाकोशी पाँचौं जलविद्युत आयोजना अपर तामाकोशी हाइड्रोपावर कम्पनी मातहत नै सञ्चालन हुनुपर्नेमा अर्को कम्पनी खडा गरी सञ्चालन गर्नु दोलखाली जनताको हित विपरित छँदैथियो । हाल उक्त कम्पनीले पारदर्शी ढंगबाट काम सञ्चालन नगरी कुनै पनि सार्वजनिक सुनुवाई नगरि जनताको जान्न पाउने अधिकार सम्म कुन्ठित गरी एकलौटी ढंगबाट सञ्चालन हुनुलाई हाम्रो पार्टीले गम्भीर रुपमा लिँदै आएकोछ । उक्त तामाकोशी पाँचौं आयोजनाले जनताको स्वामित्व र सेयर सुनिश्चित गरेर स्थानीयबासीलाई रोजगार लगायत अन्य सेवासुविधाहरु प्रदान गर्दै पारदर्शी ढंगले काम अगाडी बढाउन यो बैठक माग गर्दछ ।
16. खस्कदैँ गएको शैक्षिक गुणस्तर र विद्यार्थी संख्याको कमीका कारण विद्यालयहरु बन्द हुने अवस्था छ । अतः शैक्षिक गुणस्तर अभिवृद्धि र विद्यालयलाई आवाशीय रुपमा एकीकृत गरी दक्ष जनशक्तिको व्यवस्थापन गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न जोडदार माग गर्दछ ।
17. अहिले मुलुककै समस्याको रुपमा रहेको वेरोजगारी समस्या र विदेश पलायन हुने कारण देश गम्भीर संकट तर्फ उन्मुख छ । त्यसैले मुलुकमै रोजगार र अवसर सृजना गरेर युवालाई विदेश पलायन हुनबाट रोक्न सरकारसँग जोडदार माग गर्दछ ।
18. वन्यजन्तु (बाँदर¸ दुम्सी) लगायतले गरिरहेको वाली नोक्सानीबाट किसानहरु मारमा परेकाछन् । कृषकहरुको उक्त समस्याहरु समाधान गर्दै उचित क्षतिपुर्ती र अनुदानको न्यायोचित वितरण गरेर उत्पादन क्षेत्रमा लाग्न अभिप्रेरित गर्ने कार्यक्रम ल्याउन सरकारसँग जोडदार माग गर्दछ ।
19. हालै सम्माननीय प्रधानमन्त्रीको मित्रराष्ट्र चीन भ्रमणका क्रममा मासु निर्यात गर्ने सम्झौताको स्वागत गर्दै दोलखा जिल्लालाई पनि भैँसी¸ राँगा उत्पादन गर्ने क्षेत्रमा समावेश गर्न बागमति प्रदेश कृषि मन्त्रालयसँग जोडदार माग गर्दछ ।
अन्तमा,
नेकपा एमाले, जिल्ला कमिटी दोलखाको यस ऐतिहासिक पाचौं पूर्ण बैठकले पारित गरेको सार्वजनिक महत्त्वका प्रस्तावहरू दोलखा जिल्ला विकासका निम्ति साझा अबधारणाको रूपमा स्थापित गर्न राजनीतिक सहकार्य र समन्वय जरुरी पर्दछ । त्यसका लागि पहल कदमी शुरू गर्दै ‘समृद्ध दोलखा¸ सुखी दोलखाली’को आकांक्षा पूरा गर्न ढृढ संकल्प सहित अघि यो बैठक प्रतिबद्धता जाहेर गर्दछ ।
श्रोत
नेकपा एमाले जिल्ला कमिटी
उपाध्यक्ष राजेन्द्र मानन्धर


