शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

डोल्पा यात्रा संस्मरण

Advertisement
भोला खतिवडा
भोला खतिवडा

नेपालको सवैभन्दा सानो जिल्ला भक्तपुर हो भने सबै ठुलो कुन हो ? हाजिरजवाफमा सामाना गरिराखेको प्रश्न हो । त्यो विशाल जिल्ला पुग्न पाएत भन्ने लागेको थियो । नभन्दै २०६३ सालमा त्यो अवसर पनि मिल्यो ।असार महिना थियो । नेपालको राजधानीबाट हवाइजहाजबाट नेपालगंज पुग्यें । एक रात त्यही वास वसें । भोलिपल्ट हंशवहादुर शाहीले समन्वय गरी व्यवस्था गरेको अर्को हवाइजहाज चढि डोल्पाको जुफालमा रहेको विमानस्थलमा झरेको थिएँ ।ठुलो जिल्ला, ठिन्लेको जिल्ला, शेफोक्सुन्डो ताल भएको जिल्ला, सशस्त्र युद्दमा सवैभन्दा पहिला ध्वस्त भएको सदरमुकाम रहेको जिल्ला,  यार्शागुम्बा धेर पाउने जिल्लाको उपमा पाएको डोल्पा पुग्न संभवत सवैको रहर हुन सक्छ ।

डरलाग्दो विमानस्थल जुफाल र ढलान गरेको घर

नेपालको सबैभन्दा ठूलो जिल्ला डोल्पा भनेको सुनेदेखि नै त्यहाँ पुग्ने सपना मनभरि सजाएको थिएँ । सामुदायिक वन अभियानको सिलसिलामा वि.सं. २०६३ असारमा त्यहाँ पुग्ने मौका मिल्यो । डोल्पा पुग्नु पैदलको विकल्प हवाइजहाज नै थियो । पैदल त कल्पना गर्न पनि सकिन्नथ्यो । सायद सुर्खेतबाटै पैदल हिड्नु पर्दथ्यो होला । अनि पैदल जाँदा आधा महिनाभन्दा बढी लाग्न सक्थ्यो । त्यसैले नेपालगञ्जको राँझा विमानस्थलबाट डोल्पाको जुफालसम्म हवाइयात्राको विकल्प रोजियो । टिकट पाउन मुस्किल थियो । अहिलेका नेकपा एकिकृत समाजवादीका पोलिट्व्युरो सदस्य तत्कालीन फेकोफन डोल्पा अध्यक्ष एवं नेकपा एमाले डोल्पाका प्रमुख हंसबहादुर शाहीको पहुँच र पहलले टिकट मिल्यो ।

मनभरि कौतुहलता र रहर बोकेर जुफाल विमानस्थलमा ओर्लिएँ । पहाडको चेप रहेको विमानस्थल यति साँघुरो थियो कि जहाजको गति नियन्त्रण गर्न रनवेमा खाल्डो पारे जस्तो लाग्दथ्यो । अन्यत्रका विमानस्थलमा हवाइजहाज आउँदैछ भनेर पहिला नै सुनिन्थ्यो । आवाज आउँथ्यो । परैबाट विमानस्थल र विमानस्थलबाट प्लेन देखिन्थ्यो तर जुफालमा त फुत्त पुगेपछि मात्र थाहा हुने रहेछ । दुई पहाडको चेपवाट फ्याट्ट ठूलो खाल्को चरो जसो गरी हजाइजहाज निस्केको जस्तो लाग्दछ ।

सामान्यतय, असारको महिनामा नेपालभर धेरथोर पानी पर्दछ । प्रायः डाँडापाखामा हरियाली देखिन थालेको हुन्छ तर जुफालमा त्यस्तो देखिएन । घरहरु बाक्ला रहेछन् । करिब करिब असनको जस्तो टाँसिएका घरहरु देखिए । झट्ट हेर्दा ढलान गरेका जस्ता घर देखेँ । यति टाढा गाडी नपुगेको ठाउँमा पनि घर पक्की रहेछन् भन्ने मनमा लागेको मात्र थियो । कुरो फरक परी गयो । त्यो त माटाले छाएको घर पो रहेछन् ।

हाम्रातिरका जस्तो करालो छानो हाल्ने चलन रहेनछ । सिमेन्ट ढलान गरेका जस्ता छानो । तर माटोले छापेको । पानी कम पर्ने, हिउँमात्र पर्ने भएकाले चिसो पस्दो रहेनछ । त्यो माटाको छत भनेको आँगन पनि हो । बिस्कुन सुकाउने, लुगा धोएर टाँग्ने अनि घाम ताप्ने त्यही ठाउँ हो । प्रायः घर अगाडि आँगन देख्न पाइन्न । जुफाल एयरपोर्टको नजिकै झुरुप्प घरहरु भएको मनै लोभ्याउने एक गाउँ रहेछ ।

जुफाल विमानस्थलको गेटकै छेउको होटलमा खाना खायौं । शेफोक्सुन्डो राष्ट्रिय निकुञ्जका तत्कालीन प्रमुख वोर्णबहादुर थापासँग मौकावस सहयात्री हुने मौका मिलेको थियो । उहाँ नेपालगञ्ज विमानस्थलमा नै भेट हुनुभएको थियो । चिनजान पनि त्यहीँ भयो । त्यसैले मलाई कता जाने के गर्ने कुनै अलमलमा पर्नु परेन । जुफालदेखि दुनै पुग्न सायद २ घण्टा जति हिंड्नु परेको थियो होला ।

डोल्पा सदरमुकाम दुनै ठूलो भेरी नदीको किनारमा अवस्थित थियो । दुनैमा होटलको मेसो हंशबहादुर शाहीले गरिदिनु भएको थियो । सायद एक हप्ताको बसाइँ भयो होला दुनैमा । डोल्पाका धेरै विशेषताहरु छन् । पहिल्यै सुनेका नै केही थिए । जस्तो सबैभन्दा ठूलो जिल्ला । नेकपा माओवादीले पहिलोपटक सदरमुकाम आक्रमण गरेको जिल्ला । शेफोक्सुन्डो ताल भएको जिल्ला । ओस्कार पुरस्कारका लागि मनोनयन परेको क्याराभान सिनेमा छायाँकन भएको जिल्ला । सोही सिनेमाका नायक थिन्लेको जिल्ला । यी विशेषताभन्दा फरक के के होलान् भन्ने खोजनीति गर्ने रहर थियो ।

थिन्लेसँग भलाकुसारी

डोल्पामा थिन्लेमात्र भन्दा नाम जुध्न सक्ला तर “हिरो” भने डोल्पामा नचिन्ने कोही छैनन् । चलचित्रमा अभिनय गर्दा उनी वृद्ध नै देखिन्थ्ये । तर पनि सबैले हिरो भनेर चिन्थ्ये । हिरो वा नायक भन्नासाथ ठिटो जीउडाल हुनुपर्छ भन्ने मान्यता थिन्लेले खारेज नै गरिदिए ।

थिन्लेको घर डोल्पा जिल्लाको साविक सालदाङ गाविस–५ मा पर्छ । कुनै बेला त्यो ठाउँले विश्वको ध्यान तानेको थियो । ओस्कार जस्तो प्रतिष्ठित पुरस्कारका लागि मनोनयनमा परेको क्याराभान चलचित्रमार्फत नेपाल, डोल्पा र सालदाङको पहिचान ह्वात्तै बढ्यो । यसमा सबैभन्दा ठूलो योगदान थिन्लेको थियो भन्दा गफ छाँटेको पक्कै मानिन्न ।

पहिला डोल्पावासी अनि राजनीतिकर्मी र पछि हिरो भएका थिन्ले पञ्चायतकाल सकिने बेला प्रधानपञ्च थिए । २०५४ मा नेकपा एमालेबाट निर्वाचित जिविस सदस्य भए । पछि शाहीकालमा पनि सोही पदमा मनोनीतसमेत भएका थिए । न्यायोचित विकास, प्राकृतिक स्रोतमाथि जनअधिकारबारे पैरवीमुखी सोचका धनी थिन्लेसँगको कुराकानी र भेटघाटको प्रसङ्ग अहिले पनि ताजा र रोचक अनुभुती गरिरहेको छु ।

क्याराभान नायक थिन्लेलाई भेट्ने ठूलो रहर थियो । यो रहर हंशबहादुर शाहीसँग पोखे । उहाँले आश्वासन दिनुभयो । त्यो आश्वासन पूरा हुने भयो । भेट्ने निर्धारण भएको दिन बिहानदेखि नै छटपटी भयो । विश्वमा नै चर्चित सिनेमाको नायकसँग भेट्ने मौका मिल्दै थियो ।

त्यो छटपटीलाई म बसेको होटलवालाले नियालेछन् । अनि उनले सोधे, “किन तपाई आज छटपटाइरहनु भएको छ ?” मैले खुसी हुँदै भनेँ, म आज थिन्लेलाई भेट्दैछु । उसँग गफ गर्नु छ, फोटो खिच्नुछ । उनले नाक खुम्च्याउँदै भने “त्यो हिरो ? खै भेट्ला र ? उससँग फोटो खिच्दा पनि पैसा तिर्नुपर्छ भन्छन् ।” मैले ए होर भनेँ तर म ढुक्क थिएँ । उनका पनि नेताले भेटाउने चाँजो मिलाएका थिए ।

मलाई थाहा थियो थिन्ले २०५४ सालका स्थानीय निकायको निर्वाचनमा जिविस सदस्य भएका थिए । उनलाई एमालेले टिकट दिएको थियो । नेकपा एमाले डोल्पाको प्रमुखको पहलमा थिन्ले र मेरो भेट हुँदै थियो । यदि पैसा मागेछन् भने पनि पाँच सय रुपैयाँ दिन्छु । बुझेको भर्पाइ लिन्छु । थिन्लेलाई पैसा दिएको भनेर फुर्ति लगाउन मिलिहाल्छ भन्ने कुरा मनमनमा गमी रहेँ ।

हंशबहादुर शाही र म थिन्ले बस्ने घर पुग्यौं । घरको अगाडि ढुङ्गा ओछ्याएका थिए । प्लाष्टिक कुर्सीहरु त्यही थिए । हामी बस्यौं । हामी आएको खबर भित्र पठायौं । केही बेरमा उनी निस्किए । दुई हात जोडेर नमस्कारका भन्यौं । उनले मलाई चिन्ने कुरै भएन तर उनका नेतालाई नचिन्ने पनि कुरा भएन । थिन्लेले हंशबहादुर शाहीलाई केही सोधे । सायद यो मान्छे को हो किन आएको मलाई किन भेट्न खोजेको भने होलान् । स्थानीय भाषामा बोलेका थिए । नेपाली नै बोलेको भए पनि मैले बुझ्न कठिन नै हुन्थ्यो । लवज फरक थियो ।

हंशबहादुर शाहीले थिन्ले र मेरो बीचमा परिचय गराएर पुल बाँधी दिए । हामीबीच गफ गर्न सहज भयो । थिन्लेले काठमाडौंबाट आएको हो ? भन्दै मलाई किन भेट्न खोजेको भने । मैले उनको प्रशंसा गर्दै अलि अलि फूल बुट्टा भर्दै तपाईजस्तो विश्व परिचित मान्छेसँग भेट्न रहर लागेको थियो त्यही रहर मेट्न अलि अलि गफ गर्न अनि तपाईसँग बसेर फोटो खिच्न आएको भनेँ ।

कुनै बेलाका उनका नेतासँग म गएकाले अटेर गर्ने संभावना कम थियो नै । तैपनि उनले मलाई एक शर्त राखे । तिमी लेख्ने पनि गर्दा रहेछौं काठमाडौंबाट आएका भनेपछि तिम्रो संगत देश चलाउनेसँग पनि होला मेरो एक काम गरिदिन्छौ ? भनी सोधे । मेरो देश चलाउनेसँग त्यत्रो संगत कहाँ थियो र ? तैपनि उनीसँग गफ गर्ने फोटो खिच्ने रहर थियो नै ।

गोलमटोल पाराले भनेँ, “मैले के गर्नु पर्यो ?” तिमीले स्वास्थ्य मन्त्री चिनेका छौ ? भनेर सोधे । मैले इमान्दारपूर्वक जवाफ दिएँ “मैले त चिन्छु तर उनले मलाई चिन्दैनन् होला ।” त्यो बेलामा उपप्रधान तथा स्वास्थ्य मन्त्री अमिक शेरचन थिए । तैपनि मैले तपाईको कुरा पत्रिकामा छापेर त्यो एक प्रति मन्त्रीकोमा र एक प्रति तपाईलाई पठाउने काम चाहिँ गर्न सक्छु भनी आश्वस्त पार्ने कोसिस गरेँ ।

थिन्ले बोल्न थाले, “मेरो सालदाङ गाविसका लागि एक स्वास्थ्य चौकी मागेको थिएँ । हुन्छ भने तर दिएनन्, ढाँटे ।” यस विषयमा उनले अलि लामै व्याख्या गर्न आग्रह गरे । उनी केही महिनाअघि काठमाडौं आएका रहेछन् । (त्यो समयमा राष्ट्रियस्तरको टिभीमा उनको अन्तर्वार्ता हेर्ने मौका मिलेको थियो । त्यही अन्तर्वार्ताको आधारमा मलाई पनि उनीसँग गफ गर्ने रहर जागेको थियो ।) उनले काठमाडौंमा भेटघाट गर्दा ज्ञानेन्द्र शाहको शासन नै थियो ।

काठमाडौंमा योजना आयोग, मन्त्रीदेखि जिम्मेवार पदाधिकारीहरुलाई भेटेर साल्दाङ गाविसमा एक स्वास्थ्य चौकी माग गरेका रहेछन् । सायद त्यो बेलामा राजालाई पनि भेटेका थिए कि त्यो कुरा बताउन चाहेनन् । उनले भेटेका सबै पदाधिकारीहरुले अन्तर्राष्ट्रिय हिरोको माग पूरा गरिदिने भनी आश्वासन दिएछन् । उनी खुसी हुँदै घर फर्किएछन् ।

उनी काठमाडौंबाट नेपालगन्ज, दुनैतिर अल्मलिँदै साल्दाङ पुगे । उनीभन्दा पहिला नै साल्दाङमा एक खबर पनि पुगेछ, काठमाडौंबाट । त्यो खबरको व्यहोराले थिन्लेलाई भाउन्न बनाएछ । आशा र भरोषा माथि तुषारापात नै भएछ । साल्दाङ गाविसमा पहिला नै एक स्वास्थ्य चौकी भएको हुँदा कानुनले एक गाविसमा २ वटा दिन वा राख्न नमिल्ने भन्ने खबरको सार रहेछ ।

अनि मैले सोधेँ :   तपाईको गाविसमा स्वास्थ्य चौकी नै छैन ?

एक गाविस एक स्वास्थ्य चौकी वा उपस्वास्थ्य चौकी त नेपालभर हुने कुरा थियो त्यहाँ किन भएनछ भन्ने कौतुहलता थियो, मेरो मनमा । उनले भने, “छ नि” । मैले अलि फुर्ति गरेजस्तो गरी तुरुन्तै प्रश्न गरेँ “किन चाहियो त दुईवटा ? हाम्रोतिर पनि एउटामात्र त हुन्छ नि ।”

पहिला पहिला गाउँको बीचमा पोखरी खन्छु भनी पैसा ल्याउने । नखन्ने । अनि अर्कोले पोखरीमा गाईबस्तु डुबेर मरे, बच्चाहरुलाई पनि खतरा भयो । त्यसैले त्यो पोखरी पुर्ने योजना ल्याएर झ्वाम पारेको कथा सुनिन्थ्यो । त्यस्तै पो हो कि भन्ने मेरो आशंका थियो ।

मेरो प्रश्नले उनी रिसाए । “तिम्रो काठमाडौंको बुद्धि” भनेर गाली पो गरे । म प्रश्न सोध्ने भनेर कस्सिएको उनले पो प्रश्न बर्साउन थाले ।

तिम्रो गाविसमा रहेको स्वास्थ्य चौकी पुग्न कति समय लाग्छ भनेर प्रश्न गरे । मैले भनेंँ “१ घण्टा” । मेरो साल्दाङको मान्छे त्यही गाविसमा रहेको स्वास्थ्य चौकीमा पुग्न कति हिड्नु पर्दछ ? थाहा छ ? भने । मेरो दिमाखले सोचेको भन्दा थपेर १० घण्टा लाग्ला भनेँ । उनले भने तिम्रो बुद्धि भन्दै के के नबुझ्ने गरी गालीको वर्षा नै पो गर्न थाले । “थाहा पाउन मन छ कति लाग्छ मेरो गाविसको मान्छे स्वास्थ्य चौकी पुग्न ?” भनेर प्रतिप्रश्न गरे । मैले थाहा पाउन चाहेको टाउकोले सूचित गरेँ । उनले भने ३ दिन लाग्छ । म छक्कमात्र हैन अवाक भएँ ।

अरु थप सोध्न थाले ।

तिमीहरु सदरमुकाम पुग्न कति घण्टा लाग्छ भने मैले भने, ‘१ घण्टा’ । उनले फेरि थपे साल्दाङको मान्छे सदरमुकाम आउन कति लाग्ला नि ? मेरो अनुमानभन्दा थपेर भनेँ ५ दिन लाग्ला । उनीले झोक्किँदं भने, यो पटक सात दिन घोडामा चढेर यहाँ हिजो आइपुगेको ।

म उनको प्रश्नदेखि अतालिन लागिसकेको थिएँ । अर्को प्रश्न सोधी हाले, “तिम्रो घरबाट मोटर बाटो भेट्न कति हिंड्नु पर्दछ ?” मैले पनि लाग्नेभन्दा एक घण्टाभन्दा पनि बढी थपेर भनेँ, “२ घण्टा” । उनले भने साल्दाङको मान्छेलाई कति लाग्ला ? मसँग अनुमान गर्ने तागत सकिएको थियो र “खै” मात्र भनेँ ।

सुर्खेत पुग्नु पर्दछ मोटर बाटो भेट्नलाई । १७ दिन लाग्छ भने । केही दिन थपेर भने होलान् । तैपनि मेरो कल्पनाभन्दा बाहिरको कुरा हो त्यो ।
अनि टेलिफोन गर्न यही सदरमुकाम दुनैमा आइपुग्नु पर्दछ भन्दै थिए । तिम्रोमा एसएलसी पास गर्ने कति छन् भनी सोधे । मसँग कुनै आँकडा नै थिएन, धेरै छन् भन्ने जवाफ फर्काएँ । उनको सालदाङमा त्यस्ता मान्छे नै छैनन् जस्तो गरे । तिम्रामा त डाक्टर पढेका पनि होलान् नि ? साल्दाङमा त सम्झिने मात्र हो भने ।

उनीले थप प्रश्न गरे “तिम्रोमा चिनी किलोको कति रुपैयाँ पर्छ ?”

मलाई ठ्याक्कै थाहा नभए पनि ६० रुपैयाँ पर्छ भनिदिएँ ।

साल्दाङमा त १८० रुपैयाँ पर्छ भने ।

अनि सोधे, तिम्रो सरकारले हाम्रो साल्दाङ गाविसलाई कति बजेट दिन्छ ?

मैले १० लाख दिन्छ होला भनिदिएँ । उनीले थपे तिम्रोमा नि ? त्यति नै हो भनेँ ।

अनि तिम्रो सरकारले वृद्धभत्ता कति वर्षमा दिन्छ ?

मेरो जवाफ ७० वर्षमा भन्ने थियो ।

अनि कर्णाली अञ्चलका मान्छेको सरदर आयु कति छ ? थाहा छ ? मैले थाहा नभएको सूचकसहित टाउको हल्लाए ।

उनले भने ३९ वर्ष । अनि उनले थपे तिम्रो तिर श्राद्ध गर्ने चलन छ नि ? छ भन्दै टाउको हल्लाएँ । त्यो बेलामा पिण्ड दिने चलन पनि छ नि ? फेरि टाउको हल्लाएँ । अब भन त ? कति वटा पिण्ड खाएपछि हामी कर्णालीवासी वृद्धभत्ता खान लायक हुने ? तिम्रो सरकारको नियमले कर्णालीवासी मरेको ३१ वर्षपछि भत्ता खान लायक हुने रहेछौं भन्दै उनी हाँसे म चाहिँ नीलो कालो भइसकेको थिएँ ।

उनले थपे । यही हो तिम्रो सरकारको सोच ? यो तरिकाले अब तिम्रो गाउँको जस्तो मेरो साल्दाङ कहिले हुन सक्छ ? भने ।

“अब भन त साल्दाङमा २ वटा स्वास्थ्य चौकी चाहिन्छ कि चाहिँदैन ?” अब कति वर्षमा भत्ता दिनुपर्ने होला ? यो तरिकाले सन्तुलित विकास संभव छ ? उनले प्रश्न माथि प्रश्न गरिरहे ।

उनले थप भने, “समान गर्ने तिम्रो सरकार र तिमी वेइमान हौ ।” मसँग जवाफ थिएन । म झरीमा रुझेको बिरालोझै लुतुक्क पर्नुको विकल्प भएन ।

माथि उल्लेख गरेको अनौपचारिक संवाद गरेपछि उनी र म दुवै एक आपसमा खुलिसकेका थियौं । वर्षौ देखिका परिचित जस्ता भैसकेका थियौं । उनी नेपालगञ्जतिर जान हतार छ, आधा घण्टामात्र गफ गरौं भनेका थिए । थप समय गफिन राजी भए ।

उनसँग १० मिनेट जति समय मागेर पत्रिकाका लागि आवश्यक पर्ने एक अन्तर्वार्ताका लागि छोटो प्रश्नहरुको सूची बनाउन लागेँ । त्यस समयमा फेकोफनबाट सामयिक प्रकाशन हुने गर्दथ्यो । त्यो पत्रिकामा छाप्ने सोचका साथ उनीसँगको छलफललाई निरन्तरता दिएँ ।
मेरो पहिलो प्रश्न थियो ।

तपाईको गाउँमा सामुदायिक वन छ ?

छैन ।

तपाईको गाउँ छेउमा वन नै छैन ?

छ, घाँस अलि अलि पाइन्छ तर काठ पाइन्न ।

काठ कहाँबाट ल्याउनु हुन्छ त ?

निकुञ्जको वनबाट । निकुञ्जले पुर्जी दिन्छ । फोक्सुण्डोबाट काठ ल्याइन्छ ।

सामुदायिक वन उपभोक्ता महासंघ भन्ने सुन्नु भएको छ ?

सुनेको त हो तर खासै चासो लिएको छैन ।

वनमा तपाईहरु केही काम गर्नु हुन्न त ?

गर्छौं । हाम्रो मुख्य काम भनेको नै चौरी पालन हो । चौरी पालन गर्दै हिउँदमा जुम्लाको सिमानासम्म पुग्छौं । फेरि उकालो लाग्छौं । चौरी चराउँदा पहिला पहिला पैसा तिर्नु पर्दथ्यो । २ वर्ष भयो तिर्नु परेको छैन ।

कस्लाई पैसा तिर्नु पर्ने ?

खै गाउँलेलाई हो कि निकुञ्जलाई हो मेसो पाइन ।

चौरी चराउँदा केही अप्ठ्यारो पर्दैन ?

परेर के गर्नु ? तपाईलाई भनेर के हुन्छ ? निकुञ्जसँग हानाहानै प¥यो । निकुञ्ज जनताको हुनुपर्ने, कर्मचारीको पो हुँदो रहेछ । कर्मचारी आएर सीमा लगाउँछ । यसो गर उसो गर भन्यो पहिला पहिला निकुञ्जले । एरिक (क्याराभान सिनेमाको निर्माता निर्देशक) लाई पनि निहुँ खोज्यो, दुःख दियो ।

किन निहुँ खोज्यो ?

तपाईसँग निहुँ खोज्न अहिले केही कारण चाहिन्छ ?

तपाईको जिल्लामा जीवन बुटी (यर्सागुम्बा) पाइन्छ रे नि ?

पाइन्छ । हाम्रा गाउँका पनि टिप्न जान्छन् । तर म जान्न । आँखाले देख्दिन । आँखा बूढो भैसक्यो । फेरि जीवनबुटी टिप्ने चलन ८,९ वर्ष अघिबाट मात्र थाहा भएको हो । पहिला चलन थिएन ।

जीवन बुटीको कर तिर्नु पर्दैन ?

तिर्नु पर्ने हो तर तिर्ने चलन छैन । गान्द्राङ्गगुन्दु्रङ्गलाई १,२ सय दिए पुग्छ ।

वनसम्बन्धी नियम कस्तो चाहिन्थ्यो होला ?

मैले भनी होलेँ नि । जनताको निकुञ्ज हुनु पर्ने कर्मचारीको हुँदो रहेछ । यस्तो नियम चाहिन्छ भनेर के भनौं । एउटाले नियम बनाउँछ अर्कोले मान्दैन । त्यसकारण अहिले केही नभनौं ।

केही त मनमा लागेको होला नि ?

मनमा त कति छ कति । स्थायी छैन, स्थायी सरकार छ भने भन्नुस् ? अबको कात्तिकदेखि पौषसम्म काठमाडौंमा बस्छु । त्यही बेला गफ गरौला । भनेरमात्र के गर्नु । अघि नै भनेँ हाले नि, मन्त्री, योजना आयोगलाई भेटेर स्वास्थ्य चौकी मागेको थिएँ । दिएनन् । कानुनले मिलेन भन्दिछन् ।

तपाईलाई राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा सबैले चिन्छन् । विदेशीहरु त खुब भेट्न आउँदा हुन् नि ?

आउँछन् । एरिक पनि गएको फाल्गुणमा आएर भेटेको थियो । काठमाडौं पुगेपछि कता कता लाग्छन् थाहै हुँदैन ।
क्याराभान फ्लीम हेर्दा कस्तो लाग्यो ?

त्यो फ्लीम बनाउन १० महिना काम गरियो । हेर्दा खेरी डर लाग्यो । त्यस्तो पनि गरियो र भने जस्तो भयो । हिउँमा डुबेको, लडेको फ्लीममा हेर्दा पो डर लाग्दो रहेछ ।

फेरि पनि फ्लीम खेल्ने वीचार छ कि ?

अस्ति एरिकसँग भेट्ने बेलामा अब के गर्ने ? काम गरौं भन्दै थियो ।

तपाईलाई टिभी र सिनेमा मात्र देखेको अहिले भेट्ने मौका पाइयो । तपाईको र तपाईसँग बसेर फोटो खिचौं है ?

यत्रो गफ गरिसक्यौं । अब नखिचौं भन्न मिल्दैन होला (हाँस्दै) लौ खिचौं ।

समानताका लागि असमान वितरण

थिन्लेसँगको कुराकानीमा व्यक्त हरेक वाक्य मेरा लागि तिखो वाण नै थियो । थिन्लेसँगको त्यो संवाद पछि मेरो दृष्टिकोणमा रुपान्तरण आएको छ । पैरवीका केही अवधारणा उनले सिकाइदिएका छन् ।

हाम्रा गतिविधिहरु असमान हुन्छन् तर उल्टो सोचका साथ । धनी वा सम्पन्नलाई धेर कमजोर वर्गका लागि थोर वितरण प्रणाली हुने गर्दछन् । समानताका लागि असमानता छैन । असमानताका लागि असमानता नै छ । हदै भएको भए पनि समानमात्र छ । साल्दाङ र सुगम (जहाँ पहिलादेखि नै भौतिक लगायतको पूर्वाधार रहेको छ) ती दुवैलाई बराबरी गरिएको छ ।

विपन्न वृद्धले पाएको भत्ताले उस्को नुन भुटन चिया चिनीमा खर्च गर्दछ तर सम्पन्नले पाएको त्यो पैसा पूजा पाठमा खर्च होला । वा अरु कुनै कार्यमा । सम्पन्नले ज्येष्ठ नागरिक भत्ता जीउनका लागि धेरैले प्रयोग गरेको पाइन्न । विपन्नका लागि सो भत्ता सम्मानपूर्वक बाँच्न सक्ने साधन भएको छ ।

थिन्लेका हरेक विचारमा न्यायोचितलाई जोड दिएको पाइन्छ । उनी भन्दै थिए । हेलिबाट बाकसमा पैसा आउँछ प्लेनबाट नेपालगञ्ज झर्छ । डोल्पामा अडिदैन । अधिकांश सरकारी जागिरे स्थानीय वा जिल्लावासी छैनन् । भए पनि अलिअलि कमाएर तराईतिर बसोबास मिलाइसकेका हुँदा रहेछन् । त्यो बेलामा २३ वटा गाविसको जनसंख्या २९ हजार ५ सयमात्र भएको आँकडा देखाए । उनी भन्दै थिए, जिविस र अर्को एक परियोजनाको बजेट डोल्पावासीलाई भाग लगाउने हो भने प्रतिमहिना प्रतिव्यक्ति १२ हजारभन्दा बढी पर्न आउँछ रे ।

जीवनबुटीको राजश्वमात्र सही किसिमले उठ्ने हो भने ३७ करोड भन्दा माथि उठ्ने आँकडा सुनाए । त्यसको मूल्यको त लेखाजोखा नै छैन । त्यो वर्ष मुस्किलले १० लाखमात्र जीवन बुटीबाट राजश्व उठेको थियो रे । उनमा दिक्दारी थियो । तर आशा मारेका थिएनन् । स्रोतमा पनि कमी छैन भन्दै थिए । खाँचो व्यवस्थापन र नेतृत्वको छ भन्ने उनको धारणा थियो । त्यसैले उनको क्रियाशीलतामा कमी थिएन । कुनै दिन सदरमुकाम दुनैमात्र होइन, उत्तरी डोल्पा सालदाङमा पनि मोटर पुग्नेछ भनेर विश्वास पालेका थिए ।

केन्द्रीकृत सत्तामा मात्र देख्न पाए, उनले । संघीय संरचनाको उपयोग गर्न पाएनन् । विक्रम सम्वत २०७३ सालमा ७४ वर्षको उमेरमा उनको देहान्त भयो । क्याराभान सिनेमा भएको दृश्यजस्तै गरी खच्चडको धक्काबाट घोडासहित लडेर मृत्युको मुखमा पुगे ।

उनीसँगको छोटो कुराकानी मेरो मानसपटल ताजै छ ।मैले धेरै वटा तालिम र गफको प्रसंगमा ठिन्लेसँग भएको कुराकानी भन्ने गरेको छु । मेरो लागि थिन्ले पैरवीका एक गुरु थिए । जस्ले तथ्यसहित भनेका थिए, “समान गर्ने तिम्रो सरकार वेइमान हो” । सरकारमात्र हैन हाम्रा सबैजसो सामाजिक संरचना नै समानभन्दा माथि उठ्न सकेका छैनन् । सबैलाई बराबर गरेमा न्याय हुन्छ भन्ने सोच छ ।

निष्पक्ष बन्नु पर्दछ भन्ने नै छ । सामाजिक न्यायका लागि पक्षपाती र न्यायोचित गरिनु पर्दछ भन्ने चेत अझैसम्म आएको छैन । केही हदसम्म सामुदायिक वनको अभ्यासको सोचले सम्बोधनको कोसिस गरेको जस्तो लाग्दछ त्यो पनि प्रक्रियामा हराइरहेको देखिन्छ ।

हाम्रो सरकार र हाम्रो काम गराइले थिन्लेको आक्रोश मिश्रित दाबीलाई चुनौती दिन सक्ने सामर्थ थिएन । तथापि पछिल्लो अवस्थामा कर्णाली क्षेत्रका नागरिकलाई ६० वर्षमा नै भत्ता दिने भनिएको छ । त्यो चाहिँ समानताका लागि केही हदसम्मको कोसिस भन्न सकिएला ।

अन्त्यमा, झन्डै २ दशक हुन लागिसक्यो, म पुगेको । दोस्रो पटक पुग्ने अवसर मिलेको छैन । धेरै विकास भैसक्यो होला । जे अवस्था भए पनि सामाजिक न्यायका लागि पक्षपाती बन्नु पर्ने अवस्था अझै बाँकी नै छ । समानताका लागि असमान व्यवहार आवश्यक देखिन्छ । कम्तीमा पनि डोल्पा र काठमाडौंलाई एउटै चस्मा लगाएर हेर्ने काम चाहिँ फेर्न पाए पनि हुन्थ्यो ।धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

वन संरक्षणमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : दोलखामा पत्रकारका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

वन संरक्षणमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : दोलखामा पत्रकारका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

वन संरक्षणमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : दोलखामा पत्रकारका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न। महेन्द्र श्रेष्ठ दोलखा,...
आयो फुस्सा” : बजेटमा फेरि ओझेलमा दोलखाको खरिढुङ्गा म्याग्नेसाइट ।

आयो फुस्सा” : बजेटमा फेरि ओझेलमा दोलखाको खरिढुङ्गा म्याग्नेसाइट ।

आयो फुस्सा” : बजेटमा फेरि ओझेलमा दोलखाको खरिढुङ्गा म्याग्नेसाइट । महेन्द्र श्रेष्ठ काठमाडौं — बजेट सार्वजनिक हुनुअघि दोलखाको अलप...
१९ औं गणतन्त्र दिवस : एक वर्षअघि फर्केर हेर्दा चरिकोटका ती दृश्यहरू।

१९ औं गणतन्त्र दिवस : एक वर्षअघि फर्केर हेर्दा चरिकोटका ती दृश्यहरू।

१९ औं गणतन्त्र दिवस : एक वर्षअघि फर्केर हेर्दा चरिकोटका ती दृश्यहरू। महेन्द्र श्रेष्ठ आज फेरि गणतन्त्र दिवस आएको छ । झण्डै दुई...
सिउडाँडा सामुदायिक वनको छैटौँ साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन।

सिउडाँडा सामुदायिक वनको छैटौँ साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन।

सिउडाँडा सामुदायिक वनको छैटौँ साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन। महेन्द्र श्रेष्ठ दोलखा — सिउडाँडा सामुदायिक वन उपभोक्ता...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search