स्व. इन्द्रप्रसाद सुवेदीप्रति नेकपा एमाले भीमेश्वर–२ द्वारा समवेदना
दोलखा — नेकपा कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) भीमेश्वर नगरपालिका वडा नं. २ कमिटी, दोलखा परिवारको आयोजनामा स्व. इन्द्रप्रसाद सुवेदीप्रति भावपूर्ण समवेदना व्यक्त गरिएको छ।
समवेदना कार्यक्रममा भीमेश्वर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठ, वडा कमिटी कार्यवाहक अध्यक्ष शान्त श्रेष्ठ, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य ज्ञानेन्द्र प्रधान लगायत पार्टीका नेता–कार्यकर्ता तथा सुवेदी परिवारका सदस्यहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले स्व. सुवेदीको पार्टीप्रतिको निष्ठा, जनसेवामा पुर्याएको योगदान र स्थानीय विकासमा निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गर्दै उहाँको निधनले पार्टी र समाजले अपूरणीय क्षति व्यहोर्नु परेको धारणा व्यक्त गरे।
स्व. इन्द्रप्रसाद सुवेदी : इमान्दार राजनीति र विकासप्रतिको प्रतिबद्धताको
( जीवनयात्रा)
दोलखा । दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–२, राम्पा निवासी स्वर्गीय इन्द्रप्रसाद सुवेदी नेपाली राजनीतिक तथा सामाजिक जीवनमा सरल, निष्ठावान् र विकासप्रेमी व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो। वि.सं. २००० साल असार ३० गते जन्मनु भएका सुवेदीको वि.सं. २०८२ साल जेठ १५ गते ८२ वर्षको उमेरमा असामयिक निधन भएको हो।
सामान्य किसान परिवारमा जन्मिनु भएका सुवेदीले बाल्यकालदेखि नै परिश्रम, इमान्दारिता र समाजप्रतिको उत्तरदायित्वलाई जीवनको मूल मन्त्र बनाउनु भएको थियो। सीमित शैक्षिक अवसरका बाबजुद पनि उहाँमा राजनीतिक चेतना चाँडै विकास भएको देखिन्छ। यही चेतनाले उहाँलाई जनताको पक्षमा बोल्ने, अन्यायविरुद्ध आवाज उठाउने र समाज परिवर्तनको यात्रामा लाग्न प्रेरित गर्यो।
स्व. सुवेदी २०५४ सालमा दोलखा गाउँ विकास समितिको निर्वाचित उपाध्यक्ष बन्न सफल हुनुभयो। जनप्रतिनिधिका रूपमा उहाँले विकास, सुशासन र जनउत्तरदायी नेतृत्वलाई प्राथमिकतामा राख्नुभयो। त्यसपछि भीमेश्वर नगरपालिका वडा नं. २ को वडा अध्यक्ष का रूपमा निर्वाचित भई स्थानीय विकास, पूर्वाधार निर्माण, खानेपानी, सडक, शिक्षा र सामाजिक एकताका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनुभयो।
राजनीतिक रूपमा उहाँ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का एक निष्ठावान्, अनुशासित र संघर्षशील नेता हुनुहुन्थ्यो। पार्टी संगठन निर्माणदेखि जनस्तरमा विचार विस्तारसम्म उहाँको भूमिका महत्वपूर्ण मानिन्छ। पार्टीका सिद्धान्त र जनताको हितलाई सधैं अगाडि राख्ने उहाँको बानीले उहाँलाई कार्यकर्ता र सर्वसाधारणबीच लोकप्रिय बनाएको थियो।
स्व. सुवेदी सत्तामा हुँदा मात्र होइन, सत्ताबाहिर रहँदा पनि समाजसेवामा निरन्तर सक्रिय रहनुभयो। विकास निर्माणका काममा व्यक्तिगत स्वार्थभन्दा सामूहिक हितलाई प्राथमिकता दिनु उहाँको पहिचान थियो। सरल जीवनशैली, स्पष्ट विचार र निष्कलंक छविका कारण उहाँ सबैको सम्मानको पात्र बन्नुभयो।
८२ वर्षको उमेरमा भएको उहाँको असामयिक निधनले दोलखा मात्र होइन, सिंगो एमाले परिवार र स्थानीय समुदायलाई गहिरो शोकमा डुबाएको छ। उहाँको निधनलाई पार्टीले अपूरणीय क्षतिका रूपमा लिएको छ। नेकपा एमाले दोलखा जिल्ला कमिटी, भीमेश्वर नगरपालिका वडा नं. २ कमिटी तथा दोलखा परिवारले उहाँको योगदानलाई सधैं स्मरण गर्ने जनाएका छन्।
स्वर्गीय इन्द्रप्रसाद सुवेदीको जीवन सरलता, इमान्दार राजनीति र जनसेवाको प्रेरणादायी उदाहरणका रूपमा रहनेछ। उहाँको योगदान र संघर्षले भावी पुस्तालाई पनि जनताको सेवामा समर्पित हुन प्रेरणा दिइरहने छ। पार्टी तथा समुदायले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

