पाखलती जीवन विज्ञानद्वारा आयोजना, योग र ध्यानमार्फत स्वस्थ जीवनशैलीको सन्देश
दोलखा, असार ९ – भीमेश्वर नगरपालिका–२, पाखलतीस्थित आरोग्य जोड नागरिक सेवा केन्द्रमा पाखलती जीवन विज्ञानको आयोजनामा ७ दिने ज्येष्ठ नागरिक शिविर सुरु भएको छ। ज्येष्ठ नागरिकको शारीरिक, मानसिक तथा भावनात्मक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यका साथ शिविर सञ्चालन गरिएको हो।
जीवन विज्ञानको अवधारणाअनुसार सञ्चालन भइरहेको शिविरमा योग, ध्यान, प्राणायाम तथा सकारात्मक जीवनशैलीसम्बन्धी विशेष प्रशिक्षण प्रदान गरिने आयोजक संस्थाकी कोषाध्यक्ष बिना श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार नियमित योग र ध्यानले ज्येष्ठ नागरिकको स्वास्थ्य सुदृढ बनाउन तथा मानसिक शान्ति कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
शिविरमा प्रशिक्षक बिनु श्रेष्ठ, सपना श्रेष्ठ र निर्मला श्रेष्ठले सहजीकरण गरिरहनुभएको छ भने सात दिनसम्म सञ्चालन हुने कार्यक्रमको मुख्य प्रशिक्षण भेखा बहादुर श्रेष्ठले प्रदान गर्नुहुनेछ।
‘‘सुख, शान्ति र समृद्धि’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको शिविरले ज्येष्ठ नागरिकमा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै सकारात्मक सोच, अनुशासित जीवनशैली र आत्मविश्वास विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा जिल्ला संयोजक सुरेन्द्र खड्का, विष्णु बुढाथोकी, सह–संयोजक कल्याण मित्र, सीताराम खड्का, सोममाया श्रेष्ठ, ज्येष्ठ नागरिक सल्लाहकार हकबहादुर श्रेष्ठ तथा प्रमुख अतिथि एवं भीमेश्वर नगरपालिका–२ का वडा अध्यक्ष स्टालीन श्रेष्ठको उपस्थिति रहेको थियो।
उपस्थित वक्ताहरूले नियमित योग अभ्यासले शारीरिक तन्दुरुस्ती, मानसिक शान्ति तथा सकारात्मक सोचको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै ज्येष्ठ नागरिकलाई दैनिक जीवनमा योग र ध्यानलाई अपनाउन आग्रह गरेका थिए। आयोजकले शिविरमा सहभागी भई स्वस्थ, शान्त र समृद्ध जीवनशैली निर्माण गर्न स्थानीय ज्येष्ठ नागरिकलाई अनुरोध गरेको छ।



