दोलखाको पर्यटन उजागर गर्न प्रदेशस्तरीय पर्यटन सम्मेलन आवश्यक : अध्यक्ष श्रेष्ठ
चरिकोट, दोलखा । दोलखाको पर्यटन सम्भावनालाई प्रदेश तथा राष्ट्रियस्तरमा थप परिचित गराउँदै पर्यटन व्यवसायलाई गति दिन प्रदेशस्तरीय पर्यटन सम्मेलन आयोजना गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष कुमार श्रेष्ठले जिल्लाको पर्यटन विकासका लागि सरकार, निजी क्षेत्र, स्थानीय तह र पर्यटन व्यवसायीबीच साझा योजना र सहकार्य आवश्यक रहेको बताएका छन्।
दोलखा प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, ऐतिहासिक सम्पदा, मौलिक संस्कृति तथा साहसिक पर्यटनका दृष्टिले अत्यन्त सम्भावनायुक्त जिल्ला भए पनि उपलब्ध अवसरलाई व्यवस्थित रूपमा प्रवर्द्धन र बजारीकरण गर्न अझै धेरै काम गर्नुपर्ने अध्यक्ष श्रेष्ठको भनाइ छ।
उनका अनुसार गौरीशंकर, रोल्वालिङ–चोरोल्पा, कालिञ्चोक, शैलुङ, जिरी, भीमेश्वर र तामाकोशी लगायतका गन्तव्यलाई एउटै पर्यटन सर्किटमा जोड्दै आकर्षक पर्यटकीय प्याकेज निर्माण गर्न सके पर्यटकको आगमन र बसाइ अवधि दुवै बढाउन सकिन्छ।
“दोलखाको पर्यटनलाई नयाँ उचाइमा पुर्याउन प्रदेशस्तरीय पर्यटन सम्मेलन आवश्यक छ। सम्मेलनले सरकार, स्थानीय तह, पर्यटन व्यवसायी, लगानीकर्ता र विज्ञलाई एउटै मञ्चमा ल्याएर पर्यटन विकासका लागि स्पष्ट योजना र कार्यदिशा तय गर्ने अवसर प्रदान गर्छ,” अध्यक्ष श्रेष्ठले भने।
सम्मेलनमा बागमती प्रदेशका विभिन्न जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यलाई आपसमा जोड्ने पर्यटन सर्किट, सडक तथा अन्य पूर्वाधार विकास, होटल तथा होमस्टेको स्तरोन्नति, नयाँ पर्यटकीय प्याकेज निर्माण, निजी लगानी आकर्षण तथा पर्यटन व्यवसायीका समस्या समाधानका विषयमा ठोस छलफल गर्नुपर्ने उनको धारणा छ।
दोलखामा धार्मिक तथा प्राकृतिक पर्यटनसँगै साहसिक पर्यटनको सम्भावना पनि उत्तिकै बलियो रहेको छ। भीमेश्वर नगरपालिका–२ सोक्लामा रक क्लाइम्बिङजस्ता गतिविधि सुरु भइसकेका छन् भने जिल्लाका अन्य क्षेत्रमा पदयात्रा, ग्रामीण पर्यटन र साहसिक पर्यटन विस्तार गर्न सकिने प्रशस्त सम्भावना रहेको श्रेष्ठले बताए।
उनले प्रदेश सरकार, स्थानीय तह, नेपाल पर्यटन बोर्ड, निजी क्षेत्र तथा पर्यटन व्यवसायीबीच प्रभावकारी सहकार्य र समन्वय हुन सके दोलखालाई बागमती प्रदेशकै प्रमुख पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सकिने बताए।
“अब पर्यटनको सम्भावनाको चर्चा मात्र गरेर हुँदैन। सम्भावनालाई अवसरमा बदल्न स्पष्ट नीति, पर्याप्त लगानी, पूर्वाधार र प्रभावकारी कार्यान्वयन आवश्यक छ। त्यसका लागि दोलखामा प्रदेशस्तरीय पर्यटन सम्मेलन आयोजना गरी साझा प्रतिबद्धता र कार्ययोजना बनाउनुपर्छ,” अध्यक्ष श्रेष्ठले जोड दिए।
दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघले प्रदेश सरकार तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्दै सम्मेलन आयोजना गर्न पहल गर्ने जनाएको छ। सम्मेलन सफल भए दोलखाको पर्यटनलाई नयाँ ढंगले चिनाउन, लगानीको वातावरण सिर्जना गर्न र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
