त्रिविको विषय समिति सदस्यमा गौरीशंकर क्याम्पसका निमित्त प्रमुख फुयाल मनोनीत।
चरिकोट । गौरीशंकर बहुमुखी क्याम्पसका निमित्त प्रमुख बालकृष्ण फुयाल त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्कायअन्तर्गतको अंग्रेजी भाषा तथा अन्य वैदेशिक भाषा शिक्षा विषय समितिको सदस्यमा मनोनीत हुनुभएको छ।
त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्काय डीनको कार्यालयले असोज १३ गतेदेखि लागू हुने गरी रिक्त रहेको सदस्य पदमा फुयाललाई मनोनयन गरेको हो।
त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम, २०५० बमोजिम बाँकी कार्यकालका लागि फुयालसँगै सुकुना बहुमुखी क्याम्पस, मोरङका शंकर देवानलाई पनि विषय समिति सदस्यमा मनोनयन गरिएको छ।
शिक्षाशास्त्र सङ्कायका डीन प्रा.डा. वेदराज आचार्यद्वारा जारी मनोनयन पत्रमा विश्वविद्यालयअन्तर्गतको विषयगत शैक्षिक तथा प्रशासनिक कार्यमा योगदान पुर्याउने उद्देश्यले सदस्यहरू मनोनयन गरिएको उल्लेख छ।
गौरीशंकर बहुमुखी क्याम्पसको नेतृत्व गरिरहनुभएका फुयालको त्रिविको विषय समिति सदस्यमा भएको मनोनयनलाई शैक्षिक क्षेत्रसँगै दोलखाका लागि समेत महत्वपूर्ण जिम्मेवारीका रूपमा हेरिएको छ।

