Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

धर्मनिरपेक्षताको बढ्दो प्रभाव ः फ्रान्सबाट सिकौँ

Advertisement

– समीर सिंह

पृष्ठभूमि

धर्मबाट संविधान प्रभावित हुने कि नहुने ? धर्म, आस्था र विश्वासको कुरा हो कि राजनीति गर्ने साधन ? राज्य, कुनै एउटा धर्मको समर्थनमा उभिने या तटस्थ बस्ने ? यस्ता थुप्रै अन्तर्विरोधपूर्ण प्रश्नहरूका आधारमा अहिले विश्व, ध्रुवीकरण हुँदै गइरहेको अवस्था छ । यस प्रकारको ध्रुवीकरणको प्रक्रियामा एकातर्फ धर्म निरपेक्षता तथा अर्कोतर्फ धर्म सापेक्षताले आ–आफ्नै प्रकारले भूमिका निर्वाह गरिरहेका अवस्था छ । 

धर्म निरपेक्षताले संविधान, धर्मभन्दा माथि हुने मान्यता राख्दछ । धर्मको नाममा राजनीति गर्न नहुने तथा राज्य, कुनै धर्मको पक्षमा उभिन नहुने तर्क गर्दछ । अर्कोतर्फ धर्म सापेक्षताले त्यसको विपरीत धारणा राख्दछ । धर्म सापेक्षताको सिद्धान्तको आधारमा नेपालजस्तो मुलुकमा हिन्दु राज्यको कुरा गरिन्छ । यही सिद्धान्तका आधारमा मुस्लिम देशहरूमा इस्लामिक कट्टरवाद तथा धार्मिक फासिवादले प्रश्रय पाइरहेको अवस्था छ । धर्म सापेक्षताकै आधारमा पोपको साम्राज्य बढ्दै गइरहेको अवस्था छ । धर्म सापेक्षताका कारण नै रोहिङ्ग्या मुसलमानहरू लखेटिन्छन् । यी सबै घटनाहरूलाई हामीले धार्मिक आतङ्कको रूपमा परिभाषित गर्न सक्दछौँ । धर्म सापेक्षताका कारण यस प्रकारका सामाजिक अराजकताको स्थिति उत्पन्न हुने गर्दछ । 

धर्म सापेक्षतालाई त्याग गर्दै धर्मनिरपेक्षतालाई अवलम्बन गरेको एउटा मुलुक हाम्रो देश हो । ०६२÷०६३को जनआन्दोलनबाट त्यस प्रकारको उपलब्धि प्राप्त भएको हो । विश्वस्तमा पनि धर्मनिरपेक्षताको पक्षमा थुप्रै आन्दोलन हुँदै आएका छन् ।

 धर्मनिरपेक्षताको पक्षमा विश्वव्यापी आन्दोलन

सन् १५१७ तीर मार्टिन लुथरले क्याथोलिक चर्चको सुधारको पक्षमा बोल्दै धर्मनिरपेक्षताको मान्यताको बीजारोपण भएको पाइन्छ । १६औँ शताब्दी तीर प्रोटेस्टेट र रोमन क्याथोलिकबीचको ३० बर्से धार्मिक युद्धले पनि थुप्रै नकारात्मक अनुभवहरू प्राप्त भयो । यी सबै अनुभवहरूबाट उदारवादका पिता भनेर चिनिने दार्शनिक जान लाक, यो निष्कर्षमा पुगे, ‘राज्यसित धर्म जोडिदा युद्धहरू झनै चर्किने गर्दछ ।’ 

धर्मनिरपेक्षताका मूल्य मान्यताहरूको विकास हुँदै जाँदा अमेरिकाका पूर्व राष्ट्रपति थोमस जेफरसनले सन् १८०८मा धर्मनिरपेक्षता सम्बन्धी तीन वटा धारणाहरू प्रस्तुत गरे । ती धारणाहरूलाई अवलम्बन गर्दै अमेरिकी संविधानमा संशोधन गर्दै कार्यान्वयन तर्फ अगाडि बढे । उनले अगाडि सारेका तीन मान्यता थिए, १) राज्यबाट धर्म अलग हुनुपर्दछ । २) सबै नागरिक, आ–आफ्नो धर्म मान्न स्वतन्त्र हुनुपर्दछ । तर कसैले आफ्नो धर्मलाई अवलम्बन गर्दा अन्य धर्मलाई चोट पुर्याउछ भने राज्यले हस्तक्षेप गर्नुपर्दछ । ३) धर्मका आधारमा राज्यले भेदभाव गर्नुहुँदैन । यसरी राष्ट्रपति जेफरसनले स्वतन्त्र समाजको लागि चर्च र राज्यबिचको पर्खाल हुनुपर्ने बताए । 

ब्रिटेनले भारतमा आफ्नो उपनिवेश बिस्तार गर्दै जाँदा विभिन्न धार्मिक सम्प्रदायबिच चर्को द्धन्दको अवस्था थियो । त्यस प्रकारको धार्मिक द्वन्द्वको उपयोग गर्दै ब्रिटिसहरूलाई आफ्नो साम्राज्य विस्तार गर्न सहज भइरहेको थियो । त्यस प्रकारको चुनौतीपूर्ण अवस्थामा महात्मा गान्धीले ‘सर्व धर्म सम भाव’को नारा दिए । त्यस्तै जवाहरलाल नेहरुले ‘धर्म, राज्यसित जोडिने नभएर निजी विषय भएको’ बताए । यसरी त्यो बेलाको चुनौतीपूर्ण परिस्थिति तथा भारतमा स्वतन्त्रताको आन्दोलनलाई सशक्त रूप दिन पनि धर्मनिरपेक्षताको विषय अपरिहार्य विषय बन्न गयो ।

फ्रान्समा धर्मनिरपेक्षता 

धर्मनिरपेक्षताको लागि विश्व स्तरमा चलेका विभिन्न आन्दोलनहरूका सन्दर्भमा गौरवमय इतिहास बोकेको एउटा मुलुक फ्रान्स पनि हो । 

फ्रान्सेली क्रान्तिको समयदेखि नै फ्रान्समा धर्मनिरपेक्षताको मान्यता विकास हुँदै आएको हो । राजतन्त्रको अन्त र गणतन्त्रको स्थापनासँगै धर्मनिरपेक्षतालाई एउटा महत्त्वपूर्ण सिद्धान्तको रूपमा स्वीकार गरिँदै आइयो । कुनै समयमा त्यहाँ रोम क्याथोलिक चर्च र पोपको हालीमुहाली हुने गर्दथ्यो । कसैले धर्मको विरोध ग¥यो भने सिधै फाँसी तथा विभिन्न चरम यातनाहरू दिइने गरिन्थ्यो । कोपर्निकस जस्ता खगोल शास्त्रीले ‘पृथ्वीले सूर्यको परिक्रमा गर्दछ’ भन्नु ठुलो दार्शनिक क्रान्ति थियो । न्युटनले गुरुत्वाकर्षणको नियम पत्ता लगाउनु, चाल्र्स डार्विनले जीव विज्ञानको सिद्धान्त पत्ता लगाउनुले त्यहाँको परम्परागत धार्मिक मूल्य मान्यतालाई ठुला चुनौती दियो । आर्थिक क्षेत्रमा भइरहेको परिवर्तन, राजनीतिक अन्तर्विरोध लगायतका भौतिक परिस्थितिहरूले पनि मानिसहरूको दार्शनिक चिन्तनमा गुणात्मक परिवर्तन आउँदै गयो । सन् १९०५मा कानुन बनाएर नै धर्म निरपेक्षताको सिद्धान्तलाई अझ बलियो बनाइएको थियो ।

१६अक्टोबर २०२०का दिन पैगम्बर मोहम्मदको व्यङ्ग्य चित्र देखाएकै कारण १८ वर्षीय मुस्लिम युवकले एक जना शिक्षक शेमुयल पेटीको हत्या गरिदिए । ‘अभिव्यक्तिको स्वतन्त्रता’ को बारेमा पढाउँदै गर्दा साप्ताहिक पत्रिका शाली एब्दोमा प्रकाशित मुस्लिम धर्मगुरुको कार्टुन देखाउँदा उनी प्रति यस प्रकारको अमानवीय व्यवहार गरियो । त्यसको विरोधमा फ्रान्सभरि नै प्रदर्शन भयो ।

फ्रान्सको एउटा स्कुलको इतिहास विषयको शिक्षकको हत्याको घटना, व्यक्तिगत घटना मात्र थिएन । धर्मनिरपेक्षता र धर्म सापेक्षता बिचको चर्कँदो अन्तर्विरोधको परिणाम थियो । फ्रान्समा धर्मनिरपेक्षताले सशक्त रूप लिँदै जाँदा त्यसको फरक मत राख्नेहरू आक्रोशित हुँदै गइरहेको अवस्था छ । त्यसको परिणामस्वरूप नै त्यो घटना भयो । त्यो घटना, राष्ट्रिय स्तरको विषय मात्र नभएर अन्तर्राष्ट्रिय स्वरूप ग्रहण ग¥यो । 

लेसिते(धर्मनिरपेक्षतालाई फ्रान्समा लेसिते भन्ने गरिन्छ)लाई स्वीकार गर्ने कि इस्लाम कट्टरवादलाई मान्ने ? त्यहाँ बहसको विषय बन्दै आएको छ । लेसितेले अन्तर आत्माको स्वतन्त्रताको ग्यारेन्टी गर्दछ । यो प्रणालीले ‘आफ्नो धर्मलाई आफ्नै प्रकारले पालन गर्ने’ अनुमति दिन्छ । तर धर्म, संविधानको अन्तरगत हुनुपर्दछ । धर्मको सन्दर्भमा राज्य तटस्थ हुनुपर्दछ । आस्तिक तथा नास्तिक दुवैलाई लेसिते प्रणाली अन्तरगत आफ्नो अभिव्यक्तिको स्वतन्त्रता हुन्छ । फ्रान्समा दक्षिणपन्थी तथा वामपन्थी दुवैले यो मान्यता स्वीकार गर्दै आएको विषय हो । तर इसाई धर्मालवम्बि पछि दोस्रो ठुलो सङ्ख्यामा रहेका मुस्लिम समुदायका केही कट्टरपन्थी सोचाई राख्नेहरू लेसितेलाई अझ सशक्त बनाउँदै जाने सरकारको नीति प्रति सशङ्कित हुँदै गएका छन् । लेसिते मार्फत इस्लाम धर्ममाथि आक्रमण गरिरहेको उनीहरूको आरोप छ ।

इस्लाम धर्मले महिलाहरूलाई बुर्का(हिजाब)भित्र कैद गर्ने गर्दछ । तर यस प्रकारको कट्टरता लेसितेसँग मिल्दो नभएको फ्रान्सले बताउँदै आएको छ । गणतान्त्रिक मूल्य मान्यतासँग यस प्रकारको हिजाबको कट्टरता सुहाउँदो नभएको  उसको तर्क छ । मुस्लिम महिलाहरू इस्लामका कारण शोषणमा परेका छन् त्यसैले उनीहरूलाई यस प्रकारको दबाबबाट मुक्त गर्नुपर्ने फ्रान्सको मान्यता छ । त्यसको लागि कानुन बनाएर नै धर्मनिरपेक्षतालाई अझ बलियो बनाउने फ्रान्सको उद्देश्य छ ।

इस्लामिक मुलुकहरू, लेसितेलाई अझ बलियो पार्दै जाने फ्रान्सेली सरकारको रुझान ले फ्रान्स र त्यहाँका सामानहरू बहिष्कार गर्ने चर्चा पनि चल्यो । थुप्रै मुस्लिम बाहुल्य देशहरूमा राष्ट्रपति म्याक्रोको विरोधमा प्रदर्शनहरू भए । मुस्लिम बाहुल्य मुलुकहरू कतार, जोर्डेन, कुवेत, पाकिस्तान, इरान, बङ्गलादेश, तुर्की लगायतका देशहरूमा फ्रान्सको विरोधमा प्रदर्शन तथा त्यहाँको सरकारको सामान बहिष्कार गरे । भारतका केही राज्यहरू भोपाल, मुम्बई, अलीगढका मुस्लिम समुदायका मानिसहरू तथा बङ्गलादेशमा हजारौँको सङ्ख्यामा जनता, सडकमा उत्रेर फ्रान्सेली राष्ट्रपतिको पुतला दहन गरे । तुर्कीका राष्ट्रपति अर्दवानले ‘फ्रान्सका राष्ट्रपतिको दिमाग खुस्किएको’ सम्म भन्न चुकेनन् । मलेसियाका पूर्व राष्ट्रपतिले ‘मुस्लिम धर्मको विरोध गर्ने फ्रान्सेलीहरूको ठुलो सङ्ख्यामा हत्या गर्नुपर्ने’ जस्तो अराजक विचारहरू समेत व्यक्त गरे । 

फ्रान्सले विशेष गरेर हवाईजहाजका तथा परिवहनका पुर्जाहरू, कृषि तथा फेसनसम्बन्धी सामानहरू निर्यात गर्दछ । मुस्लिम देशहरूबाट सामानहरू बहिष्कार गरेपछि फ्रान्सको आर्थिक प्रणाली, केही न केही रूपमा प्रभावित भयो । फ्रान्सेली राष्ट्रपति कडा प्रतिवाद गर्दै भने, ‘हामी आतङ्कवादको अगाडि समर्पण गर्नेछैनौ’ । फ्रान्स तथा फ्रान्सेली राष्ट्रपतिको पक्षमा विश्वका विभिन्न देशहरूले समर्थन गरिरहेको सन्दर्भमा पनि धर्म निरपेक्षताको मोर्चा तथा त्यसको पक्षमा आन्दोलन तथा प्रभाव बढ्दै जाने प्रस्ट छ । 

हिंसात्मक आतङ्कवादी क्रियाकलाप बढ्दै जाँदा २९ अक्टोबर २०२०का दिन निस सहरको एउटा चर्च नजिकै तीन जनाको हत्या भयो । हत्या गरिएकामध्ये एक जना ६० बर्से महिलाको घाँटी रेटेर हत्या गरिएको थियो । हत्या गर्ने व्यक्तिले इस्लामको नारा लगाइरहेको थिए । त्यस्तै सोही दिन फ्रान्सेली सहर एवीन्यूमा पनि एक जनाको हत्या गरियो । साउदी अरबको वाणिज्य दूतावासको अगाडि एउटा सू रक्षा गार्डमाथि आक्रमण भयो ।

फ्रान्सको कानुनमा अझ परिवर्तन गर्दै इस्लाम धर्मलाई लेसितेको मान्यता अनुरूप परिवर्तन गर्ने राष्ट्रपतिको भूमिका रह्यो । धर्मभन्दा माथि संविधान हुन्छ । लेसिते गणतन्त्रको धर्म हो, त्यसैले सबै फ्रान्सेली नागरिक संविधान अनुसार अगाडि बढ्नुपर्ने, फ्रान्स सरकारको मान्यता रहँदै आएको छ । अभिव्यक्तिको स्वतन्त्रताकै आधारमा आतङ्क फैलाउन नहुने विषयमा फ्रान्स सरकार दृढ देखिन्छ । त्यसरी आतङ्क फैलाउनेहरूका विरुद्ध कडा रूपमा प्रस्तुत हुने पनि प्रस्ट देखिन्छ । 

 निष्कर्ष

प्रजातन्त्रलाई बलियो बनाउने हो भने धर्मनिरपेक्षता एउटा अनिवार्य सर्त हो । धर्मनिरपेक्षता र प्रजातन्त्र बिच अभिन्न सम्बन्ध रहने गर्दछ । धर्मसापेक्षताले प्रजातन्त्रलाई कमजोर गराउने हुँदा न्यायपूर्ण समाजका लागि धर्मनिरपेक्षता नै उत्तम विकल्प हो । प्रजातन्त्र तथा गणतन्त्रलाई बलियो बनाउँदै जाँदा विश्वका विभिन्न मुलुकहरूमा धर्मनिरपेक्षतालाई अवलम्बन गर्दै गइरहेको प्रस्ट नै छ । प्रजातन्त्रले सबैलाई समान अधिकारको कुरा गर्दछ भने धर्मनिरपेक्षताले धार्मिक समानताको कुरा गर्दछ । त्यसैले न्यायमा आधारित स्वतन्त्र समाजको लागि प्रजातन्त्र र धर्मनिरपेक्षता अभिन्न सम्बन्ध हुनुपर्दछ । न्याय र समानताको दिशामा राज्य तथा समाजलाई अगाडि बढाउने हो भने धर्मनिरपेक्षता पनि एउटा अनिवार्य सर्त हो । 

लेसितेलाई अझ सशक्त बनाउँदै अगाडि बढी रहेको फ्रान्सेली जनताको भूमिकालाई उपलब्धिमूलक नै मान्नुपर्दछ । अभिव्यक्तिको स्वतन्त्रता, फ्रान्सेली समाजको संस्कृति हो । कसैले कुनै धर्मको विरुद्ध मत प्रकट गर्नु पनि अभिव्यक्तिको स्वतन्त्रता हो । शाली एब्दो पत्रिकाले मुस्लिम धर्मगुरुको मात्रै कार्टुन प्रकाशित गर्ने होइन, पोपको पनि त्यसरी नै व्यङ्ग्य कार्टुन प्रकाशित गर्ने गर्दछ । यदि त्यो मन परेन भने पत्रिकाको  विरोधमा प्रदर्शन गर्न सकिन्छ । पत्रिकाको बहिष्कार गर्न सकिन्छ । तर कुनै विचार व्यक्त तथा तस्बिर प्रकाशित गरेकै आधारमा घाँटी रेटेर मार्नु, विभिन्न आतङ्कको स्थिति सिर्जना गर्नु न्यायोचित कदम हुन सक्दैन । 

राष्ट्रपतिले म्याक्रोले ‘इस्लाम धर्म सङ्कटमा छ’ भने । वास्तवमा इस्लाम मात्र होइन, हिन्दु धर्म तथा इसाई धर्म पनि सङ्कटमा छ । कट्टर मुस्लिम धर्मको आधारमा बनेको आइएसआइएसले सिया मुसलमानहरूको नरसंहार गरिरहेको अवस्था छ । तालिवानी आतङ्क जारी छ । यस प्रकारका कट्टरवादीहरूको सन्दर्भमा नै ‘इस्लाम धर्म सङ्कटमा छ’ भनिएको हो । 

मानिसहरूका आधारभूत समस्याहरू प्रति सचेत हुन नदिन हिन्दुत्वको आधारमा राजनीति गर्ने प्रयास गरिन्छ । हिन्दुत्वका आधारमा भोट बैङ्क सुनिश्चित गर्न लक्षित भइन्छ । विश्वव्यापी रूपमा इसाई करणका आधारमा आफ्नो साम्राज्य कायम गर्ने प्रयास गरिँदै छ । यी सन्दर्भहरूमा ‘हिन्दु धर्म तथा इसाई धर्म सङ्कटमा छ’ भन्नुपर्ने नै हुन्छ । 

फेरि पनि धर्मनिरपेक्षताको आन्दोलन जारी छ । यो आन्दोलनको पक्षमा विश्वस्तमा चली रहेका विभिन्न आन्दोलनहरूका सन्दर्भमा फ्रान्सेली जनताको आन्दोलन तथा भूमिकालाई सलाम गर्नुपर्ने हुन्छ । यस प्रकारको आन्दोलनलाई विश्वव्यापी रूपमा अझ सशक्त पार्दै अगाडि बढिरहनुपर्दछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु महेन्द्र श्रेष्ठ दोलखा। दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–२ डोक्थल...
विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष

विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष

विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष महेन्द्र श्रेष्ठ काठमाडौं। एमाले उपाध्यक्...
लगातार तीन दिनको वर्षाले दोलखाका किसान हर्षित, धान रोपाइँले लियो तीव्रता

लगातार तीन दिनको वर्षाले दोलखाका किसान हर्षित, धान रोपाइँले लियो तीव्रता

लगातार तीन दिनको वर्षाले दोलखाका किसान हर्षित, धान रोपाइँले लियो तीव्रता महेन्द्र श्रेष्ठ दोलखा। लगातार तीन दिनदेखि परेको व...
साहित्यिक साधनाको उच्च सम्मान : अग्रज कवि तथा गजलकार जीत कार्की भानु–विद्यापति साहित्य पुरस्कारबाट सम्मानित।

साहित्यिक साधनाको उच्च सम्मान : अग्रज कवि तथा गजलकार जीत कार्की भानु–विद्यापति साहित्य पुरस्कारबाट सम्मानित।

साहित्यिक साधनाको उच्च सम्मान : अग्रज कवि तथा गजलकार जीत कार्की भानु–विद्यापति साहित्य पुरस्कारबाट सम्मानित। महेन्द्र श्रेष्ठ ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search