शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

सुनारनी फुपूको स्तनपान गर्दै हुर्किएका चित्रबहादुर

Advertisement
गोठालो जीवन
वि.सं.१९९७ साल माघ २० गते बागलुङको मल्म गाविस, गल्याङमा जन्मिए, चित्रबहादुर के.सी. । बुवा नरेश्वर उपाध्याय र आमा पार्वती के.सी.को कोखबाट माइलो छोरोको रूपमा जन्मिएका चित्रबहादुरको बाल्यकाल, गोठालो भएरै बित्यो । घरभन्दा केही टाढा रहेको गोठमा १२÷१३ वटा गाई गोरु स्याहार सुसार गर्ने जिम्मेवारी थियो, उनलाई । उनी भन्छन्, ‘८ वर्षको उमेरमा गाई गोठाला भए । दिनभरि जङ्गलमा गाई चराउन जान्थे । अनि बेलुका सबैलाई गोठमा हुल्थे ।’ फुच्चे ८ वर्षको केटोलाई गाई गोरु बाँध्न निकै कठिनाइ हुन्थ्यो । अनि वरिपरि बाटोमा हिँड्ने मानिसलाई रोइ कराई गुहार्थे, उनी ।
एक दिन जङ्गलमा गाई गोरु चराउन गएको बेला पानीमा भिजेर कपडा सबै निथ्रुक्क भएछन् । भिजेको कपडा सुकाउन मुढामा आगो बालेर कपडा सुकाउन झुन्डाएछन् । केटाकेटीको कपडा मयल र पसिनाले नुनिलो हुँदा गाई गोरुलाई एकदम मन पर्ने । सबै गाई बाँधिए पनि कालु गाई बाँध्न बिर्सेको, त्यही गाईले चित्रबहादुरको दौरा खाइदिएछ । यो घटनाले उनलाई निकै चिन्तित बनायो । रातभरि नाङ्गै बसे अनि भोलीपल्ट घर रुँदै घर पुगे ।
 कपडा गाईले खाएपछि के लगाउने ? कपडा सिलाउन केही दिन लाग्थ्यो । अरूको मागेर भए पनि कहिदिनको समस्या टरेको, उनी बताउँछन् ।
दलित बस्तीमा घुलमिल
चित्रबहादुर बस्ने गोठको वरिपरि दलित बस्ती थियो । ती बस्तीहरूमा जे पाकेको हुन्थ्यो, त्यही खाएर उनको जीविका चल्थ्यो । त्यो बेला नुनको एकदमै अभाव हुन्थ्यो । ‘नुन नहालेको सिस्नो, सिम साग पकाएर छिमेकीहरूले दिन्थे, अनि त्यही खान्थे ।’ उनी भन्छन् –‘दलितको घरमा केही खानु अपराध मान्ने प्रचलन थियो । तर त्यति गरिब भएर पनि मलाई एकदमै माया गरेको देख्दा म उनीहरूसँग टाढा हुन सक्दैनथे ।’
गाई गोरुसँग उनको कति माया थियो, त्यसको एउटा घटना सुनाउँदै उनी भन्छन्, ‘बुवाले २५ रुपैयाँमा एउटा कालु गोरु किन्नु भयो । एक दिन गोरु खेतबाट खस्यो । त्यो बेला त गोरु घाइते मात्रै भयो । पछि त्यही गोरु भिरबाट लडेर मर्‍यो ।’ उनी भन्छन्, ‘गोरु बुढो भएर मरेको भन्ने मलाई चेतना भएन । त्यो कुराले मलाई निकै चिन्तित बनायो । म रुँदै घर गए । पछि बुवाले धेरै सम्झाउनु भयो ।’
विद्रोही स्वभाव
आफ्नो विद्रोही स्वभावको बारेमा चर्चा गर्दै उनी भन्छन्, ‘बाहुन गाउँमा कपाल पाल्ने प्रचलन थिएन । तर मैले कपाल पाले । त्यसको धेरै विरोध भयो । भाइ बैनीले पनि मसँग रिस उठ्यो भने मेरो कपाल तान्ने गर्दथे । कपाल पाल्यो भने मुसलमान भइन्छ भन्ने गरिन्थ्यो ।’ उनी भन्छन्, ‘त्यो बेलाको समय र परिस्थितिमा कपाल पाल्नु पनि ठुलो विद्रोह थियो ।’
‘बाहुन गाऊ भएकोले कुखुराको अण्डा खान पनि पाइदैन्थ्यो । कसैले अण्डा खायो भने छिमेकी तथा दाजुभाइले निकै विरोध गर्दथे ।’ चित्रबहादुर भन्छन्,– ‘गाउँको त्यस प्रकारको प्रचलन भए पनि म कुखुराको अण्डा खाने गर्दथे । त्यो पनि एक प्रकारको विद्रोह थियो ।’
सुनारनी फुपू
चित्रबहादुर हुर्केको गाऊ, बाहुन गाऊ भएकोले छुवाछुत प्रथा एकदमै व्यापक थियो । दलितहरूले छोएको नखाने, पानी नचल्ने, सँगै हिँडडुल गर्न नहुने प्रचलन थियो । यती धेरै असमानता हुँदा पनि दलितहरूसँग कसरी यती धेरै हेलमेल भयो भन्दा उनले सुनारनी फुपूको कुरा सुनाए । भन्छन्, ‘एक जना सुनारनी फुपै हाम्रो घरमा काम गर्थिन् । एकदम सिधा र इमानदार । मेरो आमाबाट दूध आउँदो रहेनछ । अनि तीनै फुपैको दूध खाएर म हुर्के । उनले मलाई धेरै दिन आफ्नो दूध खुवाइन ।’ उनी अगाडि भन्छन्, ‘एउटी दलित फुपैको दूध खाएर पनि म दलित जातिसँग बढी घुलमिल भएको हो कि ?’
चित्रबहादुरको साथी भनेको तीनै फुपूको छोरा, जसलाई उनी कान्छा दाइ भन्थे सँग भयो । त्यो दाइ सँग खेलिरहने । फुपैको घर गएर पास, माछा झिक्दै खाने । यसरी नै उनको बाल्यकाल बित्दै गयो । बाहुन गाउँको छुवाछुत प्रचलनले उनलाई कत्ती पनि छोएन ।
१४ वर्षको उमेरमा चित्रबहादुरको पार्वती के.सी.सँग बिहे भयो । उनको आमाको पनि पार्वती अनि दुलहीको नाम पनि पार्वती । बिहेपछि त दलित बस्तीसँग घुलमिल हुनेमा झनै कडाइ हुन्थ्यो । जनै लगाएको, व्रतबन्ध गरेका मान्छे दलितसँग घुलमिल गर्नै हुन्न भनिन्थ्यो । बिहेपछि पनि चित्रबहादुरको दलित घरपरिवारसँग आत्मीयता झनै बढ्यो । उनीहरूको घरमा आउने, जाने, खाने गरिरहे । चित्रबहादुर भन्छन्,‘बुवा आमा रिसाउने गर्नुहुन्थ्यो । जात जान्छ, सँगै हिँड्न हुँदैन भन्नुहुन्थ्यो । तर मेरो मनले कहाँ मान्थ्यो र ।’
काठमाडौँ यात्रा 
वि.सं. २०१४ सालमा उनी भारतको पल्टनको लागि नापिए । एकदमै चौडा छाती भएका हृष्टपुष्ट शरीर भएका चित्रबहादुर छनौट नहुने कुरै थिएन ।  पल्टनमा छनोट भएपछि उनी इन्डिया जाने कुरा थियो । बागलुङ बजार गएर नुन साटेर ल्याउने अनि इन्डिया जाने निधो थियो ।
त्यही बेला केआईसिंह प्रधानमन्त्री भएपछि गलकोट राज्य उन्मुलन गरिदिए । राज्य उन्मुलन भए पनि देवानी अड्डा गलकोट नै हुनुपर्दछ भनेर बिन्ती पत्र चढाउन ६ जनाको प्रतिनिधि काठमाडौँ जाने कुरा भयो । चित्रबहादुरका बुवा गलकोटे राजाका भान्से बाहुन भएकाले उनी पनि प्रतिनिधिमा छानिए ।
चित्रबहादुर भन्छन्, ‘मेरा बा गलकोट राजाको बाहुन भान्से भएपछि आफूलाई ठुलो मान्छे ठान्नुहुन्थ्यो । भरिया नपाएपछि बागलुङ बजारमा नुन साट्न गएको मलाई पोखरासम्म भारी बोकेर जान भन्नुभयो । पोखरा देख्न पाउने भएपछि म पनि खुसी भए ।’ उनी भन्छन्,‘पोखरा पुगेपछि बा ले फेरि काठमाडौँसम्म जाने भन्नुभयो । पोखराबाट काठमाडौँको प्लेन भाडा ६० रुपैयाँ लाग्थ्यो । अनि प्लेन चढेर भाडा काठमाडौँ पुगियो ।’
गलकोटे राजाको घरमा बसाई
काठमाडौँ आएर नक्सालमा रहेको गलकोटे राजाको घरमा उनी बसे । त्यसरी केही दिन त्यहाँ बस्दा गलकोटे राजा, भरत बमको रानी चैतन्यले मेरो बालाई ‘तिम्रो छोरा म पढाई दिन्छु यही काठमाडौँ छोडेर जाऊ भनिन्’ । चित्रबहादुर भन्छन् ‘रानीले भनेपछि बा ले नाइँ भन्ने कुरै भएन । अनि म काठमाडौँ बस्न थाले ।’
‘काठमाडौँ बस्न थालेपछि मेरो दुःखको दिन सुरु भयो । बिहानै देखि राती १२÷१ बजेसम्म भाँडा माझेको माझै गरे । दिउँसो ३ बजे गन्हाउने चामलको भात दिने गर्दथे । काम दिनभरि गराउने तर पेटभरि खान नदिने । पढाउने त कुरै छैन ।’ चित्रबहादुर भन्छन् – ‘त्यो दरबारमा बस्दा मानिसले मानिसलाई कसरी शोषण गर्दछ ? भन्ने थाहा भयो । मान्छे कति रुखो हुन्छ ? कति अन्याय गर्दछ ? भन्ने मैले राम्ररी बुझे ।’
गलकोटे राजाको घरमा बस्दा धेरै दुःख भएपछि चित्रबहादुरले आमालाई ‘म बितरा परे, बाटो खर्च पठाइदिनुस्’ भनेर चिठी लेखे । आमाले कानको सुन पठाइदिनुभयो । त्यो बेच्दा ३९८ रुपैयाँ आयो । चित्रबहादुर भन्छन्, ‘सुन बेचेपछि मलाई घर जान मन लागेन । मलाई काठमाडौँ  मै पढ्ने मन लाग्यो ।’ उनी भन्छन्, ‘स्कुल खोज्दै जाँदा मैलै नन्दी रात्रि स्कुल भेटाए र त्यही भर्ना भए ।
सुन बेचेर आएको पैसा मध्ये ६५ रुपैयाँ घर जाने भाडाको रूपमा चित्रबहादुरले लुकाएर राखे । बाँकी पैसा पढ्नको लागि छुट्टाए । पैसा नसकिँदासम्म काठमाडौँ  मै बसेर पढ्ने उनले निधो गरे । अनि पहिलो वर्षको पढाई सकेर घर गए । दोस्रो वर्ष सकेर फेरि घर गए । तीन वर्षमा उनले एसएलसी पुरा गरे ।
सिद्धिमान सँग सङ्गत र राजनीति 
नन्दी स्कुलमा पढ्दै गर्दा उनको प्युठानका सिद्धिमान जि.सी.सँग सङ्गत भयो । एकदमै माया गर्दथे, सिद्धिमानले चित्रबहादुरलाई । सिद्धिमान राजनीति बुझेको मान्छे थिए । प्युठानको किसान आन्दोलन तथा सदरमुकाम सार्ने आन्दोलनमा सहभागी भैसकेका थिए, सिद्धिमान । तर सिद्धिमानले कहिल्यै चित्रबहादुरसँग राजनीतिको कुरा गरेनन् । । चित्रबहादुर भन्छन्, ‘टुडीखेलमा घाम ताप्न जाने । सिद्धिमानले सुन्तला, बदाम मलाई फोकेर दिने गर्दथे । एकदमै माया गर्दथे । त्यस्तो माया गरेपछि हाम्रो घनिष्ठता एकदमै बढ्यो ।’ व्यक्तिगत घनिष्ठताकै आधारमा सिद्धिमानले चित्रबहादुरलाई राजनीतितर्फ जोड्दै गए ।
२०१४ सालमा पार्टी खुल्ला थियो । हनुमान ढोकामा कम्युनिस्ट पार्टीको कार्यालय थियो । त्यही वर्ष चित्रबहादुरले पार्टी सदस्यता पनि लिए ।  पार्टी सदस्य भएपछि विद्यार्थी सङ्गठनहरूमा पनि काम गर्न थाले । सिद्धिमान र चित्रबहादुर, विद्यार्थी सङ्गठनमा सक्रिय रूपमा लागे । नन्दी स्कुलमा विद्यार्थी आन्दोलन बढाउन उनीहरूको महत्त्वपूर्ण भूमिका रह्यो ।
२०१५ सालमा चित्रबहादुरको मोहनविक्रम सँग भेट भयो । कमलपोखरीमा एक रात मोहनविक्रमसँग सँगै बसेको चित्रबहादुर बताउँछन् । सिद्धिमान र मोहनविक्रमले एकान्तमा खुसुखुसु कुरा गरेको पनि चित्रबहादुरले सुनेछन् । सिद्धिमानले भनेछन्, ‘यो केटालाई राजनीतिमा जोड्यौ भने बागलुङमा सङ्गठन बनाउन सकिन्छ ।’
२०१७ सालमा एसएलसी दिने वेला चित्रबहादुर लगायत वामपन्थी विद्यार्थीहरूलाई वारेन्ट जारी भएका थियो । पुलिसहरू कोठामा आउने दुःख दिने गर्दथे । काँग्रेस विद्यार्थीसँग झगडा भएकाले त्यस प्रकारको वारेन्ट जारी भएको थियो । चित्रबहादुर भन्छन्, ‘राजा महेन्द्रले ०१७ सालको कु नगरेको भए मैले एसएलसी दिने स्थिति नै थिएन ।’
 एसएलसी सकिएपछि चित्रबहादुर बागलुङ फर्किए । स्कुलको मास्टरका साथै राजनीतिको बाँकी जीवन त्यहीबाट सुरु भएको बताउँछ, चित्रबहादुर के.सी.।
(चित्रबहादुर के.सी.सँग कुराकानीमा आधारित)
–समीर सिंह
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
0
+1
1
+1
4
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

राताे मच्छिन्द्रनाथ दर्शन : परम्परा, आस्था र सांस्कृतिक एकताको पुनःस्मरण

राताे मच्छिन्द्रनाथ दर्शन : परम्परा, आस्था र सांस्कृतिक एकताको पुनःस्मरण

राताे मच्छिन्द्रनाथ दर्शन : परम्परा, आस्था र सांस्कृतिक एकताको पुनःस्मरण काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल अभ...
निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, ४७ जना बिरामी लाभान्वित

निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, ४७ जना बिरामी लाभान्वित

निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, ४७ जना बिरामी लाभान्वित सिन्धुली — नेपाल रेडक्रस सोसाइटीको आयोजनामा सामुदायिक आँख...
अभयपुरको मुटुमा झल्किएको परम्परा, सम्झनामा बाँचेको बाल्यकाल

अभयपुरको मुटुमा झल्किएको परम्परा, सम्झनामा बाँचेको बाल्यकाल

अभयपुरको मुटुमा झल्किएको परम्परा, सम्झनामा बाँचेको बाल्यकाल महेन्द्र श्रेष्ठ अभयपुर, दोलखा बजारको सांस्कृतिक धड्कन झल्काउने यो त...
अन्तरक्रिया कार्यक्रम सम्पन्न, ऋण असुली व्यवस्थापनमा कडाइ गर्ने सहमति

अन्तरक्रिया कार्यक्रम सम्पन्न, ऋण असुली व्यवस्थापनमा कडाइ गर्ने सहमति

दोलखा — ६८औँ स्थापना दिवस तथा ६३औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर भीमेश्वर नगरपालिका–२ मा सहकारी संस्थाहरूबीच बृहत् अन्तरक्रिय...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search