– प्रा.ड़ा. श्याम जोशी
०६ कार्तिक, दोलखा । घन्टाको इतिहास धेरै पुरानो भए पनि दोलखामा भने ठुला घण्टाहरु बि. सं. १९०० पछी मात्र स्थापना गरिएको देखिन्छ । भीमेश्वर स्थानमा घण्टा प्रतिस्थापन गर्नेका सन्तानहरुले हाल आएर उसबेलाका झिर्ण घण्टाहरुको स्थानमा नयाँ घण्टा राखेर आफ्ना पुर्खाका पुन्य कामलाइ चिरस्थाई गरेका छन् । केहि बर्ष अघि कर्नेल फ़ौदसिंह क्षेत्रीका सन्तानले यो काम गरेका थिए भने हाल चंद्रबिर बसन्यात क्षेत्रीका सन्तानले गरेका छन् । उहाँहरुको कामले अरुहरुलाई पनि अवश्य प्रेरणा दिने छ ।
दोलखाको प्रशिद्द भीमेश्वरको शिलारुपी मुर्तिको दायाँ, बायाँ र अघिल्तिर भक्तजनहरुले चढाएका साना घन्टीहरु झुण्डाइएका छन् । भिमेश्वरको मुर्तिमा ढोग्नु अघि धेरैजसोले बायाँ हातले बायाँ तिर झुन्ड़ाई राखिएको घन्टी बजाउने गर्छन । त्यस्तै मन्दिर परिसरमा अन्य धेरै साना र मज्यौला खालका घन्टीहरु झुण्डाइएका देख्न सकिन्छ । भीमेश्वर मन्दिर परिसरमा बि. सं. – १८०० पछी मात्र घण्टाहरु स्थापना गर्न थालिएको देखिन्छ । अझ ठुला घण्टाहरु त बि. सं. १९०० पछी मात्र स्थापना गरिएका थिए ।
भीमेश्वर मन्दिरको दक्षिणमा रहेको एक घण्टा मा यस्तो व्यहोराको अभिलेख कुँदिएको छ – श्री ३ भिमेश्वर लाइ प्रसन्न पार्न बि. सं. – १८०८ मा यो घण्टा श्री श्री जय रणजित मल्लदेब महाराजधिराज , पत्नी जय लक्ष्मी देबी , छोरा अजित सिंह भाजु तिन जना ले यो घण्टा चढाएको हो । पश्चिम नाल्दुम देखि पुर्ब दुध कोशी सम्म राज्य जिती अजित सिंह भाजुलाई दोलखाको सारा इलाका जागिर दिएको बेलामा यो चढाएको हो । यो घण्टा चढाउनेले कोटी अस्वमेध यज्ञ, सय राजसुय यज्ञ, हजार कन्यादानको फल घण्टा चढाउनेले पाउछन्।
मन्दिरको उत्तरमा रहेका एक घण्टामा कुँदिएको अभिलेख अनुसार- बि. स. १८५१ मा म गौरीशंकर शर्माले भीमेश्वरलाइ प्रसन्न पार्न चढाएको घण्टा फुटेको हुँदा त्यसको जिर्णोद्वार गरि बि. स. १८६५ मा पुन चढाएको छुं । त्यस्तै मन्दिरको उत्तरमा रहेको अर्को एक घण्टामा कुँदिएको अभिलेख अनुसार सो घण्टा श्रीकाजी रणजंग पान्डेले बि.सं. १८९७ मा श्री ३ भीमेश्वरमा चढाएको हो । मन्दिरको पश्चिम तिर अग्रभागमा रहेका एक घण्टा मा नेवारीमा अभिलेख कुँदिएको छ जस अनुसार भक्तपुर चपाटोलको मिलाको घरका बासल बंजाल दयानन्द , छोरा कृष्ण र नाला घरका भाजमान सिंह ३ जना व्यक्तिहरु मिलि दोलखाका श्री ३ भीमेश्वरलार्इ प्रसन्न पार्न बि. सं. – १८८७ मा चदुवा थान एक चढाएको उल्लेख छ । (धनबज्र बज्राचार्य र टेक बहादुर श्रेष्ठ , दोलखाको ऐतिहासिक रुपरेखा , २०३१) ।
मुख्य मन्दिरको प्रवेशद्वारको पश्चिम तिर अग्रभागमा लहरै ठुलठुला तिन वटा घण्टा झुण्डाइएका छन् । भीमेश्वर मन्दिरमा प्रतिस्थापित यी तिन मुख्य घण्टा बि. सं. १९०० पछी मात्र स्थापना गरिएका हुन् । ति मध्य बायाँ तर्फ रहेका घण्टामा कुँदिएको अभिलेख अनुसार – सो घण्टा बि, सं. १९४३ कार्तिकमा कर्नेल फौदसिंह खत्रीक्षत्री , उनका पत्नी र पुत्र सहितले चढाएको हो । सो घण्टा झिर्ण भएकोले उनका सन्ततिले केहि वर्ष अघि नयाँ घण्टा प्रतिस्थापन गरेका थिए । बिचमा रहेकोका घण्टामा कुँदिएको अभिलेख अनुसार सो घण्टा बि, सं. १९६५ माघमा चंद्रबिर बसन्यात क्षेत्रीले चढाएको हो । दायाँ तर्फ रहेका घण्टामा कुँदिएको अभिलेख अनुसार – सो घण्टा बि, सं. १९६८ जेष्ट मा चंद्रबिर बसन्यात क्षत्रीले चढाएको हो । ( यज्ञ कुमार प्रधान , दोलखाको सांस्कृतिक सम्पदा , २०७३)
अन्य मन्दिरहरुमा जस्तै भीमेश्वर मदिरमा घण्टा चढाउने भक्तजनहरु सबैको मूल उदेश्य भगवान प्रतिको असिम आस्था र प्रिती दर्साउनु र भगवान लाई प्रसन्न पारेर आफु र आफ्नो परिवारको सुख, शान्ति र प्रगतिको लागि आशिर्बाद प्राप्त गर्नु हो भन्ने घन्टामा कुँदिएको पाईन्छ।
भीमेश्वरको मन्दिर शहरको उच्च भागमा रहेकोले दोलखा भरीनै घण्टाको आवाज राम्ररि सुनिन्छ । उसबेला भिमेश्वरको घण्टाले धेरै थरि काम दिएको थियो । केहि बुढापाकामा बिहान सबेरै भीमेश्वरको दर्शन गर्न जाने बानि थियो र उहाँहरुले ढ्वांग घाटा बजाउनु हुन्थ्यो । यसले घण्टाघरको काम गर्ने गर्थ्यो । दोलखा शहर बासीहरुले बिहान उज्यालो भएछ अब उठ्नु पर्छ भने शंकेत पाँउथे ।
भीमेश्वरमा अपरान्हमा रासपुजा भनिने नित्य पुजा गर्दा केहि समय घण्टा र नगरा बजाउने चलन छ । यसको आवाजले सबै संग घडी नभएको समयमा सबैलाई दिन धड्किसकेको ज्ञात हुन्थ्यो । भीमेश्वरमा पसिना आउंदा एकनासले लगातार घण्टा बजाउने चलन छ जसले गर्दा दोल्खाबासी सबैले पसिना आएको तुरुन्त थाहा पाउंछन । बिगतमा भीमेश्वरमा पसिना आउनाले देशमा केहि न केहि अप्रिय घटना भएको अभिलेख भएकोले एकनासले घण्टा बजेपछी सारा दोलखालिहरु ‘अब के हुन लागेको होला’ भनेर सशंकित हुन्छन ।







