
प्राचीन शहर दोलखामा हिले जात्राको पुर्बसंध्यामा लाखे नृत्य आफ्नो उत्कर्षमा थियो शंखद्वनी मिडियाका युबा सम्पादक महेन्द्र श्रेष्ठले खबर प्रेषित गर्नु भयो – “प्राचीन शहर दोलखामा लाखे नृत्य देखाइयो । उपत्यकाबाट लखेटिएका नेवारहरुले आफु जहाँ जहा पुगे त्याहाँ त्याहाँ लाखे नृत्य देखाउने गरेका छन्।“ जुन शहर / बजारका नेवारहरुले लाखे देखाउने गरेका कुरामा दुइ मत छैन तर “लखेटिएका” भन्ने कुरामा कमसेकम दोलखा शहरका नेवारहरुका बारेमा मलाइ उहाँको कुरामा चित्त बुझेन । किनकि दोलखा राज्य मध्यकालमा नेवारहरु को चार राज्य – ललितपुर, भक्तपुर, काठमाण्डौ र दोलखा मध्य एक थियो र उपत्यकाका राज्यहरुको समक्षीक थियो जुन कुरा इतिहास शिरोमणि बाबुराम आचार्यले (नेपालको सांस्कृतिक परम्परा) स्पस्ट संग लेख्नु भएकोछ।
“त्रिशूली र तामाकोसीको बीचमा महाभारत पर्वतमालाको उत्तरपट्टि रहेका काठमाडौं, ललितपुर, भक्तपुर र दोलखा गरी चार मल्ल राज्यहरूका राजाहरू आफ्नो शासनाधिकार भएको क्षेत्रलाई “नेपाल” नै भन्दै रहेका देखिन्छन् । तर पछिबाट दोलखाका राजाहरूले आफूलाई नेपालभित्र नमानेर “दोलखाधिपति” भन्न थाल्दा नेपाल राज्यको सिमाना अझै खुम्चिएर यसको पूर्वी सिमाना सुनकोसी नदी हुन आइपुगेको थियो । काठमाण्डौ मुजियममा रहेको दोलखाको चादीको टकमा “ दोलाखाधिपति” लेखिएको पाइन्छ।“
त्यसैले दोलखाका नेवारहरु काठमाण्डौ बाट लखेटिएका हुन् भन्न कुनै पनि हालतमा मिल्दैन। नेवारहरु कुनै कालखण्डमा उपत्यका बाट लखेटिएका वा भागेका पनि थिए । उपत्यका बाट भाग्ने क्रममा दोलखा शहर पनि पसे होलान् र आश्रय लिए होलान । किनकि दोलखाका २/४ घर परिवारले हाम्रो पुर्खेउली घर भक्तपुर हो भन्छन, काठमाण्डौ या पाटन हो भनेका चै सुनेको छैन ।
उपत्यका बाट भागेका बारे भक्तपुर का बरिस्ट साहित्यकार , नेपालि कांग्रेशका नेता तिलक प्रकाशले यस्तो लेख्नु भएकोछ – ( मेरो व्यथा, मेरो कथा” ) —
“विक्रमको अठारौ शताब्दीमा काठमाडौं उपत्यकाका सम्पूर्ण वैभव आफ्नो हात पारिसक्दा पनि गोरखाका महत्वाकांची राजा पृथ्वीनारायण शाहमा रणराग बाँकी नै रह्यो । कीर्तिपुर आफ्नो मुठीमा आइसके लगतै जनतामाथि अत्याचार गर्न थाले । पृथ्वीनारायण शाहलाई ठूलो रिस भक्तपुरका भाइ भारदार र बुद्धिजीवीहरूमा थियो । तसर्थ युद्धपश्चात् हजारौं भक्तपुरवासीहरू मार्न लगाए । हजारौ मानिसहरू आफ्ना बाल बच्चा तथा महिलाहरूलाई घरमै अलपत्र छाडी आफू पनि खाली हातमा कोही पूर्व, कोही पश्चिम, कोही उत्तर त कोही दक्षिणतिर रातारात पलायन भए। कोही हालको काठमाडौंको नयाँ पाटीमा, कोहि दोलखा, दुम्जा र कोही सिन्धुपाल्चोकको ऐसेलुखर्कमा गएर बस्न थाले । पश्चिमतिर लागेकाहरू धादिङ, नुवाकोट, रसुवा, चितवन, बन्दिपुर, स्याङ्जा, तनहुँ, पोखरा, पाल्पा तानसेन, लमजुङ आदि ठाउँहरूमा बस्न थाले।“
उहाँ यो कुरा लाइ थप स्पस्ट पार्नु हुन्छ –
“हुन त यहाँ काठमाडौं उपत्यकाभित्र एकपल्ट मल्ल राजा भूपतीन्द्रको पुनरागमनमा उनको विरोधमा लागेका र साथ दिएकाहरूलाई देश निकाला गरिएको थियो । दोस्रो पल्ट पृथ्वीनारायण शाहको उपत्यका विजयपछि मल्ल राजाहरूलाई साथ दिने र मतियारहरूलाई मारकाट, देश निकाला या डराएर ज्यान जोगाउन रातारात पलायन भएकाहरू हजारौं थिए । तेस्रो रणबहादुर शाहको पालामा विफर आएको घर परिवारहरूलाई पनि हजारौंको सङ्ख्यामा देश निकाला गरेका थिए।“
इतिहास शिरोमणि बाबुराम आचार्य नेवारहरु मेची देखि महाकाली सम्म फैलनुको कारण यस्तो तर्क दिनु हुन्छ –
मल्लकालको समाप्तिपछि श्री ५ पृथ्वीनारायण शाह र यिनका उत्तराधिकारीहरूले नेवार – मात्रलाई सैनिकमा भर्ना नलिने नियम स्थापित गरेका हुनाले क्षत्रियत्वको दावा गर्ने “छ- थरी” वैशहरू जीवनवृत्ति नपाई अलपत्र पर्न थालेका थिए, तर निजामती कामहरूमा भने भर्ना लिने गरेकाले मेचीदेखि महाकाली सम्मका पाहाड र तराईका अड्डा अदालतहरूमा समेत फैलिन पाएका हुँदा सैनिक – वृत्ति नपाए पनि यिनीहरूले हानि भने कत्ति पनि सहनु परेन । पछी सेनामा लिन थाले पछी मेरो पुर्खा मेज़र धनमान जोशी कुमाउ गडवालमा केहि बर्ष सेवारत हुनु भएको भन्ने प्रमाण भेटिएकोछ । यसले के देखाउछ भने नेवारहरु उपत्यका बाट लखेटिएका मात्र नभएर जागिरको सिलसिलामा देशका बिभिन्न भागमा पुगेर उतै तिर घरजम गरेर बसेको देखिन्छ । उदाहरानार्थ मेरै ठुलो बुबा पनि जागिरको सिलसीलामा भोजपुर पुगेर उतै घरजम गरेर बस्नु भएको र्थियो।
बिसुद्ध नेवार बस्ति दोलखा बाहेक अन्यत्र गएका नेवारहरुले आफ्नो भाषा भुलेका सम्बन्धमा इतिहास शिरोमणि यस्तो भन्नु हुन्छ –
“इ० सं० १७६९ देखि १८०५ सम्ममा केही नेवार नेपाल ब्याँसीबाट भगाइएका वा निकालिएका थिए। यिनीहरू पोखरा, पाल्पा, धनकुटा, डोटी आदि मुख्य बस्तीहरूमा बसेका छन् । यिनीहरूले पनि आफ्नो बोली भुलिसकेका छुन् बा भुल्न तयार भइरहेका छन् । पछि आफूखुशी बसाइ सनें नेवारहरूको पनि यही हाल छ। दोलखा लगायत केहि ठाउँमा भने नेवारहरु मूल घर भएर रहेका हुनाले त्यहाँ नेवारी बोली रहेकोछ ।“

नेवारहरु देश भरिका बस्तिमा फैलिएर बजारहरु बसाएका अर्को महत्वपूर्ण कारण नेवारहरु ब्यापार गर्ने कला र शिपमा निपुण हुनु हो । इतिहास शिरोमणिका नुसार “ श्री ५ बडा महाराज पृथ्वीनारायण शाहले इ० सं० १७६६ मा वर्तमान नेपाल राज्यको जग बसाएर काठमाडौंलाई राजधानी गरी नेपालको पुनः एकीकरण गर्न प्रारम्भ गनुभयो, उस समयदेखि नेपालको विस्तार जोडतोडसंग बढदै गएर इ० सं० १७९२ सम्ममा पूर्वपट्टि टिस्टा नदीसम्म, पश्चिमपट्टि अलकनन्दा नदीसम्मको भूभाग नेपाल कहलायो र इ० सं० १८०५ मा पश्चिमपट्टि सतलजसम्म नेपालको सीमाना पुग्यो ।
नेपालको एकीकरण संगै देसको आकार मात्र बिस्तार नभएर बजार पनि बिस्तार भयो । ब्यापार गर्न निपुण नेवारहरु देशका बिभिन्न भागमा गएर ब्यापार गर्न थाले र उतै घरजम गरेर बस्न थाले । दोलखामा पनि भक्तपुर, पाटन, बनेपा र धुलिखेल बाट त्याहाका रैथाने बाहेक नेवारहरु ब्यापार गर्न आएका थिए । कुनै कुनै परिवारका संतान अहिले पनि भेट्न सकिन्छ । स्मरणीय छ २५ बर्ष सम्म नेपालको अधिनमा रहेको कुमाउको पिथोरागरमा पनि दोलखामा जस्तै भदौ महिनामा हिल जात्रामा त्याहाँको लोकप्रिय लाखे नाच देखाइन्छ जसलाई त्याहाँ “लखिया भूत” भनिन्छ। शायद यो जात्रा त्याहाँ पनि नेपालीले चलाउन थालेकाहुन् Ω Ω
