शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

भोटखोलाको यात्रा संस्मरण

Advertisement
भोला खतिवडा

हामी सदरमुकाम आसपास वस्नेहरुलाई सडक नपुगेको गाउँपालिका छैनन् होला जस्तो लाग्न सक्दछ । तर अझै धेरै वटा स्थानीय तहको केन्द्रमा हिउँद वर्षाक नैं गाडी चल्न सक्ने अवस्था छैन । त्यस मध्येको एक कोशी प्रदेश संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका पनि हो । मैले संखुवासभा जिल्ला टेक्ने मौका पाएको थिइन । २०८१ सालको बडा दशैं र तिहारको विचमा त्यता जाने मौका मिल्यो । त्यहि सेरोफेरोमा रहेर यो यात्रा संस्मरण लेख्ने कोशिस गरेको छु ।

‘भोटखोला’ नामले नैं उत्तरी क्षेत्र तिव्बतसँग जोडिएको होला भन्न पनि सकिएला । भोटबाट आएकाहरुको बसोबासको क्षेत्र होला भन्ने कुरा पनि मनमा आउन सक्छ । नेपालमा रहेका ७५३ पालिका मध्ये संखुवासभा जिल्लामा १० वटा पर्दछ । त्यस मध्येको उत्तरी क्षेत्रमा रहेको भोटखोला एक गाउँपालिका हो । भोटखोलामा पुग्नकोलागि यतिबेलासम्म पैदलको विकल्प छैन । तर संभावनाको खानी छ । कालो सुन र सेतो सुनको प्रचुर उपलव्धता छ । यहाँको चलन चल्तीको भाषामा कालो सुन भनेको अलैंची हो भने सेतो सुन भनेको हाइड्रोपावर हो ।

यात्राको मेसो
नेपालका ७० वटा भन्दा वढि जिल्लामा टेक्ने अबसर मिलिसकेको छ । तर कोशीका २ वटा जिल्लामा पुग्ने मौका मिलेको थिएन । यस पटक सहकर्मी छिन्डुम मेनक्पा भोटेले मेसो मिलाउने कुरा गर्नु भयो । भोटेसँग मेरो सगत भएको एक दशक भन्दा वढि भैसक्यो । उहाँ नयाँ नयाँ काम सिर्जना गर्ने अति महत्वकाँक्षी जस्तो लाग्ने तर गरि छाड्ने खाल्को मानिस हु्नुहुन्छ । उहाँले २ वर्ष अघिबाट सिके रिसर्च एण्ड ग्रिनरी प्रमोशन प्राली नामक कम्पनी वनाई नयाँ नयाँ काम गरिरहनु भएको छ । त्यस मध्येमा एक निजि जग्गामा विरुवा लगाउने र हेरचाह गरी हुर्काउने काम जस्तो मलाई अनौठो लाग्ने काम गरिरहनु भएको छ । गत बर्ष सुदूरपश्चिम प्रदेश सरकारसँगको सहकार्यमा धनगढी देखि खप्तडसम्म साइकल यात्रा पनि गराउनु भएको थियो । यस्ता अनौठा अनौठा सोचहरु सुनाइरहनु हुन्छ ।

 

सिर्जनशिलता सहितको जोश भएका उही छिन्डुम मेनक्पा भोटेले केही महिना अघि म पश्चिम नेपाल तिर कुनै कार्यक्रमको सिलसिलामा हुँदा अनलाईनमा सानो छलफल गरौं भनि आग्रह गर्नु भयो । भोटे, सन्ध्या लिङ्थेप र म विच अनलाइन छलफल भयो । भोटखोला गाउँपालिकाका जनप्रतिनिधिहरुलाई क्षमता अभिवृद्धिकोलागि तालिम सञ्चालनको विषयमा छलफल रहेछ । यही छलफल नैं कोशीका म पुग्न वाँकी २ जिल्लामा पुग्ने सुत्राधार बन्यो ।
दशैं तिहारको विचमा भोटखोलामा तालिमको लागि जाने तिथीमिति तोक्ने सल्लाह भयो । छिन्डुम मेनाक्पा भोटेले पालिकाको प्रमुख वाङ्छेदर भोटे लगायतको टिमसँग समन्वय गरी कार्तिक ९ देखि ११ सम्म गर्ने निधो भयो । त्यही अनुसार हामी तयारीमा जुट्यौं । पहिलो पटक संखुवासभा पुग्दै थिएँ । मसँग उत्साह थियो । मलाई यहि मौकामा भोजपुर पनि टेक्न पाए कोशी प्रदेशका सवै जिल्ला पुगेको भन्न पाइन्थ्यो भन्ने लागिरहेको थियो । यहि आशय भोटेसँग राखें । उहाँले केही प्रतिक्रिया जनाउनु भएन ।

नपुगेको जिल्लामा पाइलो
कार्तिक ६ गते काठमाडौंबाट तुम्लिङ्गटार वुद्धको विमानबाट उडियो । छिन्डुम भोटे, सन्ध्या लिङ्थेप, जोजो भुटिया र म सहित हामी ४ जना थियौं । म पहिलो पटक पहाडी जिल्लाकोलागि वुद्ध एयरको विमानमा यात्रा गर्दै थिएँ । संयोगले मेरो सिट हिमाल देख्ने तर्फ झ्यालको छेउमै थियो । मौसम खुल्ला थियो । रमाइलो मानि हेरिरहें । चरिकोट बजार देखें । चरिकोट वजार माथिको भ्युटावर छ्याङ् देखियो । त्यसै गरी ओखलढुङ्गा वजार रुम्जाटार विमानस्थल पनि चिनें । भोजपुर बजार र अलि तल रहेको ठाडो खाल्को विमानस्थल देख्दा पुगौं पुगौं जस्तो लाग्यो । कफ्सन नेपालको अध्यक्ष विना श्रेष्ठले भोजपुरको वयान गरेको अनी आफ्नो माइत बजार भन्दा तल एयरपोर्टको छेउमा छ भनेकोले मैले अनुमान गर्न सकें भोजपुर भनेर । अनी छेउमै रहेको छिन्डुम मेनाक्पावाट समेत पुष्टि गराएँ । यात्रा अवधी भर नैं उत्तरवाट दक्षिण वगेका रमाइला नदीहरु प्रशस्तै देख्न पाइन्थ्यो । करिव ३५ मिनेटको यात्रा पछि संखुवासभामा रहेको एक मात्र विमानस्थल तुम्लिङटार उत्रियौं । यो विमानस्थल अरुण नदीको नजिक नजिक रहेछ । पहाडी क्षेत्रको यती विशाल विमानस्थल देखेको थिएन । रनवे नैं धेरै ठुलो लाग्यो । त्यही भएर त वुद्धको एटिआर ७२ विमान आउँदो रहेछ ।

विमानस्थलमा केही फोटो खिच्यौं । किनकी म पहिलो पटक यस जिल्लामा टेकेको थिएँ । केही संझनाहरु संगाल्नु थियो । विमानस्थलबाट वाहिर निस्क्यौं । छिन्डुमले एक अटोको व्यवस्था गरी जाउँ भन्नु भयो । केही पिच केही कच्ची हुदै ओरालो ओरालो अरुण नदी तिर हामी लाग्यौं । फोनबाट खानाकोलागि अर्डर गरि रहनु भएको थियो ।

केही मिनेटको यात्रामा ‘वारीजमुना पारी जमुना विचमै मनकामना’ भन्ने गित सुन्नु भएको छ भन्नु भयो । मैले खेमराज गुरुङ्गले गाएको गित हो भनें । त्यो ठाउँ यहि हो भन्नु भयो । केही पिपलका रुखहरु फेदमा रातो रङ्ग लगाएका थिए । आज पूजा गर्ने दिन रहेछ, राँगा, बोका काटेर त्यही भोज तयार हुँदै थियो । म रमाइलो मान्दै हेर्दै थिएँ । यो स्थान अरुण नदीको किनारमै थियो । हाम्रो अटो रोकिएन फर्केर आउँदा हेरौंला फोटो खिचौंला भन्दै हामी वढ्यौं । अली अगाडी वढे पछि झोलुङ्गे पुल नपुग्दै हाम्रो अटो रोकियो । अरुण तर्ने पक्की पुल नभएको तर गाडी तार्न ‘फेरी’ रहेछ । ४ वटा जती वोलेर हाली तार र सामान्य इन्जिनको सहायताले खोला तारिँदो रहेछ । यस्तो दृश्य प्रत्यक्ष देख्न मौका मिलेको थिएन । यो यात्रामा जु¥यो ।
हामी खोलापारीको यात्रा धेरै लामो नभएकोले हामी झोलुङ्गे पुलबाट अरुण त¥यौं । भोजपुर पुग्यौं । मलाइ भोजपुर टेक्ने मेसो मिलाइदिनु भएको रहेछ । भोजपुरको षडानन्द नगरपालिका वडा नं ६ को सतिघाट पुग्यौं । त्यहाँ राजकुमार घिमिरे जो नेकपा एमाले संखुवासभाको नेता पनि हुनुहुँदो रहेछ, उहाँले मकालु हिमालयन एग्रोटुरिजम रिसोर्ट खोल्नु भएको रहेछ । १ सय ७ रोपनी जग्गामा मान्छेहरु लोभ्याउने संरचनाहरु वनाएको रहेछ । पोखरी, माछा पालन, गाइ तथा कुखुरा पालन, तरकारी खेती, रुद्राक्षको विरुवा रोपन, वोटिङ्ग, एक ठुलो ढुँगामा शिवको मुर्ति त्यहाँ पुग्न पुल, विभिन्न जनावरहरुको मुर्ति, फूल वगैचा सजिएको, रोटे र लि¬ङ्गे पिङ अनी रिसोर्ट पनि । त्यहाँ प्रवेश गरेको रु ५० लाग्दो रहेछ तर रिसोर्टको पाहुना भएमा निशुल्क । हामी खानाखाने गरी त्यहाँ गएकोले प्रवेश शुल्क तिर्नु परेन । घुम्दै फोटो खिच्यौं । लोकल कुखुराको मासु र खाना आयौं । महँगो पनि त्यती धेरै लागेन । प्रति खानाको रु ४५० को दरले विल आयो ।
भोजपुर जिल्ला टेक्ने रहर पूरा गरी झोलुङ्गे पुलवाट अरुण तरियो । संखुवासभा तिर लाग्यौं । हिड्दै मनकामनामा पुग्यौं । त्यहाँ भोज खाइरहेका थिए । हामीले अवलोकन ग¥यौं । फोटो खिच्यौं । हिड्दै तुम्लिङ्गटार तिर हानीयौं । बाटोमा एक वहिनीले अटो हाँकेर ल्याइन् । अनी हामीले खाँदवारी लैजाने हो भनेर सोध्यौं । प्रति व्यक्ति २ सयको दरले भाडा तिरेर हाम्रो यात्रा उकालो लाग्यौं । चालक वैनी आँटिली रहिछिन् । भोजपुर तिर घर भएकी वहिनीले ४ वर्ष अघि देखि यहाँ अटो चलाइरहेकी रहिछन् । रमाइलो गफ गदैं करिव १३ किमि यात्रा पार गरी पहिले नैं तय गरिएको खाँदवारी स्थीत भेनस होटलमा हामीले झोला विसायौं ।

गोलासम्मको यात्रा
२०८१ कार्तिक ७ गते विहान ७ वजे एक वोलेरबाट भोटखोला तिर लाग्यौं । ८ घण्टा जती गाडीमा त्यस पछि ४ घण्टा पैदल गर्नु पर्ने कुरा मलाई जानकारी गराइएको थियो । मेरोलागि सवै स्थान नयाँ थिए । बाटोमा चिया पिउँदै फलफूल खाँदै अगाडी वढ्यौं । ठाउँ ठाउँमा छिन्डुम भोटेका चिनजानका साथीहरु भेटिन्थ्ये संक्षिप्त कुराकानी हुन्थ्ये । मानेभञ्ज्याङ्ग हुँदै च्यान डाँडा गएर खाजा खायौं । त्यहाँको थुक्पा चाउचाउ असाध्यै स्वादिलो हुने रहेछ । अकवरे खुर्सानीको स्वादमा जिव्रोमा नैं झुण्डीने खाल्को थियो । हामी खाना खान मकालु गाउँपालिकाको केन्द्र ‘नुम’ भन्ने स्थानमा पुग्यौं । मकालु गाउँपालिकाको भवन तिर केही बेर घुम्न गयौं । फोटो खिच्यौं ।


मकालु गाउँपालिको उवा भन्ने स्थानमा अन्तरपालिका स्तरीय फुटवल खेल चलिरहेको रहेछ हामीले पनि केही वेर खेल हे¥यौं । हाम्रो गाडीमा म बाहेक सवै भोटखोलाकैं हुनु भएको र हामी पुगेको बेला भोटखोला कैं टिम खेल्दै रहेछ, तेस्रो स्थानकोलागि । त्यही भएर केही समय हामी अल्मलियौं । त्यो खेल भोटखोलाको टिमले नैं जित्यो । फाइनल खेल भने हामीले नहेरी अगाडी वढ्यौं ।

कालु गाउँपालिका क्षेत्र पार गरे पछि भोटखोला गाउँपालिका प्रवेश गरियो । सो पालिकाको वडा नं. ४ को गोला भन्ने स्थानमा पुगि हामीले हाम्रो गाडी छाडी त्यही वास बस्ने निधो ग¥यौं । हुनत करिव १ घण्टाकोसम्म गाडी अगाडी जानसक्ने थियो । तर पनि हामी बस्ने निधो हाम्रो टोलीको अगुवाइ छिन्डुमले गर्नु भयो । हामीले तुम्लिङ्गटारको विमान स्थल झर्नु भन्दा केही पहिला देखि नैं अरुण नदीलाई पछ्याएका थियौं । गोलासम्म पुग्दा सम्म अरुण नदीको विपरित दिशा तिर हिडीरहेका थियौं । अरुण नदी दक्षिण तिर झर्दै थियो हामी उत्तर तिर लाग्दै थियौं । अरुण नदीमा विभिन्न जलविधुत् आयोजनाहरु निर्माण भएका र निर्माणाधिन भेटिन्थ्ये । अरुण तेस्रो चर्चित जलविधुत् आयोजना हामी बाटामा नैं भेट्यौं । गाडीमा दौडादा दौडदैं देख्ने मौका पायौं ।
भोटखोला गाउँपालिका वडा नं. ४ मा रहेका होम स्टेमा वास वस्ने निधो भयो । त्यहाँ रहेको अपर अरुण जलविधुत् आयोजना आदीवासी जनजाती सल्लाहकार परिषद्को कार्यालयमा पुग्यौं । सो संस्थाको अध्यक्ष लादार भोटे र कार्यक्रम संयोजक रिधार सिरु भेच्यावा भोटेसँग अन्तरक्रिया ग¥यौं । केही रोचक विषयहरु पाइयो ।

अपर अरुण जलविधुत् आयोजना
अपर अरुण जलविधुत् आयोजना भोटगाउँपालिकामा पर्दछ । यो अर्धजलासययुक्त आयोजना हुने आंकलन गरिएको छ । यसको १ हजार ६३ मेगावाट क्षमता रहेको छ । यो जलविधुत् आयोजनाकोलागि अपर अरुण हाइड्रोइलेक्ट्रिक लिमिटड नामक कम्पनी स्थापना भएको छ । अपर अरुण जलविधुत् आयोजना सञ्चालन हुँदा प्रत्यक्ष असर पर्ने भोटखोला गाउँपालिका वडा नं. २ देखि ५ सम्मका २२ वटा गाउँहरु पहिचान भएका छन् । विश्व वैंकको सहयोगमा आदिवासी जनजाती महासंघले ती गाउँलेहरुसँग छलफल गरेछ ।

यहाँका १ हजार ३ सय ३३ घरधुरी परिवार प्रत्यक्ष प्रभावित हुने देखियो । जलविधुत् आयोजना तयारीको चरणमा नैं स्वतन्त्र पूर्व र सुसूचित सहमतीको वारेमा परामर्श छलफल भयो । जलविधुत् वनाउने तर त्यसवाट आदीवासी जनजातीलाई पर्ने असर सम्वोधनकालागि काम गर्ने कार्यहरुको सूची तयार भयो । सूची मात्र तयार भएन, त्यो कार्य सञ्चालन गर्नकालागि आदिवासी जनजातीहरुको एक संस्था नैं गठन भयो ।

स्वतन्त्र, पूर्व र सुसूचित सहमती
२२ गाउँका १ हजार ३ सय ३३ घरधुरी परिवारवाट विभिन्न १० वटा आधार क्षेत्र वनाएर १ सय ५८ प्रतिनिधिहरु चयन भएछन् । लामा, विपन्न, शिक्षक, महिला, सामुदायिक वन, स्वास्थ्य क्षेत्र जस्ता १० वटा विषयगत क्षेत्र निर्धारण गरिएको रहेछ । त्यो १ सय ५८ जनाको समूहलाई साधारण सभाको नाम दिइएछ । यो हरेक वर्ष वैठक वस्ने नियम वनाइएछ । ती मध्येवाट ४४ जना सञ्चालक वोर्ड चयन भए । अनी ४४ जना भित्रवाट ६ जना पदाधिकारीहरुको सचिवालय चयन गरी दैनिक कार्य सञ्चालन गर्ने गरि संरचनामूलक संस्था गठन भएछ । त्यो संस्थाको नाम ‘अपर अरुण जलविधुत् आयोजना आदिवासी जनाजाती सल्लाहकार परिषद्’ राखिएछ । यो परिषद् भोटखोला गाउँपालिकामा २०७९ पौष २२ गते दर्ता भैं वैधानिक हैसियत पाएको रहेछ ।
यो परिषद्सँग सामाजिक जिम्मेवारी अन्तरगतको काम गर्न पनि अपर अरुण हाइड्रोइलेक्ट्रिक लिमिटेडले ५ वर्षकोलागि भनि ६० करोडको कार्यक्रम संझौता गरेको रहेछ । यस संझौता गाउँपालिकाको रोहवरमा हस्ताक्षर भएको रहेछ । सामाजिक विकास निर्माणका काम अरु जलविधुत् आयोजनामा पनि हुने गर्दथ्ये तर ती काम आयोजना आफैले समुदायको परामर्श गरेको जस्तो गरी सञ्चालन गर्दथ्यो तर यहाँ भने यसको सम्पुर्ण जिम्मेवारी नैं आदिवासी जनजाती र स्थानीय समुदायको संस्था परिषद वनाएर जिम्मा लगाउने कोशिस भएको छ ।
२२ वटा गाँउले वसेर आफ्नो भागमा पर्ने वजेटको आकार अनुसारका कार्यक्रमहरु छनोट गर्दछन् । परिषदका प्राविधिकहरुले लगत इष्टमेट वनाइदिन्छन् । त्यो आयोजनामा पेश हुन्छ अनी आयोजनाले सो अनुसारको कार्यक्रम सञ्चालन गर्ने गरी संझौता भएको रहेछ । हरेक गाउँमा विकास निर्माणको सूची वनाउँदा पूर्वाधार र आर्थिक विकास ३०,३० प्रतिशत, सामाजिक सस्कृति प्रवद्र्धनमा २५ र क्षमता विकासमा १५ प्रतिशत वजेट निर्धारण भएको रहेछ । यो कामकोलागि ५ वर्षकालागि ५५ करोड विनियोजन भएको छ । वाँकी ५ करोड भने परिषद्को प्रशासनिक कार्यकोलागि विनियोजन हुने गरी संझौता गरिएको छ । ५५ करोड रकम कार्यक्रमलाई छुट्याएको हो । यो रकम खर्च गर्ने गरी कार्यक्रम तर्जुमा २२ वटा गाउँका समुदायहरु बसेर वार्षिक रुपमा निक्र्यौल गर्दछन् । लगत इष्टमेट तयार हुन्छ । योजना छनोट लगत तयार गर्ने कामको सहजिकरण परिषद्वाट हुन्छ तर योजना कार्यान्वयन र खर्च गर्ने काम अपर अरुण हाइड्रोइलेक्ट्रीक कम्पनीले नैं गर्दछ । अन्तीम भुक्तानीमा परिषदको सिफारिस चाहिने व्यवस्था मिलाएको छ । यो अभ्यास अन्यत्रको भन्दा फरक छ । किनकी अन्य तिरका जलविधुत आयोजनाले आफैले योजना छनौटमा भाग लिने र आफैं खर्च गर्ने चलन छ ।
प्राकृतिक स्रोतका असली हकदार स्रोतका वरीपरी वस्ने हुन् भन्ने मान्यता छ । त्यो प्राकृतिक स्रोतका कारणले पार्ने घाटा तथा चुनौतीका सामाना गरेका हुन्छन् । त्यसैले त्यो स्रोत अरु कसैले प्रयोग गर्ने वा व्यवस्थापन गर्न चाहेमा स्थानीय वासिन्दा वा आदिवासी जनजातीको अनुमती लिनु पर्दछ । यस कुरालाई नेपालको संविधानले समेत मान्यता दिएको छ ।
प्राकृतिक स्रोतको दिगो व्यवस्थापन गर्ने कुरामा कसैले नकार्न सक्दैन । तर व्यवस्थापन गर्दा त्यो स्रोतलाई जिविकाको साधान वनाएकाहरुको हक हनन् हुने हो की त्यता तर्फ चनाखो हुनु पर्दछ । ती अधिकारवाला समुदायसँग कुराकानी गर्नु पर्दछ । प्राकृतिक स्रोत व्यवसायिक प्रयोग गर्दा समुदायलाई पर्ने हानी नोक्सानी हुदा त्यो सम्वोधनको उपायहरुको खोजी गर्नु पर्दछ भन्ने वहस चलेको धेरै भैसक्यो ।
जलविधुत् आयोजना निर्माण गर्नु पूर्व स्थानीय समुदाय आदिवासी जनजातीहरुसँग छलफल गर्ने गरिएको थियो । आयोजनाले समुदायको विकासको निम्ति काम गर्नु पर्दछ भन्ने मान्यता थियो । सोही अनुसार आयोजनाहरुले सामुदायिक सहयोग कार्यक्रम भनेर प्रभावित क्षेत्रमा विकास निर्माण गरेको सुनिन्थ्यो । तर संखुवासभा भोटखोला गाउँपालिकामा सञ्चालन हुन गैरहेको अपर अरुण जलविधुत् आयोजनामा भने यस सम्वन्धी अलिक फरक अभ्यास देखिएको छ ।
पैदल यात्रा
हाम्रो यात्रा जारी थियो । गन्तव्य पुगिएको थिएन । भोटखोला गाउँपालिका वडा नं. ४ स्थीत गोलाको बास पछि कार्तिक ८ गते विहान अरुण नदीको किनारै किनार अझै अगाडी वढ्यौं तर पैदलै । हुनत पैदल १ घण्टा जती समय लाग्ने वरुण भन्ने स्थानसम्म गाडी जाने रहेछ तर हामीले त्यता ध्यान दिएनौं । विहानै जोशजाँगरका साथ हिड्यौं । बरुण पुगियो । यहाँ अरुण र बरुणको संगम स्थल दोभान रहेछ । वरुण नदी मकालु हिमालबाट आएको हो रे । यसको पानी अलि फरक सफा र निलो पनि देखिन्थ्यो तर अरुणको पानीमा खैरो मैलो पानी देखिन्थ्यो । वरुण नदीमा नुहाएर केही मागेमा प्राप्त गर्न सकिन्छ भन्ने चलन पनि रहेछ । हामीले बरुण नदीलाइ झोलुङ्गे पुल मार्फत त¥यौं । अबको ४ घण्टाको यात्रामा हाम्रो गन्तव्य भोट खोला गाउँपालिकाको केन्द्र हटिया पुगिन्छ भन्ने कुरा थियो ।


केही उकालो र केही ओरालो प्राय जसो तेर्सो नैं हिडाइ थियो । हाम्रो यात्रा ४ जना विचमा रमाइलो कुराकानी गर्दै चलिरह्यो । विचमा अरु बटुवाहरु पनि भेटिन्थ्ये । हाम्रो छिन्डुम मेनक्पा भोटे धेरै दानी सवैलाई खुवाउँदै हिड्ने । बाटामा भेटिने सवै होटलमा केही न केही खानु पर्दछ अनी पो उनीहरु व्यवसाय गरी वस्छन् भन्ने उहाँको सोच थियो । हुन पनि हो त्यो विकट ठाउँमा वस्न लायक ती व्यापारीहरुले नैं वनाएका हुन् । उनीहरु त्यहाँ नवस्ने र यात्रीलाई सेवा नदिने भए के हालत हुन्थ्यो होला । अहिले हामीले खानकोलागि वा पेट भर्न नैं भने पनि हाम्रो साथमा खानेकुरा आफै बोक्नु प¥थ्यो होला । तर उनीहरुले ससाना पसल तथा होटल चलाएका कारण हामी र हामी जस्ता यात्रुलाई सहज हुन पुग्यो ।

अलैंचीको बगान
जंगल विच जस्तो एक ठाउँमा सानो होटल रहेछ । त्यहाँ चाउचाउ खाने कुरा भयो । चिनियाँ चाउचाउ तयारी पाइदो रहेछ । चाउचाउकै भाँडामा तातोपानी हालेर खान मिल्ने । प्याकेटमा नैं मसला, गुन्द्रकको प्याकेट पनि हुँदो रहेछ । मसला, गुन्द्रको सानो प्याकेट खोलेर चाउचाउ भएको भाँडो हाल्ने अनी तातो पानी खन्याए पछि चाउचाउ तयार हुने रहेछ । चम्चा पनि त्यसैमा पाइने रहेछ । चाइनाले कस्ता कस्ता सामाग्री उत्पादन गरेको छ भन्दै खायौं । त्यस्तो चाउचाउ त्यस पसलमा २ वटा मात्र भएकोले सवैले त्यो चाख्ने कुरा भयो । मैले पहिलो पटक खाँदै थिए । तर महँगो रहेछ एक वट्टाको रु २ सय ५० पर्दो रहेछ । केही समय आराम गरी हामी फेरी अरुण किनारै किनार लाग्यौं । वाटो बेला बेलामा हराउँथ्यो ।

अरुणको किनार भएकोले अलिकती गोडा चिप्लीयो भने सोझै नदीमा पुगिने डर थियो । पहिरोका कारणले बाटो हराएको थियो । २ ठाउँमा चाँही साह्यै डर पनि लाग्यो । तैपनी रमाइलो गर्दै भिडियो वनाउँदै हामी अगाडी वढि रह्यौं । स्थानीय साथीहरुले हटिया त्यही पर हो भन्नु हुन्थ्यो तर पुग्ने छाँटकाँट नैं हुँदैनथ्यो । हामीले हिड्दा सवै तिर कालो सुन (अलैची)को वगान भेट्यौं । अधिकांश स्थानमा अलैचीको लोभलाग्दो बोट देखिन्थ्यो । मनमोहक पनि थिए । रहर पुग्ने गरी फोटो खिच्यौं । ठाउँ ठाउँमा अलैंचि सुकाउने भट्टीहरु पनि भेटिए । थकाई मार्नकालागि ससाना विश्रामस्थल पाइन्थ्ये । यस्ता संरचनाहरु कुनै व्यक्तिको मृत्यू पछि उस्को संझनामा आफन्तहरुले तयार गरिदिएका हुँदा रहेछन् । बाटामा पिउने पानीको समस्या परेन ।

लुकेको हटिया
भोटखोला गाउँपालिका केन्द्र ‘हटिया’ भन्ने ठाउँ नैं लुकेको रहेछ । त्यही नपुगी नदेखिने । हामी २ वजे तिर हटिया पुग्यौं । पहिले नैं निर्धारण गरिरहेको एक होटलमा झोला राख्यौं । खाना खायौं । अनी गाउँपालिकोको कार्यालय तिर गयौं । पालिका उपाध्यक्ष सहना लामा सँग भेटघाट भयो । त्यसै गरी प्रमुख प्रशासकिय अधिकृत फुर्पु भोटेसँग पनि कार्यक्रमको तयारीको बारेमा छलफल ग¥यौं । गाउँपाकिलाको अध्यक्ष वाङछेदर लामा चाँही विरामी भएर काठमाडौं हुनु भएकोेले यो कार्यक्रममा सहभागी हुन नसक्ने कुरा हामीले काठमाडौंमा नैं थाहा पाइसकेको थियौं । फोन गरेर हामी हटिया पुगेको जानकारी गरायौं । फोनबाटै अध्यक्षको स्वागत खाइयो ।
भोटखोला गाउँपालिका संखुवासभाको सदरमुकाम खाँदवारीवाट ३० कोष उत्तर तिर पर्दछ यो पालिका । ५ वटा मात्र वडा छन् । गाउँपालिकाको क्षेत्रफल ६ सय ३९ वर्गकिलोमिटर रहेकोे छ । जनसंख्या ६ हजार ५ सय ७६ मात्र छ । अधिकांश भोटे समुदायको बसोवास छ । यहि हुँदै विराटनगर देखिको किमाथांका जाने सडक निर्माणाधिन रहेको छ । यो सडकको एक अंश हटियाको गाउँपालिकाको कार्यालय नजिकै भेट्यौं । यहाँ नेपाली सेना र मकालु बरुण राष्ट्रिय निकुञ्जको इकाइ कार्यालयहरु रहेछन् । त्यसै गरी ग्लोबल आइएमइ वैंकको शाखा समेत देखियो ।
‘हटिया’ समथर रहेछ । १ हजार ६ सय हाराहारीको उचाई रहेको स्थान सुन्दर देखिन्छ । धान खेती हुँदो रहेछ । मकै कोदोको खेती पनि प्रशस्तै हुँदो रहेछ । पैसा कमाउने बालि त अलैंची भैगयो । सायद कृषि उपज मध्ये सवै भन्दा महँगो अलैचि होला जस्तो लाग्दछ । किनकी एक किलो अलैचीको रु. २ हजार भन्दा वढि पर्दछ । अलैचीलाई कालो सुन भनिंदो रहेछ । किनबेचको तरिका पनि सुन जस्तै रहेछ । वैना गरेको दिनमा जुन भाउ छ त्यहीमा नैं किनवेच हुने चलन रहेछ । वैना गरे पछि मूल्य थपघटले कुनै फरक नपार्ने रहेछ ।

-भोला खतिवडा
संस्थापक अध्यक्ष, वन सहजकर्ता संजाल नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

राताे मच्छिन्द्रनाथ दर्शन : परम्परा, आस्था र सांस्कृतिक एकताको पुनःस्मरण

राताे मच्छिन्द्रनाथ दर्शन : परम्परा, आस्था र सांस्कृतिक एकताको पुनःस्मरण

राताे मच्छिन्द्रनाथ दर्शन : परम्परा, आस्था र सांस्कृतिक एकताको पुनःस्मरण काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल अभ...
निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, ४७ जना बिरामी लाभान्वित

निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, ४७ जना बिरामी लाभान्वित

निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, ४७ जना बिरामी लाभान्वित सिन्धुली — नेपाल रेडक्रस सोसाइटीको आयोजनामा सामुदायिक आँख...
अभयपुरको मुटुमा झल्किएको परम्परा, सम्झनामा बाँचेको बाल्यकाल

अभयपुरको मुटुमा झल्किएको परम्परा, सम्झनामा बाँचेको बाल्यकाल

अभयपुरको मुटुमा झल्किएको परम्परा, सम्झनामा बाँचेको बाल्यकाल महेन्द्र श्रेष्ठ अभयपुर, दोलखा बजारको सांस्कृतिक धड्कन झल्काउने यो त...
अन्तरक्रिया कार्यक्रम सम्पन्न, ऋण असुली व्यवस्थापनमा कडाइ गर्ने सहमति

अन्तरक्रिया कार्यक्रम सम्पन्न, ऋण असुली व्यवस्थापनमा कडाइ गर्ने सहमति

दोलखा — ६८औँ स्थापना दिवस तथा ६३औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर भीमेश्वर नगरपालिका–२ मा सहकारी संस्थाहरूबीच बृहत् अन्तरक्रिय...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search