सहस्रधारा यात्राका झलकः
३० माघ २०८१, दोलखा । स्वस्थानी कथा वाचनको अन्तिम दिन, अर्थात माघ शुक्ल पूर्णिमाको दिन प्राचिन नगर दोलखामा सहस्रधारा यात्रा सम्पन्न भएको छ । आजको दिन पवित्र स्थान वाराणसीमा सयौं भक्तजनहरूको ठूलो मेला लाग्छ । यो दिनको विशेषता भनेको **“माघ हले”**को साँङ्गे र स्वस्थानी ब्रतकथाको समापन पनि हो । भक्तजनहरू त्रिपुरासुन्दरी मन्दिरको पछाडि रहेको काँलरवन जङ्गलको तल्लो भाग वाराणसीमा भेला हुने गर्छन् ।
स्वस्थानी कथा वाचन अनुसार, सतीदेवीको शव बोकेर शिवजी वाराणसी पुगेका थिए, र उनको शिर तल खसेर विश्वेश्वर महादेव उत्पन्न भएको थियो । यसलाई समर्पण गर्दै, वाराणसीबाट सहस्रधारा यात्रा आयोजना हुन्छ र भीमेश्वर मन्दिरको प्राङ्गनमा गर्इ समापन हुन्छ । जसका दौरान केटाहरू सहस्रधारा कलश बोकी प्राचिन शहर दोलखा परिक्रमा गर्छन् ।
सहस्रधारा कलश विशेष रूपमा डिजाइन गरिएका पानीका भाँडोहरूसँग सम्बन्धित छन्, जसमा स–साना प्वालहरू हुँदछन् जसबाट पानी निस्कन्छ, र यसलाई “सहस्रधारा” भनिन्छ। प्रत्येक कलशमा एक फुट लामो गहुँको छ्वाली पानीको प्वालको रूपमा काम गर्दछ, जुन कमलको फूल र चक्रको प्रतीक हो । यस यात्रामा भाग लिने केटाहरूले कलशलाई टाउकोमा बोक्ने गर्छन्। यस कलशको घाँटीमा माधव नारायणको चित्र कोरिएको हुन्छ।
यो यात्रा स्थानीय देवता र फूलहरूको चित्रले सजिएको फ्रेममा राखिएको कलश बोक्ने केटाहरू र अन्य धर्मिक प्रतिनिधिहरूसँग विभिन्न देवताको रूपमा सजाइन्छ। यात्रामा महिलाहरू पनि सहभागी भई माधव नारायणको भजन गाएर र प्रार्थना गरी सहभागी हुन्छन्। वेद-शास्त्र र स्वस्थानी कथा वाचनको आधारमा यात्रा गरिन्छ।
अहिले यस यात्रा आयोजनामा गुठीको व्यवस्था छैन, र मानिसहरू स्व-इच्छाले र आफ्नै खर्चमा सहस्रधारा बनाउँछन् र जुलुसमा भाग लिन्छन्। दोलखा र अन्य स्थानहरू, जस्तै भक्तपुर र रामेछापका नेवार बस्तीहरू, पनि सहस्रधारा यात्रा आयोजना गर्छन्, तर प्रत्येक स्थानको परम्परा र मनाउने तरिका केही फरक हुन्छ ।
यात्राको क्रममा, भक्तजनहरूले कलश बोकेका केटाहरूलाई रोटी, फलफूल, र भेटी (पैसा) चढाउँछन् र नहिलोखु (चोखो पानी) कलशमा हालेर माधव नारायणको आशीर्वादको लागि प्रार्थना गर्छन्। यस प्रकारले यो पर्व धार्मिक आस्था, समर्पण, र सामाजिक एकताको प्रतीक बनेको छ ।
