
११ फागुन २०८१, दोलखा । लामाबगर यात्रा ५ बर्ष अघि तिहारको गोवद्र्धनको पूजाको दिनमा पारिवारीक घुमघामको सन्दर्भमा लामाबगर पुगेको थिएँ । त्यो भन्दा अघि २०६७ साल तिर गौरीशंकर संरक्षण क्षेत्रले सामुदायिक अधिकार हनन् गर्दछ भन्ने अभियान सञ्चालनकालागि लामावगरसम्म पुग्ने मौका मिलेको थिएँ तर छ्योतछ्योत भन्दा अगाडी पुग्न सकिएको थिएन । यात्राको मेसो नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहाल दोलखा आउँदै हुनुहुन्थ्यो । दिन थियो, फागुन ४ गते । विहान ८ वजे देखि नेकपा एमाले भीमेश्वर नगर कमिटीले माथिल्लो कमिटीका नेताहरुसँग समन्वय वैठकको आयोजना गरेको थियो । अबको ध्यान वडा केन्द्रीत अभियान (जरा अभियान)लाई प्रभावकारी वनाउन माथिल्लो कमिटीका नेताहरुसँग सहयोगको अपेक्षा सहित वैठक राखिएको थियो ।
वैठक सकेर घरमा खाना खाँदै थिएँ, माननिय भरत केसीको फोन आयो । कता हुनुहुन्छ ? मन्त्री आउँदै हुनुहुन्छ, भन्नु भयो । उहाँको आशय पार्टी कार्यालय आउनुस् भन्ने थियो । म तुरुन्तै निस्के, पार्टी कार्यालय पुगें । केही समयमा मन्त्री आउने कुरा थियो । खादा गोजीमा वोक्यौं । अनी उहाँको स्वागतकालागि तयार भयौं । मन्त्री देवेन्द्र दाहाल सहितको टिम चरिकोट आउनु भयो । साथमा सडक विभागको महानिर्देशक रामहरी पोख्रेल पनि हुनुहुन्थ्यो । स्वागत गरियो । उहाँहरु खाना खान लाग्नु भयो । माननिय भरत केसीले लामावगर तिर जाने हो ? भन्नु भयो । मेरो पनि आज अरु परिभाषित काम थिएन । म तुरुन्तै तयार भएँ । तयार के हुनुथ्यो र । जान्छु भनें ।
म भीमेश्वर नगरपालिका वडा नं. ५ का अध्यक्ष बासु श्रेष्ठको गाडीमा चढ्ने सल्लाह भयो । यसो उसो गर्दा गर्दै दिउँसोको २ बजि गयो । मन्त्री सहितको टोली लामावगर तर्फ लाग्यो । बेलुका चरिकोट नैं फर्कने योजना थियो । यो भ्रमणको नेतृत्व नेकपा एमालेका पोलिट्व्युरो सदस्य एवं पूर्व मन्त्री पार्वत गुरुङ्गले गर्नु भएको थियो । हामी चढेको गाडीमा बासु श्रेष्ठ, सुवोध श्रेष्ठ, नेत्र मोक्तान, कुमार खड्का, पत्रकार महेन्द्र श्रेष्ठ र म समेत गरी ६ जना थियौं ।
गाडीहरु अरु पनि थिए । मन्त्रीको गाडीसँगसँगै पूर्व मन्त्री पार्वत गुरुङ्ग, सांसद भरत केसी, महानिर्देशक रामहरी पोख्रेल, नेकपा एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धर, नेपाली कांग्रेसका दोलखा सभापति बर्मा लामा, राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका सभापति दिनेश बस्नेत, प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकाय, पत्रकार महासंघ दोलखाका सभापति, प्रेश चौतारीका अध्यक्ष लगायतका पत्रकार समेतका ४० जना वढिको सहभागीता थियो ।चरिकोट देखि कालोपत्रे सडकबाट सिङ्गटी पुगियो । यहाँबाट टोलीमा विगु गाउँपालिकाको उपाध्यक्ष पनि थपिनु भयो । सङ्गटीबाट कच्ची सडक हुँदै लामावगरसम्मको यात्रा रह्यो । गोगरमा पुगेर माथिल्लो तामाकोशी जलविधुत् आयोजनाको सुरुङ्गको मुखमा पुग्यौं । सामुहिक फोटो खिच्यौं ।
नजिकै रहेको स्वास्थ्य केन्द्रमा स्वागत कार्यक्रम राखेको रहेछ । टोली त्यहाँ सहभागी भयो । नेपालको पहिलो सार्वजनिक सुरुङ्ग लामावगर तर्फको यात्रा जारी थियो । भोर्ले लगायतका झरना गाडीबाटै नियाल्यौं । यस सडकमा ४ सय मिटर जती लम्वाई भएको सुरुङ्ग पर्दछ । सार्वजनिक यातायातको साधान नैं चल्ने यो सुरुङ्ग नैं नेपालको पहिलो सुरुङ्ग हो । सो सुरुङ्गको प्रयोग गर्दै यात्रा अझै अगाडी वढ्यो । माथिल्लो तामाकोशीले ल्याएको उवार माथिल्लो तामाकोशीको जलाशय क्षेत्रबाट झनैं उत्तर लाग्यौं ।
४ सय ५६ मेगावाट क्षमता भएको माथिल्लो तामाकोशी आयोजना सञ्चालन भएको छ । दोलखालीकालागि सुनको अण्डा पार्ने भनिएता पनि जलविधुत्को शेयरबाट त त्यती प्रतिफल आउन सकेन । तर दोलखाको उत्तरी क्षेत्रमा आमुल परिवर्तन ल्यायो । तामाकोशी नदी र आसपासमा सडक बने । जलविधुत् आयोजनाको हब नैं वन्यो । तामाकोशी जलविधुत् आयोजना सुरु नभएको भए सायद अहिलेको जस्तो भौतिक पूर्वाधार तयार हुन धेरै वर्ष पर्खनु पर्दथ्यो ।
यात्रा गर्दा लाग्दछ, यहाँका हरेक डाँडामा जलविधुत्कालागि पानी वग्ने सुरुङ्गै सुरुङ होला । छोटो त्रिदेशिय सडक दोलखामा उत्तर दक्षिण राजमार्ग वा त्रिदेशीय सवै भन्दा छोटो राजमार्गको हल्ला चल्न थालेको धेरै भयो । महोत्तरीको जलेश्वर नपा वडा नं. ६ मा पर्ने भिट्टामोड देखि चिनको याङ्गलुङ्गसम्म सडक यात्रा गर्दा २ सय ४८ किलोमिटर मात्र पार गर्नु पर्ने भनिएको छ । अहिलेसम्मको हिसाबमा ३ देश समेट्ने सवै भन्दा छोटो दुरिको सडक हो । यो सडकको ट्रयाक खोल्न अब ३ किलोमिटर मात्र वाँकी रहेछ । नीजि क्षेत्रले बनाएको सुरुङ्ग अधिकांश सुरुङ्गहरु आमनागरिकको प्रयोगमा आउने होइनन् । तथापी सिंगटी देखि लामाबगर खण्डमा करिव ४ सय मिटर जतीको सुरुङ्ग मार्ग पर्दछ । लामावगर देखि फलाक तिर जाने सडक तर्फको खण्डमा १ किलोमिटर भन्दा केही वढि लम्बाईको सुरुङ्ग रहेछ । यो सुरुङ्ग चाँही जलविधुत् आयोजना निर्माता अर्थात निजि क्षेत्रबाट तयार भएको हो । त्यस भन्दा अगाडीको सडक समेत नीजि क्षेत्रबाट नैं बनाएको रहेछ । कहाली लाग्दो भीरमा सडक वनी रहेको छ । हेर्दा नैं अँत्यास लाग्दछ । काम कसरी हुँदो हो ? लामाबगर तर्फबाट सुरुङ्ग सहित ५ किलोमिटर जतीको सडक वनी सकेकोछ । यो नीजि क्षेत्रबाट बनेको हो । अहिले विगु गाउँपालिका वडा नं. १ को हुरहुरेको भीरमा सडक बनाउने काम भैरहेको छ । अब ५ सय मिटर जती ट्रयाक खोले पछि फलाक तर्फबाट वन्दै गरेको सडकसँग जोडिन्छ । यसको मतलब हेलीकप्टेरबाट डोजर लगि फलाक तर्फबाट लामावगर तिरको सडक निर्माणका काम पनि भैरहेको रहेछ ।
त्यो जोडिए पछि ३ किलोमिटर जती ट्रयाक खोलियो भने चिनको सिमानासम्म पुग्न सकिन्छ । फलाक तर्फको वाँकी ट्रयाक खोल्नकोलागि नेपाल सरकारले २० करोड रकम भरखरै विनियोजन गरेको छ । त्यसै गरी सडक विभागका महानिर्देशक रामहरी पोख्रेलका अनुसार मुडे देखि चरिकोटसम्मको सडककालागि थप १० करोडको टेण्डर आव्हान भैसकेको छ । यो भन्दा अगाडी नैं ५ करोडको टेण्डर आव्हान भैसकेको रहेछ । मुडे देखि चरिकोटसम्मको हाम्रो यात्रा सहज हुने संभावना वढ्यो । दिउँसो २ वजे तिर अगाडी वढेको हाम्रो यात्रा राती ९ बजे तिर चरिकोटमा आइ टुङ्गियो । दोलखाको उत्तरी क्षेत्रको भौतिक विकासलाई नजिकबाट नियाल्ने मौका मिल्यो । नीति निर्माता र कार्यान्वयनमा क्रियाशिल पदाधिकारीहरुले प्रत्यक्ष अनुभुती गर्ने मौका मिल्यो । आशा गरौं, यसले दोलखाको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान हुनेछ । पूर्वाधारको सदुपयोग विगु गाउँपालिका वडा नं. १ मा पर्ने हुरहुरे खोलामासम्म गाडी पुग्न सक्ने रहेछ । हामी त्यहाँसम्मै पुग्यौं । त्यस्तो अनकण्टार पहरामा सडक वन्नु अचम्मैको काम हो । यसले दोलखा वन्दैछ भन्ने संकेत दिँदैछ । चरिकोटबाट ४ दिन लगाएर लामावगर पुग्ने हाम्रै पुस्ता हो । अबको केही समयमा नैं चिनको सिमानासम्म गाडी चढेर जानसक्ने अवस्था आउने भयो । यो विछट्टै विकास हो । अति विकट स्थानमा पनि सडक वनीरहेको, बाँकी ट्रयाक खोल्नकोलागि स्रोत सुनिश्चिीत भएको अनी धेरै बर्ष देखि अलपत्र परेको मुडे चरिकोटको सडकलाई अन्तिम रुप दिन टेण्डर पनि आव्हान भैसकेकोले बन्दैछ दोलखा भन्ने लाग्दछ । त्रिदेशीय सडक पनि बन्ने नैं छ । सडक वन्नु, गाडी दौडनु, विजुली उत्पादन हुनु मात्रैले दोलखाको समृद्धि हुँदैन । वाहिरबाट सामान ल्याउने मात्रै होइन यहाँबाट पठाउने पनि हुनु पर्दछ । दोलखालीको खोजीमा पैसा पर्ने गरि उद्यम र रोजगारी सिर्जना गर्न सक्नु पर्दछ । त्यसैले त्रिदेशिय सवारी साधान पनि दौडिए हुन्थ्यो । नेपाली उत्पादन निकाशी भैदिए हुन्थ्यो । फलाक नाका सञ्चालनमा चिन सरकारको पनि चाहाना भैदिए हुन्थ्यो । यसकालागि कुटनितिक पहल भएकै होला ।
फोटोफिचरः महेन्द्र श्रेष्ठ




















