प्रिय मनहरू,
मलाई पनि गाली गर्नुहोस्, अधिवेशनमा यस्तै हुन्छ…..
हजुर,
जति दिन र समयहरू घट्दैछन, त्यति नै बढी केही मनहरूमा आगोको जलन बढ्दै छ । लाग्छ, नेकपा एमालेको महाधिवेशनको सेरोफेरोमा ती पापी मनहरू डढेर खरानी नहोस् ।
मन भित्रभित्रै विष्फोट ज्वालामुखीका पीडाले जलिरहेका ज्युदा आत्मालाई सलाम गर्न यसकारण चाहन्छु की तपाईंहरूका मनहरू एमालेको चिन्ताले जलिरहेको छ,`अध्यक्ष केपी ओली´ को चिन्ताले पोलिरहेको छ । अझ भन्नुपर्दा जो एमाले हुनुहुन्न, उहाँहरूको मन बढी पोलेको छ । जो एमालेबाट लाभान्वित भै हाल अलग हुनुहुन्छ र जो एमालेको विरूद्धमा सधै हुनुहुन्छ, उहाँहरू जस्ता भद्रभलाद्मीमा दिन रात चिन्ता छ, पीडा छ ।
धन्य छ तपाईंहरूलाई, सदैब एमालेको वास्ता गर्ने मनोरोगी भएकोमा ! जसले एमालेको पोस्ट हाल्नेवित्तिकै गाली ओकल्नु हुन्छ । केपी ओली नाम जप्दै सत्तोसरापका कमेन्ट गर्नुहुन्छ । कतिखेर केपी र एमालेको राम्रो कुरा लेख्ला र नराम्रोले छोपौला भनेर रातमा सुत्नुहुन्न, दिनमा हिड्नु हुन्न, बेलामा खानु हुन्न । त्यसैले त्यस्ता तन र मनलाई किन `थ्याङ्क्यु´ नभनु ? अहोरात्र एमाले र ओलीको विरोधमा अलप्नेहरूलाई किन `आइ लभ यु´ नभनु ?
तपाईका मिहेनत देखेर खुसी लाग्छ, किनकी तपाईंले जतिसक्दो सराप्न मन लाग्छ, अघाउजी सराप्नुस् । त्यसले एमाले र केपीलाई फलिफाप नै भैरहेको छ । झनझन बलियो र घनिभूत भैरहेको छ भन्ने सप्रमाण त भक्तपुरको तिनकुने सल्लाघारमा देखियो । त्यहाँ आउने लाखौं मानिसले देखे । भलै तपाईंले त्यहाँ मान्छेहरू देख्नु भएन त के भो र ! मञ्च त देख्नु भयो होला नी ? या भक्तपुरको सांस्कृतिक सहर पाँचतले (न्यातापोल) दरबारमा पो पुगे झैं ठान्नु भयो कि ? केहीले भनिहाल्नु भो, `कम्युनिस्टले पनि मन्दिर बनाएछ !´
कम्युनिस्टले बनाउने हो………….
हो ! कम्युनिस्टले मन्दिर बनाउछ, मानव सभ्यता खोज्छ, उजागर गर्छ, सांस्कृतिक संरचना पहिचान गर्छ, पुनः निर्माण गर्छ । राष्ट्र र राष्ट्रियता जोगाउन जनता जागृत गर्छ । विकासका लामो बाटो तय गर्छ र काम शुरू गर्छ । अनि देश र जनताका हितमा रूपान्तरणको सपना पनि देख्छ । त्यही हो भक्तपुरमा खडा गरिएको ऐतिहासिक मञ्चको परिभाषा । त्यही परिभाषाभित्र नेकपा एमालेको ११ ओैं महाधिवेशन खोज्नुहोस् । जहा देश बचाउने पहरेदार पाउनु हुनेछ, स्वाभिमानी नेपाली पाउनु हुनेछ । त्यो मञ्चको परिभाषाले देशलाई खरानी बनाउन उक्साउदै सामाजिक सञ्जाल भर्नेहरू पाउनुहुन्न । देशलाई आगो लगाएर तहसनहस पार्ने पापीहरू पाउनु हुन्न । व्यक्तिका आश्रयस्थल जलाएर उठिबास लगाउने अपराधीहरू भेट्नु हुन्न ।
प्रिय पापी मनहरू, आखामा पट्टी लगाउदै त्यो मञ्च हेर्नू भो अर्थ पाउनु भएन, सल्लाघरीको मैदान हेर्नू भो मान्छे देख्नु भएन । जो देख्नु भो मासु भात खान आएको झोले लेख्नु भो । ठीकै छ, तपाईंहरूले त्यस्तै देख्नुलाई र सामाजिक सञ्जालमा लेख्नुलाई सम्मान प्रकट गर्न चाहन्छु । किनकि तपाईंका त्यस्ता देखाइ र लेखाइले विभिन्न ठाउबाट राष्ट्रवादको झण्डा उठादै सल्लाघारीमा सलहसरी सहभागी हुनेहरूलाई बदल्दैन । बरू, एकदिन तपाईंका पापी मनहरू बदलिन सक्छ, त्यहा ल्याइएका राष्ट्रवादको झण्डा तपाईंहरूको हातमा पनि हुनसक्छ । हामी त्यसको प्रतीक्षामा छौँ, स्वागत गर्न पर्खिरहेका छौँ ।
एमाले र केपी ओलीको नाममा अहिलेसम्म तपाईंको हातले`रीप´ शब्द लेख्न रहर गर्छ भने गर्न दिनुहोस् । तर, त्यो रिप शब्दउपहारले एमाले र केपी बा झनझन तागतदार हुदैछन् । र देशको आवश्यकता र राष्ट्रिय शक्ति बन्दैछन् । प्रिय मनहरू, एमाले र केपीलाई जति सराप्नु सक्नु हुन्छ सराप्नुस् । तपाईंका ती शब्द उपहारले त्यति नै आशिष लागिराछ, आयु थपिरा छ।
एमालेबाट सिक्न सकिन्छ……….
यहानिर एमाले भित्रको कुरा त्यति गर्नु छैन । पार्टीमा आन्तरिक लोकतान्त्रिक अभ्यास आवश्यक छ । र, नेतृत्वको होडबाजीमा स्वस्थ घम्साघम्सी हुनु स्वभाविक छ । यस्तोबेला बन्देज गरिनु, अशिष्ट हुनु र झेली गरिनु राम्रो हुदैन । कमरेड माओले बगैंचामा सबैखाले फुलहरू फुल्न दिनु पर्छ भनेर अन्तरपार्टी जनवादको महत्त्व उल्लेख गर्नु भएको छ । नेपालको एकमात्र कम्युनिस्ट पार्टी नेकपा एमाले हो, जसले केन्द्रदेखि टोल कमिटीसम्म आवधिक निर्वाचन गर्छ । चुन्न र चुनिने अधिकार सुरक्षित गर्छ । एमाले अध्यक्ष ओलीले अन्तर्वार्तामा भनिसक्नु भएको छ, `चाहनेहरू चुनिन तयार हुनुहोस्, कसैले चुनिने अधिकारबाट वञ्चित भएको गुनासो सुन्न नपरोस् ।´ केपी ओली स्वयमले फेरि पनि चुनिएरै आउने संकेत दिनु भएको छ ।
अब इच्छुकले हिम्मत गरे भो । जित्नका लागि प्रतिनिधिहरूको मन जिते भो । मत तान्न कोशिस गरे भो । बाहिरी पक्षसँग र मिडियामा दशथरी मनगढन्ते तर्कवितर्क गरेर केही अर्थ छैन । अर्कोतिर, पापी मनहरूले उचाल्दैमा धुरी नचढ्नुहोला, उत्ताउलो नहुनुहोला । त्यसो गर्दा धुरीबाट आगनमा पछारिनुहुन्छ भन्ने हेक्का राख्नुहोला । उत्ताउलो गाई बाघले खाई जस्तै नहुनु होला । बरू, खुरूखुरू प्रतिनिधिहरूलाई एजेन्डा बाड्नुस्, भोट लिनुस्, जित्नुस् । प्रतिनिधि हलभन्दा बाहिर बस्ने एमालेका सुभचिन्तकहरू तपाईं नेताहरूका त्यस्तो व्यवहारबाट नै बढी प्रभावित हुन्छन् भन्ने ख्याल राख्नुहोस् ।
यो विधि सुरिक्षित राखेरै अध्यक्ष केपी ओलीले `खास नेताहरू समेटिनुपर्छ, सर्वसम्मतिले महाधिवेशन सक्नुपर्छ´ भनेर आन्तरिक लोकतन्त्र मजबुत बनाउन कोशिश गर्नुभो तर सक्नुभएन । महाधिवेशनपूर्व बसेको अन्तिम केन्द्रीय कमिटी बैठकले स्थापित नेताहरूलाई समेट्न पदाधिकारी र अन्य पदहरूको संख्या थप्ने प्रस्ताव पनि त्यसैले गरिएको हो । अब खुल्ला प्रतिस्पर्धामा पूर्णलोकतान्त्रिक अधिबेशन भैरहेको छ । त्यसो गर्दा केही नेताहरू असन्तुष्ट देखिएका छन् । खोजेको पदमा उठ्न नपाउदा दुखेसो सुनिन्छ । प्रिय मनहरू, उहाँहरूलाई धुरीमा चढाउने र पछार्ने शिर्षक खोज्दै पोस्ट गर्नुहोस् ! तर उहाँ सम्मालिनु हुन्छ, त्यसमा ढुक्क हुनुहोस् ।
नेकपा एमालेको लागि विचार र नेतृत्वको सैद्धान्तिक, दार्शनिक, व्यवहारिक पक्षहरूमा बहस गर्दै महाधिवेशन हुनु परम्परा नै हो । त्यसैले यो बेला पार्टीका कमिटीहरू र कार्कर्ताहरूले भावी नेतृत्वका बारे बहस गर्नु पनि अनौठो हुदैहोइन । यतिखेर नै हो, नेतालाई गल्ती महशुस गराउने, क्षमायाचना गराउने, सुध्रन सचेत गराउने । पुनः नेतृत्वमा जाने आकाङ्क्षाका कारण नेताहरूले प्रतिनिधिका कुरा सुन्ने बेला यही हो । त्यसैले, पार्टीपंक्तिभित्र नेता र नेतृत्वबारे खुलेर बहस गर्न कोही डराउनु पर्दैन ।
नेकपा एमालेले निर्धारित समयभन्दा केही पहिले महाधिवेशन गर्नुको कारण जेन्जी प्रदर्शनपछि उठेका केही प्रश्नहरूको निराकरण गर्नु पनि हो । देशीविदेशीको घृणित चलखेल र आरोपभित्र सत्य खोज्नु पनि हो ।
महेशहरू अनि दोलखा पार्टी……. त्यसैक्रममा एमाले नेता महेश बस्नेतले नेतृत्व र पार्टीको साख जोगाउन शुरू गरे । त्यो अभियानपछि अध्यक्ष केपी ओलीको आवश्यकता र आकर्षणमा पुनर्उत्थान भयो ।
त्यसैगरी, एमालेका कमिटीहरूमध्ये सबैभन्दा पहिले दोलखा जिल्ला कमिटीले अलि फरक निर्णय गर्यो । नेकपा एमाले र नेपाल राष्ट्रका लागि फेरि पनि केपी ओलीको नेतृत्व आवश्यक छ भन्यो । दोलखाको उक्त निर्णयपछि केही खिसिट्युरी पनि भए । जति आलोचना भए पनि त्यसैलाई आधार बनाएर दोलखा जिल्ला कमिटीको निर्णय लागू गर्न प्रतिनिधि छनौटमा सर्वसम्मत विधि अपनायो । सर्वसम्मत गर्न सबै पार्टी सदस्य र प्रतिनिधिको आकाङ्क्षा राख्नेहरू नै कस्सिए ।
दोलखा एमालेको उक्त निर्णयपछि केपी ओलीको पक्षमा र विपक्षमा छलफल हुन शुरू भयो । अहिलेको अवस्था हेर्दा केपी ओलीको निरन्तरताको माहौल नै बढी देखिदै जानुका कारणहरू थुप्रै छन । त्यसमध्ये एउटा कारण केपी र एमालेप्रति देशीविदेशी विरोधीहरूको आक्रमण पनि हो । पार्टीपंक्तिमा महत्त्व ठानिदै गएको केपी ओलीलाई विरोधी पंक्तिले अध्यक्ष हुन नदिन गरिरहेका डरलाग्दो जालसाजी नै उनका लगि पुन: निरन्तरताको वातावरण वनिरहेको छ । विरोधीले जति धेरै केपी ओलीलाई सक्न खोजिरहेका छन, त्यति नै पार्टी कार्यकर्ताले उनलाई जोगाइरहेका छन् । जतिधेरै केपी ओलीलाई अध्यक्ष बनाउन हुदैन भनिरहेका छन, त्यतिनै धेरै प्रतिनिधिहरूले अध्यक्ष बनाउन खोजिरहेका छन् ।
महाधिवेशनका बेला देशभरिका पार्टी कार्यकर्ताहरूलाई नेतृत्वको स्वस्थआलोचना गर्न छुट दिइन्छ । प्रतिनिधिहरूलाई जिम्मेवारी लिन अवसर दिइन्छ । त्यसैका लागि महाधिवेशन गरिएको हो ।
लेखक – नेकपा एमाले जिल्ला कमिटी
उपाध्यक्ष राजेन्द्र मानन्धर
